चन्दा संकलनमा स्थानीय सरकार !

  पुण्य पि अधिकारी

बितेको साता कोशी प्रदेशमा आगलागीका घटना अत्यधिक भए । सयौँ मानिस घरबारविहीन भए । लामो समयसम्म वर्षा नहुँदा र अत्यधिक सुख्खाका कारण आगलागीका घटनामा वृद्धि भएको वातावरणविद् भुषण तुलाधरले बताए । प्रिमनसुन सुरुआत भइसक्ने समयमा वर्षा हुँदा सुख्खापन बढेको र त्यसले आगलागी हुँदा फैलावटमा सहयोग पुगेको मौमसविद्ले बताए ।

कोशी प्रदेशमा फागुनको दोस्रो सातायता भएका आगलागीका घटनामा तीन बालबालिकासहित दर्जन बढी घाइते भए । घर,गोठ, अन्नपात गरी १५ करोड बढीको क्षति भएको प्रारम्भिक तथ्याकं छ । आगोले धेरै परिवार अहिले त्रिपालमुनि बस्न बाध्य भएका छन् । बितेको २४ घण्टायता फेरिएको मौमसले वर्षा हुँदा किसानलाई अलिकता राहत पुगेको छ । आगलागी वा डढेलो नियन्त्रणका लागि केहीहदसम्म सहयोग पुगेको छ ।

आगलागीमा भोजपुरको हतुवागढीमा तीन जना बालबालिकाले ज्यान गुमाए । झापालगायत अन्य जिल्लामा मानवीय क्षति भयो । कोशी प्रदेश सरकारले बालबालिकाका परिवारलाई प्रतिपरिवार एक लाख रुपियाँ राहत प्रदान गरेको छ । यो सरकारको विपद्का समयमा नागरिकको जीउधनको रक्षा गर्ने समय पनि हो । प्रदेश सरकारले प्रदान गरेको राहत स्वागतयोग्य छ ।

आगलागीका घटनामा उच्च सर्तकता अपनाउँदा अपनाउँदै हुनुलाई भवितव्य मान्न सकिन्छ । तर केही लोभका कारण जगंलमा डढेलो लगाउने र त्यो डढेलोको फैलावटले आगलागीका घटना बढ्नु चाँहि मानवीय लापरवाही नै हो । यो अवधिमा भएका केही आगलागीका घटनासमेत मानवीय कमजोरी र लापरवाहीका कारण भएका छन् । यसतर्फ सबैले सचेत हुन आवश्यक नै छ ।

चैत, वैशाख अझ सुख्खा मौसम हो, त्यो समयमा पनि आगलागीका घटना हुनसक्ने तर्फ हामी बेलैमा सचेत हुन आवश्यक र जरुरी छ । सिमित स्रोत साधनकाबिच संघीय सरकार, प्रदेश सरकार वा स्थानीय सरकार चलायामान छन् । कोशी प्रदेशकै हिमाली, पहाडी र तराइका केही स्थानीय सरकारसँग आफ्नै राजश्व एकदम कम छ । यस किसिमको विपद्को समयमा वार्षिक राजश्व न्यून भएका स्थानीय सरकारलाई राहत, उद्दार वा पुनस्थापनामा पक्कै कठिनाइ नै हुन्छ ।

तर, मोरङको सुगम क्षेत्रमा भएको स्थानीय सरकारले आगलागीका घटना हुने बित्तिकै सार्वजनिक अपील गरी आर्थिक सहयोगका लागि गरेको आग्रह चाँहि उदेकपूर्ण छ । रंगेली नगरपालिकामा यसैसाता भएको आगलागीले सन्थाल बस्ती सखाप बनायो । मानवीय क्षति नभएपनि झुपडीहरु नष्ट भए । यो दुःखद् पक्ष हो । तर रंगेली नगरपालिकाले हतारमा आर्थिक सहयोगका लागि भन्दै सार्वजनिक अपील गरेको विषय भने निकै गम्भीर छ । नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीलाई खुसी पार्न वार्षिक करोडौँ रुपियाँ उपलब्धिहीन कार्यक्रममा खर्च गर्न सक्ने तर आगलागीका घटनामा पीडित भएकाहरुलाई तत्काल उद्दार वा राहत प्रदान गर्न चन्दा उठाउनुपर्ने नियतिले भने दुःखी तुल्याएको छ ।

स्थानीय सरकारले सिकाइ अनुभव आदानप्रदान भ्रमण, सभा, सम्मेलन, सेमिनार, जनचेतनामूलक कार्यक्रम, क्षमता अभिवृद्धिजस्ता उपलब्धिहीन कार्यक्रमका लागि वार्षिक करोडौँ रुपियाँ खर्च गर्ने गरेका छन् । सो खर्च गर्ने मेसोमा रंगेली नगरपालिका पनि अछुतो छैन । कर्मचारी र जनप्रतिनिधि रमाउने कार्यक्रममा जतिपनि खर्च गर्न सक्ने स्थानीय सरकार आगलागीका घटनामा पीडितहरुलाई उद्दार वा राहतका लागि चन्दा उठाउन थाल्छ भने यो सोचनीय छ ।

आलिसान महल वा ठूला उद्योग वा बहुमूल्य सामग्री उत्पादन गर्ने कलकारखानामा आगलागी हुँदा अर्बौँको क्षति हुन्छ । जसको भरणपोषण गर्न स्थानीय सरकारले सक्दैन । तर, सन्थाल बस्तीमा आगलागी भएर बाईस पच्चीस वटा फुसका घर जल्ने बित्तिकै स्थानीय सरकार हतारिएर चन्दा संकलनमा सक्रिय हुन्छ भने यसले स्थानीय सरकार नगरवासीप्रति कति सम्वेदनशील र जिम्मेवार छ भन्ने बोध गराउँछ । सन्थाल बस्तीमा आवास निर्माणका लागि आर्थिक संकलन गरिएको भन्ने स्थानीय सरकारलाई लागेको भए त्यो फगत र अर्थहीन प्रयास मात्र भएको प्रतीत हुन्छ । फुसका घर जल्ने बित्तिकै आर्थिक संकलनका लागि सार्वजनिक अपिल गर्नु पीडादायी छ ।

बिहिबार, ०८ चैत, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर