विराटनगर । महिला सशक्तीकरणको लागि आमा समूह निर्माण गरेको त हामी सबैले सुनेकै हो । तर, तपाईले बाउ समूह निर्माण भएको सुन्नु भएको छ ? हो विराटनगरमा दुई वर्ष अगाडि दर्ता भएको बाउ समूह अहिले सक्रिय देखिन्छ ।
२०७८ सालको कोरोना कालको समय थियो । सन्तान भएकाका बाउहरुलाई छोराछोरीले नै सहयोग गर्दथे । तर, छोराछोरी विदेशमा हुने वृद्ध बाउहरु हेरचाह गर्ने मानिस थिएनन् । त्यही बेला असहाय बाउहरुको सहयोग गर्ने मनमा आएपछि विराटनगरका हरि प्रसाईले बाउ समूह बनाउने सोच बनाए । सोही सोचमा साथ दिन आइपुगे सूर्यकिरण घिमिरे । दुवै जनाको संयुक्त पहलमा बाउ समूह (बा.स.) जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता भयो ।
बाउ समूहको नाम सुन्दै धेरैले अचम्म मान्छन् । आमा समूहले त महिला सशक्तीकरण र महिला सचेतनाको काम गर्छ । तर, बाउ समूहले काम चाहिं के गर्छ ? भन्ने प्रश्न उठाउने धेरै छन् । त्यसको जवाफ दिँदै बाउ समूहका अध्यक्ष सूर्यकीरण घिमिरे भन्छन्, ‘नारीहरूद्वारा पुरुषहरु पीडित हुने अवस्था तत्काल धेरै देखियो । त्यसमा पनि धेरै वृद्ध बाउहरु पीडित छन् । महिला–महिला भन्दाभन्दै बाउ चाहिँ हेला हुने स्थिति आइसक्यो । त्यसैले बाउहरुलाई जतन गर्न, सहयोग गर्न, ती बाउलाई कानूनी उपचारमा सहयोग गर्नका लागि पनि यो संगठनको आवश्यकता महसुस भयो ।

उनले बोल्दा बोल्दै बाउ समूहका अर्का सदस्य प्रसान्त पौडेलले भने, ‘अहिले सम्पन्न परिवार छ । तर, छोरा बुहारी जागिरे छन् । बाउको इच्छा अनुसारको व्यवहार गर्दैनन् । काँही उसलाई वृद्धाश्रममा लगेर छोडिदिन्छन् । बाउले घरमा बस्छु नानी भन्दा भन्दै पनि हामी भ्याउँदैनौं कसले पकाएर खुवाउँछ भन्छन् । त्यस्ता बाउहरुलाई सहयोग गर्ने उद्देश्यले हामीले संस्था स्थापना गरेका हौं ।’ त्यस्ता पीडितको कति उद्धा गर्नुभयो त ? भन्ने प्रश्नमा भने उनीहरुले ठोस जवाफ दिन सकेनन् ।
बाउ समूह देशभरमा यही पहिलो भएको उनीहरुको दाबी छ । ‘अहिलेसम्म हामीलाई यो संस्था देशको अरु ठाउँमा भएजस्तो लाग्दैन । अहिलेसम्म बाउ समूहको केन्द्रीय कार्यालय नै विराटनगर हो,’ अध्यक्ष घिमिरेले भने । संस्थामा ५० वर्ष नाघेका विवाहित र सन्तान भएका ३१ जना बाउहरु आवद्ध छन् । ‘उमेर भएसम्म साथी हुँदो रहेछ । उमेर ढल्किएपछि साथी हुँदैन रहेछन् । त्यसो भएको हुँदा हामी एक–अर्कालाई दुःख सुख आदन–प्रदान गर्नका लागि बाउहरुको एकताको लागि कुरा गर्ने । सामाजिक क्षेत्रमा काम गर्ने संस्था चाहिने रहेछ,’ पौडेलले भने, ‘नेपालमा अहिले छोराछोरी सबै विदेश जाने । भोली कसले सहयोग गर्छ ? बिरामी परिएला, मलामी जानुपर्ला, उपचारमा लानु पर्ला । त्यो वृद्धाहरुलाई ति बाउहरुलाई कसरी सहयोग गर्ने ? भन्ने उद्देश्य हाम्रो हो । बच्चाहरु छ विदेश जान मात्रै खोजिरहेका छन् । त्यस्तो बेलामा बाउहरुको एकता हुनुपर्छ भनेर हामीले संस्था बनाएका हौं ।’
बाउ समूहले संस्था दर्ता भएको एक वर्ष कोरोना महामारीका कारण कुनै काम गर्न सकेन । तर, हरेक महिनाको सुरु हप्ताको शनिबार बैठक बस्ने र छलफल गर्ने काम भने निरन्तर भयो । १ वर्षयता भने विभिन्न गतिविधिमा बाउ समूह सक्रिय छ । ‘हामीले भर्खरै रक्तदान गर्यौं । ४२ पिन्ट रगत संकलन भयो । त्यसपछि हामीले वृक्षारोपण, सरसफाइ लगायतका कार्यक्रम गर्ने तयारी गरेका छौंै,’ घिमिरेले भने, ‘बाउ समूहको अगुवाईमा आमाहरुसहित तीर्थयात्रा गराउँ भन्ने कार्यक्रममा हामी व्यस्त छौं । वैशाख २ गते हलेंसी हुँदै ५ दिनको तीर्थयात्रामा जाँदैछौं । त्यसको खर्चको व्यवस्थापनको लागि सदस्यहरुबाटै संकलन गर्ने, सहयोग माग्ने तयारीमा छौं । अहिले तत्काल हामी मजबुद नभइकन कुन बाले कति दुःख पाएका छन् भन्ने हामीलाई थाहा छैन । भर्खरै बाउसमूह जन्मिएको हो । अब समाजमा स्थापित गर्नका लागि अरु गतिविधि पनि गर्छौं ।’
उक्त संस्था विराटनगर ९ का हरि प्रसाई र विराटनगर १२ का सूर्यकिरण घिमिरेकै अगुवाइमा संस्था जन्मिएको हो । ‘प्रसाईजीले बाउ समूह गठन गरौं के हुन्छ भन्नुभयो, मैले साह्रै राम्रो हुन्छ भनेर प्रतिक्रिया दिएँ । अनि संस्था जन्मियो,’ घिमिरेले भने, ‘यो आमा समूहसँगको काउन्टर होइन । उहाँहरुसँगै हामी काम गछौं । तर, के चाहिं हो भने अहिलेको परिस्थितिमा बुबा र बाउहरुको एकता गराउने मुख्य उद्देश्य हो ।’
केही महिना अगाडि उनीहरुले विराटनगरको बसपार्क क्षेत्रमा रक्तदान कार्यक्रम गरे । बाउ समूह लेखेको एकै खालको भेष्ट लगाएर ४० जनाभन्दा बढी वृद्धाहरु लाइन लागेर रक्तदानमा सहभागी भएको देख्दा धेरै मानिसहरुले चासोका साथ हेरेका थिए । ‘सेतै फलेका बाउहरुले रक्तदानमा उत्साहपूर्ण ढंगले सहभागीता जनाए,’ घिमिरेले भने, ‘त्यो देखेर धेरैले आश्चर्य माने, चासो दिए ।’
बाउ समूहका अर्का सदस्य रेवतीरमण दाहालले पनि एक्लै नेपालमा रहेका बाउहरुको सहयोग नै मुख्य उद्देश्य रहेको बताए । उनले बिरामी हुँदादेखि मलामी जाँदासम्म बाउहरुलाई सहयोग चाहिने धारणा राखे । ‘धेरै साथीहरुका छोराछोरी बाहिर छन् । एक जना बाउ बिरामी भयो । हस्पिटलमा कुद्नुपर्यो भने मान्छे छैन । हस्पिटलमा उनीहरुलाई कुर्ने काममा पनि हामीले सहयोग गर्ने उद्देश्य छ । मलामी जाँदा मानिसहरु शवमा आगो सल्काएपछि सबै फर्किन्छन् । अन्तिममा किरियापुत्री एक्लै हुन्छ । त्यहाँ पनि हामी कुरेर बस्ने भनेका छौं,’ उनले भने, ‘यस्तै सदस्यहरुको घरमा हुने विवाह, ब्रतबन्ध, मरिमराउ हुँदा जम्मा हुने र समाजमा बाउहरु एक्लो छैनन् है भन्ने अनुभूति गराउने उद्देश्य हो ।’

बाउ समूहमा अहिले सदस्यहरु ३१ जना छन् । यसलाई बढाउने अभियान रहेको अध्यक्ष घिमिरे बताउँछन् । ४० वर्ष नाघेको र छोराछोरी भएकालाई सदस्यता दिने विधानमा व्यवस्था नै गरेका छन् । संस्थाको विधान अनुसार ११ जनाको कार्यसमिति हुने र २ वर्षे कार्यकाल राखिएको छ । जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष १–१ जना र सदस्यहरु ६ जना रहनेछन् ।
सदस्यता लिनका लागि ५ योग्यता पुगेको हुनुपर्छ । त्यसमा पनि ४० वर्ष उमेर पुरा गरेको र विवाह भएकोलाई मात्रै सदस्यता दिने दुई बुँदा छन् । बाउ समूहको विधानको प्रस्तावनामा लेखिएको छ, ‘समाजमा परितर्वन समय काल परिस्थिति अनुसार आफूमा परिवर्तन ल्याउँदै समूहमा आबद्ध प्रत्येक सदस्यको उज्ज्वल भविष्यको साथै समाज सेवा गर्दै हामीबीच रहेको विसंगति र विकृतिलाई पन्छाउने, सामाजिक कार्य गर्न तथा साथी भाईहरु भेटघाट, हर सुखदुःखमा एकै साथमा रहँदै……… ‘बाउ समूह’ नामक संस्था संचालनार्थ…।’ मोरङ जिल्लालाई कार्यक्षेत्र बनाएको बाउ समूहले समाजमा रहेका बाउ समूहका लागि हकहित तथा संरक्षण सम्बन्धी कार्यहरु गर्ने उल्लेख छ ।


