विराटनगर । विराटनगर महानगरपालिकाले सुर्तिजन्य पदार्थ (बिक्री, वितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने) ऐन २०८० पूर्णतः कार्यन्वयनमा ल्याउन अनुगमन सुरु गरेको छ ।
महानगरपालिकाले आफैंले जारी गरेको ऐन विपरित जताततै सुर्तीजन्य पदार्थ बिक्री वितरण भईरहेको जनगुनासो आएको भन्दै महानगरपालिकाले बिहीबारदेखि अनुगमन सुरु गरेको हो ।
महानगरपालिका नगर प्रहरी प्रमुख राजन पौडेलले चौतर्फी गुनासो आएपछि अब प्रत्येक पसलमा अनुगमन गरेर बिक्रीका लागि राखेको पाइएमा कारवाही गरिने दावी गरेका छन् । महानगरपालिकाले जारी गरेको ऐनमा सार्वजानिक स्थल आसपास यसको कारोबार गर्नै नपाईने उल्लेख छ । त्यस बाहेक पान मसला बाहेक सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाईने व्यवस्था रहेको छ ।
महानगरले गत साउन १ गतेबाट सार्वजििक स्थलहरुमा सुर्तिजन्य पदार्थ निषेधको निर्णय गरेको भएपनि कार्यान्वयन छैन । बिहीबार अनुगमनको क्रममा बिराट नसिङ्ग होम, नोेबेल अस्पताल र कोशी अस्पतालको क्षेत्रमा रहेका होटेल तथा पसलहरुमध्ये १० वटा पसलहरुबाट सुर्तिजन्य पदार्थ फेला पारेर जरिवाना गरेको महानगरले जनाएको छ ।
सुर्तिजन्य पदार्थ फेला परेको पसललाई पहिलो पटक १० हजार रुपैयाँ जरिवाना काटिएको छ । दोस्रो पटकमा ३० हजार र तेस्रो पटकमा ५० हजार जरिवाना गर्ने महानगरको ऐनमा व्यवस्था छ । त्यसपछि पनि अटेर गरेमा पसल नै बन्द गरिदिने महानगरपालिकाका नगर प्रहरी प्रमुख राजन पौडेलले बताए ।

