विराटनगर । धनकुटाको निगालेमा एकै घरमा तीन जनाको शव फेला परेको घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । धनकुटा नगरपालिका १ निगालेमा आज बिहान एकै परिवारका तीन जनाको शव फेला परेको थियो । जसमा ३५ वर्षका टिकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षकी भीमा गुरुङ र १० वर्षका छोरा आयुषको शव रहेको प्रहरीले जनाएको छ ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार टिकारामले आफ्नी ६ वर्षीय छोरी आशिकालाई भने हिंजो साँझै छिमेकीकोमा जिम्मा लगाएको खुलेको छ । ‘घटनास्थलको मुचुक्का भइरहेको छ । अब हामी पोष्टमार्टमतिर लैजान्छौं । अनुसन्धान अगाडि बढ्छ । सिधै यसो हो भन्न सक्ने अवस्था भएन,’ उनले भने, ‘६ वर्षको नानीलाई भने टिकारामले साँझै लहैं सुताइदिनु त भनेर छिमेकीलाई भनेको खुल्यो । तर, हत्या गर्ने, आफूले आत्महत्या गर्ने योजना थियो कि थिएन भन्ने कुरा भने पछि थाहा हुन्छ ।’

आशिका भने सकुशल रहेको पौडेलले बताए । उनीहरु आफ्नै घरभित्र मृत फेला परेका हुन् । प्रहरीले भने टिकारामले श्रीमती भीमा र छोरा आयुषको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको हुनसक्ने आशङ्का गरेको छ । प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको जनाएको छ । श्रीमान् श्रीमतीबीचको झगडाका कारण उक्त घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।