भीडलाई छोडेर प्रसाई सुटुक्क हिँडेपछि बल्खुमा झडप

काडमाढौं । व्यवस्था परिवर्तन गर्न काठमाडौंमा जम्मा गरेको भीडलाई बल्खुमा अलपत्र छाडेर दुर्गा प्रसाईं बल्खुबाट बाहिर निस्किएपछि सो क्षेत्रमा झडप भएको छ ।

बिहीबार करिब १ः३० बजेतिर बल्खु पुगेका प्रसाईले छोटो सम्बोधन गरेपछि २ बजे बाहिर निस्किएका थिए ।

प्रसाईं हिँडेपछि चर्को नाराबाजी गरिरहेको समूह ‘सिंहदरबार घेर्न’ जाने भन्दै बल्खुबाट कुलेश्वरतर्फ लागेपछि प्रहरीले रोकेको थियो । प्रसाई हिँडेपछि एक व्यक्तिले माईकबाट ‘अब निषेधित क्षेत्र तोडेर सिंहदरबार जाने’ बताएपछि भीड अगाडि बढेको थियो ।

कुलेश्वरतर्फ जान लागेको भीडलाई नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास प्रहार गर्‍यो । त्यसपछि प्रदर्शनकारी केहीबेर पछि हटेकोमा फेरि अघि बढेपछि प्रहरीले अश्रुग्साय र पानीको फोहरा चलायो । त्यसपछि आन्दोलनकारी तितरबितर भएका छन् ।

सयौंको संख्यामा उपस्थित भए पनि विरोध कार्यक्रम व्यवस्थित नहुँदा प्रदर्शनकारीहरू अन्योलमा परेका थिए । एउटा जुलुस बल्खु आउन नपाउँदै प्रसाईंले सम्बोधन गरिसकेका थिए । भीड जम्मा भए मञ्चको कुनै व्यवस्था थिएन । कार्यक्रममा प्रसाईं र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले पनि भीडलाई संक्षिप्त सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा प्रसाईंले राजनीतिक दलका नेताको चर्को आलोचना गरेका थिए । उनी हिँडिसक्दा पनि अधिकांशले कार्यक्रम सकिएको पत्तै पाएनन् । प्रसाईंले भोलि पनि प्रदर्शन गर्ने बताएका छन् ।

बिहिबार, ०७ मंसिर, २०८०, दिउँसोको ०४:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर