भ्रमणबाट नेपालले लाभ लिन सक्नुपर्छ

 सम्पादकीय

लाखौं नेपालीलाई रोजगारी दिएको मुलुक कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन् । उच्चस्तरीय राजकीय भ्रमणलाई नेपालले उच्च प्राथमिकता दिएको छ । अमिरलाई राष्ट्रपति रामचन्द्र पौडेलले विमानस्थलमै स्वागत गरेका छन् भने सोमबार उनको सम्मानमा सरकारले सार्वजनिक विदा नै दिएको थियो । लगानी गर्नसक्ने हैसियतमा भएको मुलुक कतारबाट आर्थिक र श्रम सहकार्य तथा लगानी भित्र्याउने प्रयास सरकारले गरेको देखिन्छ । पछिल्लो समयमा विश्व परिवेशमै कतारले रणनीतिक मुलुकका रूपमा आफ्नो भूमिका विस्तार गर्दै लगेको छ भने खाडी क्षेत्रका मुलुकहरूबीच मध्यस्थता र शक्ति सन्तुलनमा पनि भूमिका खेल्दै आएको छ । कतारका अमिरले राष्ट्रपतिसँग भेटवार्ता गरिसकेका छन् भने प्रधानमन्त्रीसँग अज भेट गर्ने तयारी छ । भेटको अवसरमा द्वीपक्षीय सहमति र समझदारी हुनेछन् ।

कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्षपछि कतारका तर्फबाट नेपालको उच्चस्तरीय भ्रमण भएको हो । यो भ्रमणमा नेपाल र कतारबीच विकास र साझेदारी सम्बन्धी ९ वटा समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी नेपालको छ । शिक्षा, स्वास्थ्य क्षेत्रमा सम्झौता, सांस्कृतिक सहयोग आदान प्रदान र युवा तथा खेलकुद गतिविधिमा सहयोग गर्नुका साथै, प्रकाशन तथा सूचना सम्बन्धी प्रोटोकलमा समेत हस्ताक्षरको तयारी छ । यस्तै भ्रमणका क्रममा नेपाल भ्रमणमा जलविद्युत् र पर्यटनमा लगानीका लागि आग्रह गर्ने नेपालको तयारी छ । श्रम सम्झौता पुनरावलोकन गर्ने नेपालको तयारी भएपनि यसपटक नहुने भएको छ । प्रधानमन्त्रीसँगको द्विपक्षीय छलफलपछि हस्ताक्षर हुने समझदारीको सूचीमा केहि हेरफेर हुनसक्ने बताइन्छ । कतारमा अहिले ५ लाखभन्दा बढी नेपालीले काम गरिरहेका छन् । २०८० साउनयताका १ लाख २ हजार नेपालीले कतारमा रोजगारी गर्न नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् । कतारमा हालसम्म १७ लाखभन्दा बढी नेपालीले रोजगारी गरिसकेका छन् । त्यसैले कतार नेपाल र नेपालीको लागि महत्पूर्ण मुलुक हो ।

कतारी अमिरको भ्रमणका क्रममा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलबाट कब्जामा लिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको विषय पनि उठेको छ । काठमाडौँमा रहेका जोशीका आमाबुबाले पनि थानीसँग छोराको रिहाइको विषय उठाइदिन सरकारसँग आग्रह गरेका छन् । विपिन गत २० असोजमा विभिन्न मुलुकका २५३ जनासँगै प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा परी बन्धक बनाइएका थिए । जोशीको रिहाइका लागि कतारसँग सद्भावना खोज्ने प्रयास यो भ्रमणमा पनि हुनुपर्छ । किनकि कतारले इजरायल र हमासबीचको युद्धमा पनि मध्यस्तकर्ताको भूमिका खेलिरहेको छ । हमासमाथि कतारका अमिरको प्रभावकै दुई पक्षबीच युद्धविराम हुने गरेको छ ।

नेपाली नागरिकलाई कतारले रोजगारीको अवसर प्रदान गरेको छ । नेपालीले श्रम र पसिना पनि बगाएका छन् । त्यसका आधारमा कतारले नेपालका केही महत्वपूर्ण परियोजनामा लगानी गरोस् भनेर नेपालले ठोस प्रस्ताव गर्न सक्नुपर्छ । भौतिक पूर्वाधारको विकासमा कतार सरकारले गरेको लोभलाग्दो प्रगतिबाट नेपालले लाभ लिन सक्नुपर्छ । अर्गानिक कृषिउपजको ठूलो बजार कतार हुनसक्ने अध्ययनले देखाएको छ । यस्तै हिमाली क्षेत्रको पानी प्रशोधन गरेर कतारका बिक्रीवितरण गर्न सकिने सम्भावना छ । अमिरको भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने र जनस्तरमा विकास हुने थप वातावरण बन्ने विश्वास गर्न सकिन्छ । यो भ्रमणबाट नेपालले तत्कालिक र दिर्घकालिन लाभ लिनेगरि वातावरण निर्माण गर्न सक्नुपर्छ । त्यसमा सरकारको कुटनीतिक सफलता प्रदर्शित हुनेछ ।

बुधबार, १२ बैशाख, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर