विराटनगर । पुर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापती शेरबहादुर देउवाले संघीयतालाई संस्थागत गर्नसकेमा मुलुकको विकासले गति लिने बताएका छन् ।

ओखलढुंगामा मंगलबार बीपी स्मृति भवन नेपाली काँग्रेस पार्टी कार्यालय र प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्दै देउवाले ठूलो आन्दोलनपछि देश लोकतान्त्रिक गणतन्त्रमा गएकोले अब यसको विकल्प नरहेको बताए ।

‘यही व्यवस्थाले नागरिकको अवस्था परिवर्तन हुन्छ’ उनले भने, ‘यो व्यवस्थाले आदिवासी, जनजाति, मधेसी, महिला, दलितलगायत सबैलाई अपनत्व दिलाउन आवश्यक छ ।’

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाले देशमा बेरोजगार समस्या बढ्दो क्रममा रहेको बता भन्दै त्यसका समाधानका लागि कृषि क्षेत्रको विकास गरेर रोजगारीको सिर्जना गर्नुपर्ने बताए । पछिल्लो समय देशमा एनसेलमा भ्रष्ट्राचारको चर्चा चलिरहेको सन्दर्भमा काँग्रेसले सदनमा आवाज उठाउने उनको भनाइ थियो ।

संघीयतासहितको लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि काँग्रेस लाग्ने महामन्त्री गगन थापाले बताए । भ्रष्ट्राचार अन्त्यका लागि नेपाली काँग्रेसले महत्वपुर्ण भुमिका खेल्न आवश्यक रहेको उनको भनाइ थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशका नागरिकलाई निराश नहुन आग्रह गर्दै अब प्रदेश सरकारले मानवीय र सामाजिक विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । कार्यक्रममा काँग्रेस सहमहामन्त्री भिष्म आङदाम्बे, पार्टी प्रवक्ता मिन विश्वकर्मा, कोशी प्रदेशका पुर्वमुख्यमन्त्री उद्धव थापा, नेताहरु रामहरी खतिवडा, प्रदिपकुमार सुनुसारलगायतको सहभागिता थियो ।

कालोझण्डा देखाउने ९ पहिचानवादी पक्राउ
यसैबीच ओखलढुंगामा कांग्रेसको कार्यक्रममा कालोझन्डा देखाउने ९ जना पहिचानवादी पक्राउ परेका छन् । कोशी नाम खारेज गरी प्रदेश १ को पुनः नामकरण गर्न माग गर्दै आन्दोलित ९ जना पहिचान पक्षधर नेता पक्राउ परेका हुन्।

जिल्लामा नवनिर्मित बिपी स्मृति भवन उद्घाटन तथा प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्न ओखलढुंगा आएका सभापति देउवासहितका नेताले स्वर्गीय नेता बलबहादुर राईको सालिकमा माल्यार्पण गर्ने क्रममा पहिचानवादीले नारा–जुलुस गर्दै कालोझन्डा देखाउन र कार्यक्रम बिथोल्न खोजेका थिए। त्यसलगत्तै प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिका जिल्ला अध्यक्ष थगेन्द्र राई, सचिव दीपेन्द्र रुम्दाली, किराँत राई यायोक्खाका केन्द्रीय महासचिव भीम राईसहित रेखराज राई, चम्मर राई, दुर्गाबहादुर राई, इन्द्रबहादुर राई, अश्विन राई र सुजन राई रहेको जिल्ला प्रहरी प्रमुख दीपक केसीले बताए । कार्यक्रम बिथोल्न र नेताहरूलाई कालोझन्डा देखाउन थालेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।