कोशी नामकरण विवाद : पहिचानवादीले गरेको दुव्र्यवहारप्रति एमालेको निन्दा

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले आफ्नो दलका उपनेता राम राना मगर र कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारमाथि भएको आक्रमण र दुव्र्यवहारको निन्दा गरेको छ ।

कोशी प्रदेश एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले दलको तर्फबाट प्रतिक्रिया दिँदै उपनेता तथा पूर्वमन्त्री रानामाथि इलाममा र उपसभामुख दनुवारमाथि उदयपुरमा आक्रमण भएको बताए ।

‘सरकारले वार्ता समिति बनाइसकेको अवस्थामा शान्तिपूर्ण संवादमा आउनुको साटो उदयपुरमा उपसभामुख सिर्जना दनुवार र इलाममा पूर्वमन्त्री राम रानाप्रति पहिचानवादीले गरेको दुव्र्यवारप्रति घोर निन्दा गर्दछौं,’ उनले भने, ‘यति गम्भीर घटना हुँदा पनि संघीय सरकार चुप लागेर बस्नु आश्चर्यजनक छ ।’ भण्डारीले आन्दोलनकारीलाई वार्तामा आएर समस्या समाधान गर्न आग्रह गर्दै अटेरी गरेर यस्तै गतिविधि गरिरहे चुप लागेर नबस्ने चेतावनी पनि दिएका छन् । ‘हामी आन्दोलनरत पक्षलाई शान्तिपूर्ण रूपले वार्तामा आएर समस्या समाधान गर्न आग्रह गर्दछौं । अन्यथा यस्तो गतिविधि दोहोरिरहेमा चुप लागेर बसिररहन नसक्ने चेतावनी दिन चाहन्छौं,’ उनले भने ।

पहिचान पक्षधर कार्यकर्ताले एमाले संसदीय दलका उपनेता राना मगरलाई इलाममा आज मोबिल छर्केका थिए । इलाम नगरपालिका ११ सोयाकमा कोशी प्रदेश नामका प्रस्तावक राम रानालाई आक्रमण गरेका थिए ।

यस्तै उदयपुरको गाईघाटमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारलाई पनि पहिचानवादी कार्यकर्ताले आजै दुव्र्यवहार गरेका छन् । पहिचानवादीले उनी चढेको गाडीको झण्डा निकालिदिएका छन् भने आक्रमणको प्रयास गरेका छन् ।
सरकारले पहिचानवादीको माग र मुद्दालाई सम्बोधन गर्न भन्दै मन्त्री तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा बुधबार मात्रै वार्ता समिति गठन गरेको थियो । उक्त वार्ता समितिले काम थाल्न नपाउँदै पहिचानपक्षधर कार्यकर्ताले उपसभामुख र एमालेका उपनेता रानामाथि दुव्र्यवहार गरेका हुन् ।

बिहिबार, २५ जेठ, २०८०, साँझको ०६:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर