विराटनगर । व्यक्ति हत्या गरेर लुक्दैछिप्दै बसेका मोरङका दुई जना अभियुक्त मंगलबार १६ वर्षपछि पक्राउ परेका छन् ।मोरङको मिक्लाजुङ गाउँपालिका –१ का ५० वर्षे धनकुमार राई र सोही ठाउँका ७० वर्षे देविप्रसाद राईले जवानीमा गरेको अपराधको सजाय १६ वर्षपछि भोग्नु पर्ने अवस्था आएको छ ।
उनीहरुले २०६४ जेठ २० गते राती मोरङ रमितेखोला–४ हाल मिक्लाजुङ गाउँपालिका वडा नं.१ बस्ने जाहेरवाला सुकजित राईको दाजु ३५ वर्षका सन्तोष राईलाई धनकुमार राई समेतले कुटपिट गरि हत्या गरेको आरोप छ । हत्या गरेपछि उनीहरुले जंगलमा लगी शव गाडेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । अनुसन्धानपछि २०६७ सालमा मोरङ अदालतको फैसलाले धनकुमार र देविप्रसादलाई पाँच वर्ष कैद सजायँ ठहर गरेको थियो । उनीहरुले अपराध गर्दा धनकुमारको उमेर ३४ वर्ष थियो भने देवीप्रसाद ५४ वर्षका थिए ।
उनीहरुले अपराध गरेको १६ वर्षपछि मंगलबार पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । प्रहरीले उनीहरुलाई पक्राउ गरेपछि मोरङ अदालत बुझाएर कैद भुक्तानको लागि मोरङ कारागार पठाएको छ ।यसअघि पनि प्रहरीले खुन डाँका मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय तोकिएको अभियुक्तलाई मोरङ प्रहरीले ३६ वर्षपछि पक्राउ गरेको थियो । प्रहरीले कटहरी गाउँपालिका ७ का ८७ वर्षे विश्वास चौधरी थारु ३६ वर्षपछि खुनडाँका मुद्दामा पक्राउ परेका थिए । ०४२ सालमा थारु विरूद्ध जिल्ला अदालत मोरङमा खुनडाँका मुद्दा परेको थियो । त्यतिबेला उनी ५१ वर्षका थिए । २०६१ जेठ १८ गते जिल्ला अदालतले चौधरीलाई सर्वस्वसहित जन्मकैदको सजाय तोक्यो । जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन हुँदै मुद्दा सर्वोच्चसम्म पुग्यो । २०६४ साउन १० गते सर्वोच्चले जिल्लाकै फैसलालाई सदर ग¥यो । अर्थात् चौधरीले सर्वस्वसहित जन्मकैदको सजाय बेहोर्नु पर्नेभयो ।सर्वोच्चको अन्तिम फैसलापछि पनि चौधरी १८ वर्ष घरमै बसे । त्यतिबेला प्रहरीले उनलाई फरार सूचीमा राख्यो । ३६ वर्षअघिको मुद्दामा बल्ल भदौ ९ गते उनी पक्राउ परे । ८७ वर्षको गलेको शरीर लिएर चौधरी अहिले जेलमा पुगेका छन् ।
यस्तै विराटनगर महानगरपालिका ३ का ८५ वर्षे धर्मध्वज थापाको घरमा २०४२ साल भदौ १८ गते राति डकैती गर्न एउटा समूह पसेको थियो । धर्मध्वजकी श्रीमती जीवनदेवीको हत्या गर्दै धनमाल लुटेर डाँका समूह फर्कियो । धर्मध्वजले चौधरीसहित १४ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले घटनामा संलग्न १४ जनाविरुद्ध खुनडाँका मुद्दा चलायो । अदालतले सबैलाई दोषी ठहर गर्दै घटना भएको १९ वर्षपछि (२०६१ सालमा) कैद सजाय र जरिवानाको फैसला सुनायो । अदालतको फैसलापछि प्रहरीले उक्त घटनामा संलग्न ६ जना पक्राउ गरेको थियो
।
यी घटनाहरुले ढिलो चाँडो गलत काम गर्नेहरू कानुनी दायरामा आउँछन् भन्ने देखाएको छ । मोरङ प्रहरीले चालु आर्थिक वर्षको चार महिनामा १६३ जना फरार प्रतिवादी पक्राउ गरेको डिएपी दाहालले बताए । पक्राउ परेका मध्ये फौजदारी कसुरका प्रतिवादीहरु बढी छन् ।
प्रहरीले साउनदेखि कात्तिकसम्म फौजदारी कसुरका १४१ र देवानीका २२ जना फरार प्रतिवादी पक्राउ गगरेको जनाएको छ । १६३ जना फरार अभियुक्त पक्राउ गर्दा प्रहरीले ४३ वर्ष, ११ महिना र ६० दिन कैद सजाय असुल गराउन सफल भएको छ । उनीहरुबाट ३५ लाख ३८ हजार ६०२ रुपैयाँ जरिवाना असुल गरेको मोरङ प्रहरीले जानकारी दियो ।
त्यसैले पुराना, अधुरा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गरी घटनामा संलग्न प्रतिवादीहरु पक्राउ गर्न फरार प्रतिवादी पक्राउ अभियान नै सुरू गरिएको मोरङ प्रहरीका प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । ‘अदालतको फैसला कार्यान्वायनलाई प्राथमिकतामा राखी फरारी पक्राउ अभियान सुरु गरिएको हो,’ उनले भने, ‘अभियान सुरु भएपछि चालु आर्थिक वर्षको कार्तिक ६ गतेसम्म १६३ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।’
अभियानका माध्यमवाट अपराध गरेर जतिदिन लुकिछिपि बसेपनि तोकिएको कैद वा जरिवाना भुक्तान नगरी छुट हुँदैन भन्ने सन्देश दिन सफल भएको उनले बताए । ‘अपराध गरेपछी सजाय अनिवार्य छ र कुनै पनि बहानामा बच्न सकिदैन भनेर समाजमा सन्देश दिन र यसैका माध्यमबाट समाजमा अपराधको न्युनीकरण गर्न सचेतना फैलाउन सफल हुने आशा गरिएको छ,’ एसपी पोखरेलले भने । जिल्लाको समग्र शान्तिसुरक्षा कायम राखेर अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानमा प्रहरी परिचालन हँुदै कानुनप्रतिको आडभरोसा कायम राख्न र पीडितलाई न्यायको अनुभूति दिन प्रहरी सक्रिय रहेको एसपी पोखरेलले बताए । ‘पीडक पक्षलाई कानुनबाट भाग्न वा बच्न सकिँदैन भन्ने डर पैदा गर्न संचालित फरार अभियुक्त पक्राउ अभियानलाई मोरङ प्रहरीले प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ,’ एसपी पोखरेलले भने ।

