राष्ट्रियसभाको लागि सिटौलासहितको नाम सिफारिस

विराटनगर । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले सम्भावित उमेदवारको नाम सिफारिस गरेको छ ।

प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा विराटनगरमा बसेको बैठकले जिल्लागत रुपमा आएका सिफारिसलाई आधार बनाइ केन्द्रीय समितिमा नाम सिफारिस गरको हो ।

कांग्रेस कोशी प्रदेश समितिका सूचना तथा संचार संयोजक बासु कोइरालाका अनुसार संघीय सरकारमा यसअघि मन्त्री रहिसकेका चार जना सिफारिसमा परेका छन् । पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री महेश आचार्य, डा. मिनेन्द्र रिजाल र सूजाता कोइरालाको नाम सिफारिस भएको छ ।

प्रदेश समितिले पूर्वसांसद डिला संग्रौला, नेविसंघ पूर्वसभापति गुरुराज घिमिरे, नेताहरु उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइरालाको पनि नाम सिफारिस गरेको छ । जिल्लाबाट प्रक्रियागत रुपमा आएका नामहरु छलफल गरी केन्द्रलाई पठाउने निर्णय भएको पार्टीका प्रदेश सभापति उद्धब थापाले जानकारी दिएका छन् ।

चुनावमा पराजित भएका नेताहरूलाई राष्ट्रियसभामा लानुहुँदैन भन्ने आवाज काँग्रेसभित्र उठिरहेको छ । तर, प्रदेश समितिले गत चुनाबमा पराजित भएका कृष्णप्रसाद सिटौला, सुजाता कोइराला, गुरुराज घिमिरेसहितको नाम सिफारिस भएको हो ।

राष्ट्रियसभामा कोशीबाट काँग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझीको पदाबधि सकिँदैछ । गठबन्धनबीच भागबण्डा हुँदा एक जनाको कोटा काँग्रेसले पाउने संभावना छ । तर, काँग्रेसले दलित, अल्पसख्यक, महिला कोटाबाट नै २५ जनाको नाम सिफारिस गरेको छ भने अन्य कोटाका ३८ जनाको नाम सिफारिस गरेको बुझिएको छ ।

प्रदेश समितिको बैठकले प्रदेशस्तरीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको संयोजकमा प्रदेश समितिका उपसभापति रमेशजंग रायमाझीलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको छ । पार्टीको प्रदेश सम्मेलन विराटनगरमा गर्ने निर्णय गरेको भएपनि मिति तोकिएको छैन । माघ अन्तिमसम्ममा सम्मेलन गर्ने तयारी छ ।

मङ्गलबार, १० पुष, २०८०, दिउँसोको ०२:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर