पुण्य पी अधिकारी
अहिले सबैभन्दा बढी तन्नेरीपुस्ता बेरोजगारीका कारण पिरोलिएको छ । अहिलेको तन्नेरीपुस्तालाई आफ्नो देश सबैभन्दा असुरक्षित भएको छ । विद्यालयस्तरको पढाइ सकिने बित्तिकै विदेश पढ्न वा रोजगारीकै लागि विदेशिने चक्करमा तन्नेरीपुस्ता लाग्ने गरेको छ ।
नेपाल सकारले भर्खरै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बेजटले देशमा रोजगारी सिर्जना गर्ने नीति लिएको छ । वार्षिक १ लाख रोजगारी सिर्जना गरी विदेशिएको तन्नेरीपुस्तालाई देशमा फर्काउनेको सरकारको महत्वाकांक्षी योजना छ ।
वार्षिक बजेटले रोजगारीका अवसर सिर्जना गरी विदेशिएको दक्ष वा अदक्ष जनशक्तिलाई देशमा फर्काउने तयारी गर्नु स्वागतयोग्य छ । तर, यसको कार्यान्वयनको पक्ष कुन हदसम्म हुन्छ, त्यसले सबैभन्दा बढी प्रभाव पार्ने देखिन्छ । रोजगारीका लागि विदेशिनुपर्ने दर्दनाक अवस्थाको अन्त्य हुनु अत्यन्त त आवश्यक छ । कार्यक्रममा घोषणा गर्ने कार्यान्वयनमा फिटिक्क ध्यान नदिने राज्यको कार्यशैलीले आजको तन्नेरीपुस्ताले देशमा बस्नुलाई भविष्य नै अन्धकार बनाउनु हो भन्ने सोच्ने अवस्थामा पुगेको छ ।
रोजगारी अभावकै कारण दैनिक जीवन निर्वाहमा गर्न समस्या भएपछि राज्यले अनुमति नदिएका विश्वका विभिन्न मुलुकमा नेपाली अनेकौँ हण्डर र ठक्कर खाएर पनि पुग्नु परेको छ । २३६ दिन अघि अर्थात् ०८० असोज २० गते हमासले इजरायलमा आक्रमण गर्दा युद्धसँग साइनो न सम्बन्ध भएका १० जना नेपाली विद्यार्थीको ज्यान गयो । त्यस क्रममा हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात छ । युद्धको चाप र चपेटामा रूमलिएको इजरायलमा थप ७७ जना नेपालीलाई नेपाल सरकारले रोजगारीका लागि पठाउँदैछ । जसबाट मुलुकमा रोजगारीका अवसरहरू के कति छन् भन्ने प्रष्ट भएको छ ।
मुलुकमा भएका उद्योगधन्दा कलकारखाना विभिन्न कारण र बहानामा बन्द गरिएपछि मुलुकले वस्तु तथा तयारी साम्रगी उत्पादन गरी अन्य मुलुकमा बेच्न सकेको छैन । जसका कारण मुलुकमा रोजगारी सिर्जना गर्नुभन्दा तन्नेरीपुस्तालाई वैदेशिक रोजगारीमा पठाउन राज्यले निको मान्दा समस्या दिनप्रतिदिन बढ्दै गएको छ ।
विद्यालय शिक्षा सक्नु अघिबाट नै तन्नेरीपुस्तामा विदेश पस्ने सोच वा तौरतरिकाले डेरा जमाउँदा मुलुकमा रोजगारीको अवस्था के कस्तो छ, प्रष्ट भएको छ । १८ वर्षदेखि ४० वर्ष उमेरसमूहकालाई राज्यले काम गर्ने उमेर भनि परिभाषित गरेपनि रोजगारीका अवसर सिर्जना गर्न नसक्दा समस्या दिनप्रतिदिन चुलिदो छ ।
बेरोजगारीलाई अन्त्य गरी देशमा रोजगारीका अवसर सिर्जना गर्न कोशी प्रदेशबाट श्रमाधान रोजगार मेलाको सुरूआत भएको छ । मेलाको उद्देश्य अनुसार कार्यान्वयन भए यसले सकारात्मक सन्देश दिने देखिन्छ । तर, कार्यान्वयनको पाटो वा प्रक्रिया के हुन्छ । त्यो आगामी दिनमा पक्कै देखिनेछ । व्याप्त बेरोजगारीलाई हटाउन सरकारी र निजी क्षेत्रको साझेदारीमा रोजगारीका अवसर सिर्जनाका लागि मेलाको आयोजना हुनु आँफैमा महत्वपूर्ण विषय हो ।
उद्योगधन्दा कलकारखाना बढी भएको कोशी प्रदेशबाट सुरूआत भएको श्रमाधान रोजगार मेलाले उद्देश्य अनुरूप कार्य गर्न सकेको खण्डमा केही मात्रामा पक्कै रोजगारीका अवसर सिर्जना गर्नेछ । अन्यथा, मुलुकमा सिर्जना गर्न नसकेको रोजगारीको अवसर र काम गर्ने सक्रिय उमेरसमूहको तन्नेरीपुस्ता विदेशिनुपर्ने बाध्यतालाई राम राम मात्र भन्न सकिन्छ