विराटनगर । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ सरकारको मुख्यमन्त्री दाबी गर्न दलहरुलाई दिएको समयसीमा सकिनैलाग्दा पनि दलहरु अनिर्णित देखिएका छन् ।
सत्ता गठबन्धनका प्रमुख दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेश सरकारको नेतृत्वको दाबी नछाडेको र केन्द्रबाट नेताहरुले त्यसको छिनोफानो नगरेकोले प्रदेशमा सरकार निर्माणको प्रक्रिया अगाडि नबढेको हो ।
समयसीमा सकिनै लाग्दा पनि अनिर्णित देखिएका दलहरुले शनिबार राति वा आइतबार विहानसम्म नेताहरुले यसबारे टुंगो लगाउने दावी गरेका छन् । प्रदेश प्रमुखले पुस १७ गते एक साताको समय दिएर मुख्यमन्त्रीको दाबी पेश गर्न आइतबार बेलुकी ५ बजेसम्मको समय दलहरुलाई दिएका थिए ।
शनिबार राति अबेरसम्म पनि सत्ता साझेदार दलहरु शक्ति बाँडफाटको टुंगोमा पुगेका छैनन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीको दाबी गर्न प्रमुख खापुङले आव्हान गरेका थिए ।
प्रदेशसभाको सबैभन्दा ठूलो दल भएका कारण आफ्नै नेतृत्वमा सरकार बन्ने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले दाबी गरेका छन् । यद्यपि एमाले प्रदेश १ का अध्यक्ष तुलसी न्यौपानेले भने मुख्यमन्त्री कसलाई बनाउने भन्ने गठबन्धनको केन्द्रले ट्ुंगो लगाइ नसकेकोले ढिलाई भएको बताएका छन् । उनले नेताहरुले आइतबारसम्म त्यसबारे निर्णय गरेपछि मुख्यमन्त्रीको दावी पेश हुने बताए ।
माओवादी नेतृत्वले भने केन्द्रमा छलफल जारी रहेका कारण मुख्यमन्त्री को बन्ने भन्ने निश्चित भइनसकेको बताएको छ । माओवादीबाट मुख्यमन्त्रीका दाबेदारसमेत रहेका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले ‘काठमाडौंमा शीर्ष नेताहरुबीच छलफल जारी रहेको कारण प्रदेशमा कसको नेतृत्व भन्ने टुंगो लागिनसकेको’ बताएका छन् । ‘आज बेलुकी नत्र भोलि बिहानसम्म शीर्ष नेतृत्वले प्रदेशहरुबारे सहमति गर्ने कुरा छ’, शनिबार साँझ आङ्बोले हाम्रोमतसँग भने ‘केन्द्रको छलफलको निष्कर्ष नआएसम्म के हुने भन्ने प्रष्ट हुने अवस्था छैन ।’
माओवादी केन्द्रको प्रदेश संसदीय दल तथा पार्टी कमिटीले प्रदेश १ मा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो । त्यहि विषयमा शनिबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आङ्बोले भेटेर छलफल समेत गरेका छन् । प्रधानमन्त्रीसँगको छलफलबारे भने उनले खुलाउन चाहेनन् । ‘समग्र राजनीतिक अवस्थाबारे छलफल भयो’, उनले भने ‘प्रदेशको नेतृत्व कसले गर्ने भन्नेबारे चाहिँ गठबन्धन अन्तिम निर्णयमा पुगिसकेको छैन ।’ प्रदेश १ मा माओवादीसँग १३ सिट छ ।
सत्ता साझेदार रहेका दुई ठूला दलहरुबीचकै फरक –फरक दाबीले अन्योल कायमै छ । एमाले प्रदेश अध्यक्ष न्यौपानेले प्रदेशको मुख्यमन्त्री र सभामुखको भागबण्डा केन्द्रले गरिनसकेको बताएका छन् । ‘सभामुख र मुख्यमन्त्रीको भागबण्डा गठबन्धनको केन्द्रबाटै हुनेछ । आइतबारसम्ममा यसको टुंगो हुनेछ’, उनले भने ‘बाँकी यहाँको मन्त्रीमण्डलबारे भने प्रदेशमै निर्णय हुनेछ ।’
अध्यक्ष न्यौपानेले केन्द्रीय निर्णय आइनसकेको बताए पनि प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने एमाले नेतृत्वमा प्रदेश सरकार बन्ने निर्णय भइसकेको दावी गरेका छन् । ‘आइतबार देश १ एमाले संसदीय दलका नेता हिक्मत कार्कीको नेतृत्वमा सरकार बन्छ’, भण्डारीले भने ‘हामी समयमै दाबी पेश गर्न जानेछौं ।’ प्रदेशसभामा एमालेसँग ४० सिट छ ।
एमाले र माओवादीको गठबन्धन हुँदा प्रदेशमा आरामदायी बहुमत पुग्ने अवस्था छ । ९३ सदस्सीय सभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ । केन्द्रीय गठबन्धनमा सामेल रहेको राप्रपाको ६ सिट र जसपाको १ सिट थपिँदा सरकारलाई ६० सांसदको समर्थन पुग्नेछ ।
आफूहरु सरकारमा सामेल हुने नहुने टुंगो भइनसकेको बताउने राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले एमाले नेता हिक्मतकुमार कार्की नै मुख्यमन्त्री बन्ने र आइतबार नै सानो मन्त्रीमण्डल गठन हुनसक्ने बताएका छन् । ‘सहमति त्यस्तै भएको छ’, उनले भने ‘आइतबार नै सानो मन्त्रीमण्डल बन्ने सम्भावना छ ।’
प्रदेशसभामा नेपाली काँग्रेससँग २९ र एकीकृत समाजवादीसँग ४ सांसद छन् । कुनै पनि दलसँग एक्लै सरकार बनाउन पुग्ने बहुमत नभएका कारण यहाँ दुई वा दुईभन्दा बढी दलहरुको सहभागितामा सरकार बन्नेछ ।