सोलुखुम्बु । विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको संख्या बढेको छ । चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको संख्या ७० प्रतिशतले बढेको हो ।
पछिल्लो एक सातामा जहाजमार्फत ७११ विदेशी पर्यटक लुक्ला ओर्लिँदा २ हजार ४०० पर्यटकले सगरमाथा क्षेत्र छोडेका नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ कार्यालयका ‘एटिसी अफिसर’ सञ्जय श्रेष्ठका अनुसार मङ्सिर ४ गते २२३ जना भित्रिँदा ३६२, ५ गते ११९ भित्रिँदा ३२० र ६ गते ८० भित्रिँदा ३७४ जना विदेशी पर्यटक जहाजमार्फत लुक्लाबाट बाहिरिएका छन् । यस्तै मङ्सिर ७ गते ८८ भित्रिँदा ३०३, ८ गते ५३ पर्यटक भित्रिँदा ४८१ जना, ९ गते १३६ भित्रिँदा ३०३ जना र १० गते १३२ पर्यटक भित्रिँदा २५७ जना बाहिएका प्राधिकरणको तथ्यांक छ ।
चिसो अधिक बढेकाले विदेशी पर्यटक सगरमाथा क्षेत्रबाट भ्रमण छोट्याएर फर्किने क्रम उच्च रहेको छ । पर्यटन व्यवसायी डिकबहादुर दर्नालका अनुसार कतिपय पर्यटक चिसोले गर्दा माथिल्लो क्षेत्र नपुगी लुक्ला नाम्चेबाट फर्कने गरेका छन् ।
पानी जम्न थालेपछि खासै विदेशीहरू माथि जाने क्रम रोकिएको हो । नाम्चेभन्दा माथिल्लो क्षेत्रमा कात्तिकको सुरुवातबाटै हिमपात भएकाले चिसो बढेको छ ।
सिजन (पर्यटकीय मौसम) ढल्किएसँगै काठमाडौँ र रामेछापबाट जहाज खाली आउछन् भने फर्किँदा जहाजमा यात्रुको घुइँचो हुन्छ। कतिपय अवस्थामा टिकट पाउन मुस्किल छ । चिसो बढेपछि भ्रमण छोट्याएर फर्किने धेरै विदेशी यात्रुको चाप थेगिनसक्नु रहेको प्राधिकरणका एटिसी अफिसर श्रेष्ठले बताए ।
काठमाडौँ तथा रामेछापको मन्थलीबाट कार्गो लिएर आएका जहाजहरूले पर्यटक लिएर फर्कने गरेका छन् । लुक्ला आउने टिकट पाउने भएपनि फर्किने जहाजको टिकट लिन चाररपाँच दिनअघिदेखि बुकिङ गर्नुपर्ने बाध्यता छ ।लुक्लाबाट काठमाडौँका लागि विदेशी पर्यटकलाई २९ हजार ४८० र नेपालीलाई ११ हजार रुपैयाँ भाडा छ । भाडादर विदेशीको बढी भएकाले विमान कम्पनीको पहिलो प्राथमिकतामा विदेशी पर्ने गरेका छन् । लुक्ला विमानस्थलमा अहिले झण्डै एक सयको हाराहारीमा जहाजले उडान भर्ने तथा अवतरण हुने गरेका छन् ।