विराटनगर । प्रदेश १ मा सरकार गठनको विषयमा माओवादी केन्द्रमा तीब्र विवाद देखिएपछि संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अफवाहको पछि नकुद्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले प्रदेश १ सरकार गठनको विषयमा सत्ता साझेदार दलहरुबीच कुनै निर्णय र सहमति नभइसकेको, केन्द्रमा सहमति नभइ प्रदेशस्तरमा अनौपचारिक बाहेक कुनै निर्णायक छलफल अगाडि नबढेको बताएका छन् ।
यस्तै आङ्बोले प्रदेश पार्टी र संसदीय दलभित्र कोही पनि व्यक्ति र पात्रले प्राप्त गर्ने जिम्मेवारीको बारेमा कुनै छलफल प्रारम्भ नभएको र पार्टीको माल्लिो निकाय वा पदाधिकारीहरुबाट कोही निश्चित पात्र विशेषको निम्ति कुनै प्रस्ताव, दबाब वा निर्देशन नआएको पनि बताएका छन् ।
माओवादी प्रदेश १ का कतिपय सांसदहरुले मन्त्री बन्न गरेको लविङ स्वभाविक भएको भन्दै उनले भनेका छन्, ‘जनताको बीचमा हजारौं सपना बाँडेर निर्वाचित भएर आएका जनप्रतिनिधिले कार्यकारी निकायमा बसेर जनताको सेवा गर्ने चाहनालाई कसैले अन्यथा नठानौं भ्रम र अफवाहको पछि नलागौं ।’
प्रदेश १ सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषयको टुंगो नलाग्दै माओवादी केन्द्रमा भने विवाद सुरु भएको छ । माओवादीका प्रदेश १ सचिव तथा प्रदेश सांसद गणेश उप्रेतीले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखेपछि उक्त विवाद सतहमा आएको हो ।
‘राजनीति गर्नेहरुले राजनीतिक निर्णय र राजनीतिक पहलकदमी लिएकै राम्रो,’ उनले आज पोष्ट गरेको स्टाटसमा उल्लेख छ, ‘त्यसभित्र अराजनीतिक र मूल्य मान्यता नाघेर निर्णयहरु लिँदा आन्दोलन वा अभियान कसैलाई फाइदा पुग्दैन ।’
उनले लेखेको स्टाटस पार्टीका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य जीवन आचार्यप्रति लक्षित गरेको अनुमान छ । प्रदेश १ को सरकार गठन हुने समय नजिकिँदै गर्दा मोरङका दुई नेताबीच मन्त्री बन्ने होडबाजी छ । आचार्य प्रधानमन्त्री प्रचण्डको कान्छा ज्वाई हुन् ।
माओवादी केन्द्रको भागमा पर्ने सम्भावित ४ मन्त्रालयमध्ये कसले नेतृत्व गरेर जाने भन्ने रस्साकस्सी छ । माओवादीबाट तेह्रथुमका दुर्गा चापागाईं, संखुवासभाका राजेन्द्र कार्की, उदयपुरका राम राना मगर, सोलुखुम्बुका गोम्बु शेर्पा, मोरङका आचार्य र उप्रेती तथा गीता तिम्सिना मन्त्री बन्ने लाइनमा छन् । मोरङबाट आचार्य, उप्रेती र तिम्सिनामध्ये एक जनामात्रै पर्ने भएको कारण उनीहरुबीच तीब्र प्रतिस्पर्धा र छेडखानी सुरु भएको हो । तिम्सिनाले मन्त्री पद नपाए सभामुखमा दाबी गरेको बताइएको छ ।