विराटनगर । नेपाल–चीनको सिमानामा पर्ने संखुवासभाको किमाथाङ्का र ताप्लेजुङको टिप्ताला नाका चार वर्षपछि सञ्चालनमा आएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनको तिब्बत स्वायत्त क्षेत्रका उपाध्यक्ष सिलाङ निमाले शनिबार संखुवासभासँग सिमाना जोडिएको तिब्बतको छेन्ताङमा आयोजित कार्यक्रमबाट नाका पुनः सञ्चालनमा आएको घोषणा गरेका हुन् ।
नाका सञ्चालनमा आएको घोषणा गर्ने कार्यक्रममा सहभागी हुन उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितको सरकारी टोली संखुवासभाको किमाथाङ्का पारिपट्टी चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने छेम्दाङमा पुगेको थियो । नाका खुलाउन स्थानीय तहमा धेरै प्रयास भएपनि सार्थकता नपाएकोमा संघीय सरकारको पहलपछि किमाथांकासहित देशका १४ वटा नाका खुलेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले जानकारी दिए ।
कार्यक्रम हुने स्थान नेपालको सिमा क्षेत्रबाट पैदल १५ मिनेट र पुनः १५ मिनेट गाडीमा चढेर नेपाली टोली पुगेको थियो । त्यसअघि खाँदबारी विमानस्थलमा उत्रिएको उपप्रधानमन्त्रीसहितको टोली त्यहाँबाट हेलिकप्टरमा किमाथांका पुगेको थियो । नेपालको सिमा क्षेत्र किमाथाङ्कासम्म चीनले भने बाटो जोडिसकेको छ भने भन्सार कार्यालय पनि स्थापना गरेको छ ।
नाका खुल्ला भएसँगै भन्सार राजश्व सङ्कलनमा योगदान थपिने उपप्रधानमन्त्री श्रेष्ठले बताए । सिमा क्षेत्र खुल्ला हुँदा ब्यापारिक फाईदा मात्र नभएर साँकृतिक अन्तरक्रियालाई पनि सहज हुने उनको भनाइ थियो । नाका खुलेसँगै खुलिसकेका भन्सार कार्यालयहरुलाई थप ब्यवस्थित बनाउने र बाँकी रहेकाहरुमा भन्सार कार्यालय लगायतका पूर्वाधार स्थापना गरिने उनको भनाइ छ ।
किमाथाङ्कासम्म पुग्ने सडकको ट्रयाक खोल्न नेपालतर्फ भने अझै २ किलोमिटर बाँकी छ । उक्त ट््याक खुल्ने हो भने नियमित भन्सार सञ्चालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।
किमाथांका चीनसँग नेपाललाई जोड्ने कम उचाईको र छोटो दुरीको नाका हो । रसुवाको नाका ५ हजार ७ सय मिटरको उचाईमा छ भने किमाथाङ्का नाका २ हजार ६ सय मिटरको उचाईमै छ । नेपालबाट शनिबारदेखि नै चीनतर्फ सामान निर्यात पनि सुरु हुनेछ ।
अहिले पनि अनौपचारिक रुपमा त्यस किमाथांका (भोटखोला गाउँपालिका)का जनताले उपभोग्य सामानहरु त्यहाँबाट ल्याउने गर्छन् । तर, औपचारिक रुपमा भने कोरोना कालदेखि सामान ओसारपसार गर्न बन्द गरिएको थियो ।
सो क्षेत्रमा सिमामा दिइने इमिग्रेसन सेवा छैन । तर, स्थानीयलाई अनुमतिपत्र प्रदान गरिन्छ । परिचयपत्र दिने हिसावले एक जना कर्मचारी सिमा प्रशासनको लागि खटाएको प्रजि खड्काले बताए ।
कोरोना संक्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ देखि किमाथाङ्का नाका बन्द गरेको थियो । नाका बन्द हुँदा त्यसको सबैभन्दा ठूलो असर भोटखोलामा परेको थियो भने नाका खुल्ने भएपछि त्यहाँका बासिन्दालाई सहज हुने भएको छ । त्यहाँका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न आयात गर्न पाउनेछन् ।
भोटखोलाबासीलाई तिब्बत प्रवेश गर्न स्थानीय स्तरमा अनुमतिपत्र पनि वितरण सकिएको छ । किमाथाङ्का बन्द भएपछि भोटखोला गाउँपालिकामा सदरमुकाम खाँदबारीबाट महंगोमा खाद्यान्न ढुवानी गरिँदै आएको थियो ।
भोटखोलाको किमाथांका नाका सदरमुकाम खाँदबारीदेखि करिब १६२ किलोमिटर टाढा पर्दछ । किमाथाङ्का स्थानीयवासी दैनिक रोजगारीका लागि पनि विगतमा पारिका चाँगा र देन्दाङसम्म जाने गरेका थिए । करिब ६ हजारको बसोबास रहेको यो क्षेत्रमा स्थानीय उत्पादनले तीन महिना पनि धान्दैन ।
किमाथाङ्का, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँका लागि चामललगायत दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख बजार चीनको चाँगा र देन्दाङ हो ।
उता ताप्लेजुङको टिप्ताला नाका भने शुक्रबारदेखि नै खुला गरिएको छ । नाका खुलेसँगै नेपालबाट ३० जना व्यापारी चीन प्रवेश गरेका छन् । उनीहरुले नेपालमा उत्पादित गलैँचा, दूधजन्य पदार्थ घ्यू, छुर्पीलगायका सामग्री लगेका छन् । उनीहरु करिब १० दिनसम्म तिब्बतमा रहनेछन् ।
गत वैशाख अन्तिम साता प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यको नेतृत्वमा सुरक्षा निकायलगायतको एक टोली टिप्ताला नाका पुगेको थियो । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार चीनतर्फबाट तिब्बतको डिङजी काउन्टी सरकारका अधिकारीसँगको समन्वयमा गत वैशाख २५ गते नाका खुलाउने सहमति भएको थियो । चीनतर्फबाट तयारी पूरा गरेर नाका खुलाएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।
सीमावर्ती क्षेत्रमा बसोबास गर्ने ११५ जनाले तिब्बत प्रवेशका अनुमति लिएका छन् ।जिल्ला प्रशासन ताप्लेजुङका अनुसार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप र ७ ओलाङचुङगोलाबासीले अनुमतिपत्र लिएका छन् । त्यस्तै मिक्वाखोला गाउँपालिका–५ पापुङका नागरिकले समेत अनुमति पाएका छन् ।
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत चैतमा गरेको जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा रहेका सम्पूर्ण परम्परागत व्यापार नाका क्रमशः खुलाउने समझदारी भएको थियो ।दार्चुला, डोल्पा, मुस्ताङ, गोरखा, दोलखा, ताप्लेजुङ र सङ्खुवासभा जिल्लासँग सीमा जोडिएका नाकाहरु खुला भएका छन् ।