विराटनगर । कोशी करिडोर प्रसारणलाइन आयोजनाअन्तर्गत अन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको २२० केभी सबस्टेसन सञ्चालनमा आएको छ ।
नेपाल विद्युत प्राधिकरणले २२०–१३२–३३ केभी क्षमताको वसन्तपुर सबस्टेसन आइतबार चार्ज गरी सञ्चालनमा ल्याएको हो ।
आयोजना अन्तर्गत सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङ्टार तथा बानेश्वर २२० केभी सबस्टेसन गत वर्षको साउनदेखि नै सञ्चालित छन् । सबस्टेसन निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग २०७५ को असारमा २ करोड ६१ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा र भोजपुर जिल्लामा निजी क्षेत्रले निर्माण गर्ने विद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न पूर्वाधार तयार भएको बताएका छन् । पहाडी जिल्लाहरुमा उत्पादित विद्युत् इनरुवा सबस्टेसनमार्फत मोरङ र सुनसरी जिल्लामा आपूर्ति हुने भएको छ ।
वसन्तपुर सबस्टेसनमा तुम्लिङ्टार र ताप्लेजुङको ढुङ्गेसाँघु सबस्टेसनबाट विद्युत् आउनेछ । वसन्तपुरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित इनरुवा सबस्टेसनसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरी टावरको एकतर्फ मात्र तार तानेर लाइन सञ्चालनमा ल्याइएको छ ।
इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारणलाइनको लम्बाइ १०५ किलोमिटर छ । डबल सर्किट टावर निर्माण गरिएको भएपनि हाल सिंगल सर्किट तार मात्र तानी लाइन सञ्चालनमा ल्याइएको छ ।
नेपाल सरकारको लगानी र भारत सरकारको निर्यात एक्जिम बैकको सहुलितपूर्ण ऋणमा कोशी करिडोर २२० केभी प्रसारणलाइन आयोजना अन्तर्गत सबस्टेसन र प्रसारणलाइनको निर्माण गरिएको हो । अरुण तथा तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण हुने र भइरहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत कोशी करिडोर २२० केभी प्रसारणलाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिनेछ ।
कोशी करिडोर अन्तर्गत वसन्तपुर–ढुङ्गेसाँघु खण्ड प्रसारणलाइन र ढुंगेसाँघुमा १३२ केभी सबस्टेसन निर्माणाधीन छ । करिब ३४ किलोमिटर डबल सर्किट प्रसारणलाइनमा पर्ने १२८ वटा टावरमध्ये ६ वटाको मात्र निर्माण बाँकी छ ।
वसन्तपुर–ढुङ्गेसाँघु २२० प्रसारणलाइनको अर्को सर्किट निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भइसकेको छ । नेपाल सरकार र प्राधिकरणको लगानीमा भइरहेको उक्त काम आगामी फागुनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
ढुङ्गेसाँघु सबस्टेसनको निर्माण सकिएपछि निर्माणको अन्तिम चरणमा रहेका ७३–७३ मेगावाटका मध्य तमोर र मध्य मेवाखोला जलविद्युत् आयोजनाहरु जोडिनेछन् । प्रशारण लाईन र सवस्टेशन ११ करोड २० लाख अमेरिकी डलर लगानीमा निर्माण भएको हो ।
कोशी करिडोर प्रसारणलाइन आयोजनामार्फत तुम्लिङटारदेखि वसन्तपुरसम्म एक हजार मेगावाट, ढुङ्गेसाँघुदेखि वसन्तपुरसम्म एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब २ हजार मेगावाट विद्युत प्रसारण गर्न सकिन्छ । कोशी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारणलाइन हो ।