राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।

माओवादीको स्थायी कमिटी बैठकमा मंगलबार अधिकांश नेताहरूले राष्ट्रिय सभा अध्यक्षमा दाबी प्रस्तुत गर्नुपर्ने अडान राखेका थिए । एक वर्षपछि गठबन्धनको सहमति अनुसार प्रधानमन्त्री छाड्नुपर्ने अवस्थामा संवैधानिक परिषद्मा आफ्नो उपस्थिति नहुने अवस्था आउन नदिन पनि माओवादीले राष्ट्रिय सभा अध्यक्ष दावी गरेको हो ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन यही फागुन २९ मा हुँदैछ । नेपाली काँग्रेसले पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने योजनाका साथ कांग्रेसले राष्ट्रिय सभामा प्रवेश गराएको बताउँदै आएको छ । गठबन्धनमा सिटौलालाई अध्यक्ष बनाउने सहमति भइसकेको काँग्रेसको दावी छ ।

माओवादी केन्द्रका महासचिव देव गुरुङलेराष्ट्रिय सभा अध्यक्ष कांग्रेसलाई दिने कुनै सहमति नभएको बताएका छन् । राष्ट्रियसभामा सबैभन्दा ठूलो दल भएकोले पनि अध्यक्ष आफूले पाउनुपर्ने माओवादीको दावी छ । राष्ट्रियसभा निर्वाचनमा कोशीमा माओवादीका उम्मेदवार चम्पा कार्कीलाई हराउन काँग्रेसबाट धोका भएकोले पनि अध्यक्ष नछाड्ने अडानमा माओवादी पुगेको हो ।

माघ ११ मा १९ पदका लागि भएको निर्वाचनमा सिटौला गठबन्धनको उम्मेदवार भएर कोशी प्रदेशबाट निर्वाचित हुँदा माओवादीका उम्मेदवार कार्की पराजित भएकी थिइन् । कोशी सरकार निर्माणमा काँग्रेसले दिएको धोका र राष्ट्रियसभा निर्वाचनमा पाएको धोकाको कारण काँग्रेससँगको सहकार्यबारे समिक्षा गर्नुपर्ने माओवादीका नेताहरुले बताउँदै आएका छन् ।

माओवादी स्थायी समिति बैठकले आउँदो चुनावमा गठबन्धन नगरी एक्लै लड्ने पनि निर्णय पनि गरेको प्रवक्ता अग्नी सापकोटाले जानकारी दिएका छन् । पार्टीको केन्द्रीय समिति र विधान सम्मेलनमा पनि अब निर्वाचनमा एक्लै लड्ने स्वतन्त्रतापूर्वक प्रतिस्पर्धा गर्ने भनिसकेकोले अब एक्लै प्रतिस्पर्धा गर्नेगरी तयारी गर्ने निर्णय भएको उनको भनाइ छ ।

बुधबार, १६ फागुन, २०८०, दिउँसोको ०१:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर