कारागारमा मृत्यु प्रकरण गम्भीर

 सम्पादकीय

एक वर्ष कैद सजाय तोकिएका विराटनगरका चण्डेश्वर सहनीको कैदमुक्त हुने दिन नै मृत्यु भएको छ । सोमबार बिहान विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएपछि अन्य कैदीबन्दी र परिवारजनमा आक्रोश देखिएको छ । अघिल्लो साता मात्रै मोरङकै लेटाङ नगरपालिका–४ का ३७ वर्षीय केशरबहादुर भुजेलको कारागारभित्रै शंकास्पद मृत्यु भएको थियो । सो प्रकरणमा प्रशासनले छानविन गरिरहेको बेला अर्का कैदीको मृत्यु भएको हो । कारागारभित्र शंकास्पद मृत्युको घटना विगतदेखि नै भइरहेको छ । त्यसको न्यायिक छानविन हुन सकेको छैन । खासगरी चौकीदार र नाइकेहरुको शासन चल्ने कारागारको आन्तरिक प्रशासनमा उनीहरुको ज्यादती लुकेको विषय हैन । कैदीबन्दीहरुको आर्थिक र शारिरिक शोषण चौकिदार र नाइकेहरुले गर्दै आएको तथ्य विगतदेखि नै सार्वजनिक हुँदै आएको छ । तर, त्यसलाई सुधार गर्न सकारी निकायले पहल गरेको देखिदैन ।

लेनदेन मुद्दामा दोषी ठहर भएपछि कारागारमा पुगेका सहनी १० महिना २२ दिन भुक्ता गरेर रिहा हुने दिनमै मृत्यु भएको खबर सुन्दा परिवार आक्रोशित हुनु स्वभाविक छ । पेटको र श्वासप्रश्वासको समस्या देखिएपछि दुई दिन अगाडि कोशी अस्पताल पुर्याएकोमा उनको मृत्यु भएको हो । आफन्तले भने विरामी भएको बेलैमा खबर पाएको भए राम्रो अस्पतालमा उपचार गर्नसकिन्थ्यो भन्दै कारागार प्रशासनले लापर्वाही गरेको आरोप लगाएको छ । त्यति मात्र नभएर उनीमाथि निर्घात कुटपिट भएको पीडित परिवारको दावी छ । शुक्रबार जेलमा भेट्दा कुनै समस्या नभएको व्यक्ति सोमबार मृत्यु भएको खबर आएको परिवारले जनाएको छ । कारागार प्रशासनले अस्पतालमा शुक्रबार नै अस्पताल लगेको भनेपनि त्यसको जानकारी नदिनु र मृतकको शरीर फुलेको देखिएकोले शंकास्पद रहेको परिवारको भनाइ छ । कुटपिटकै कारण चन्डेश्वरको ज्यान गएको आफन्तले आरोप लगाएका छन् ।

यसअघि गत साउनमा संखुवासभा कारागारमा दुई जना कैदीबन्दीको मृत्यु भएको थियो । सुरुवातमा कारागार सुरक्षामा खटिएको प्रहरीले आसपी झगडामा उनीहरुको मृत्यु भएको बताएको थियो । नुवाकोटको ककनी–७ घर भएका आकाश बलामी र संखुवासभाको मादी घर भएका बिनोद तोलांगीको मृत्यु भएको घटना कारागारभित्रको झडपको क्रममा भएको कारागार प्रशासनले बताएको थियो । झडपमा उनीहरु घाइते भएको र अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रशासनले बताएको थियो । तर, घटनाको छानविन गर्दा प्रहरी तथा कारागारका चौकिदा र नाइकेको कुटपिटबाट उनीहरुको मृत्यु भएको खुल्यो । सो प्रकरणमा ७ जना प्रहरी र ८ कैदी दोषी ठहर भएका छन् । मुद्दा दर्ता गरिएका कैदीबन्दीहरु चौकिदार र नाइकेहरु छन् । उनीहरूले कुटपिट गरेर यातना दिएर हत्या गरेको पुष्टि भएको छ । सो प्रकरणले कारागारभित्र कैदीबन्दीको सुरक्षामा मात्र प्रश्न खडा भएको छैन, कसरी सुरक्षा निकायले नै घटनालाई गलत ब्याख्या गर्ने गर्दछन् भन्ने पनि देखिएको छ । यसैले पनि मोरङ कारागारभित्र भएको घटनाको गम्भीर अनुसन्धानको खाँचो देखिएको छ ।

कारागारलाई सुधार गृहको रुपमा विकास गर्ने सरकारको लक्ष्य छ । जानी नजानि अपराधमा संलग्न भएको व्यक्तिलाई सुधार गर्नको लागि कारागारमा राखिन्छ । तर, उसकै जीवनको सुरक्षा नहुनु गम्भीर छ । अपराध गरेको व्यक्तिले कानून अनुसार सजाय कटाइहरेको बेला अकालमै उसको मृत्यु हुने अवस्थामाथि गम्भीर अनुसन्धानको खाँचो छ । त्यसमाथि कारागार प्रशासन सञ्चालनको तरिकामाथि पनि छलफल गर्नुपर्ने देखिएको छ । सबैभन्दा गम्भीर अपराध गरेको व्यक्तिहरुलाई कारागारभित्रको चौकिदार र नाइके बनाउने अनि उनीहरुलाई निरंशुक शासन सञ्चालन गर्न दिने सिस्टममाथि पनि प्रश्न खडा भएको छ । कैदीबन्दीको शारिरिक र आर्थिक शोषण गर्ने कार्यमा चौकिदार र कारागार प्रशासनको मिलेमताको घटना विगतदेखि देखिएका छन् । त्यसैले यो प्रकरणको अनुसन्धनको खाँचो छ । कैदीबन्दीको सुरक्षाको ज्ञारेन्टी राज्यले गर्नुपर्छ ।

मङ्गलबार, १० पुष, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर