धरान । कोशी प्रदेश सरकारले गौरवको योजना अन्तर्गत सुरु गरेको भोजपुरलाई तराईका जिल्लाहरूसँग जोड्ने चुहार पुलको काम अलपत्र बनेको छ ।

भोजपुरको हतुवागढी गाउँपालिका–९ हसनपुर र बेलका नगरपालिका–७ मैनामैनीलाई जोड्ने चुहारस्थित दूधकोसी नदीमा तीन वर्षअघि निर्माण सुरु गरिएको पुल निर्माण गर्ने सम्झौता अबधि सकिएपनि काम अलपत्र छ ।

तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने पुल अलपत्र पर्दा गाउँका कृषि उत्पादनले बजार पाउन सकेका छैनन् । स्थानीयले बिरामी पर्दा अस्पताल पुग्न पनि कष्ट भोग्नु परेको छ । पुल नबन्दा भोजपुरबाट सिँधुवा धनकुटा हँुदै धरान पुग्न लामो बाटो र धेरै समय लाग्ने गरेको छ ।

२०७७ असोज २६ मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेको यो पुल दुई वर्षभित्र अर्थात् २०७९ कात्तिकसम्ममा निर्माण सम्पन्न गर्नेगरी कालिका प्यासिफिक जेभीले ठेक्का लिएको थियो । समयमा पुल निर्माण नगरेपछि पछिल्लो पटक २०८० असोज १३ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी म्याद थपिएको थियो ।

गत चैतमा नेकपा एमालेकी कोशी प्रदेश सांसद सिर्जना राई, पूर्वमुख्यमन्त्री शेरधन राईसहितको ठेकेदारसँग भएको बैठकले असोज १३ सम्ममा काम सक्नेगरी निर्माण अघि बढाउने सहमति गरेको थियो । आफूहरुको पहिलमा पुल निर्माणको काम सम्पन्न हुने निश्चित भएको प्रचार सांसद राईले गरेकी थिइन् ।

तर, सो म्याद सकिँदासमेत काम अघि बढेको छैन । कोशी प्रदेश सरकारको २१ करोड २३ लाख १२ हजार ४०७ रुपैयाँ लागतमा निर्माण थालिएको पुल अलपत्र पर्दा त्यस क्षेत्रका बासिन्दाले धरानसम्म आइपुग्न करिब १५४ किलोमिटर लामो यात्रा गर्नुपर्ने अवस्था छ । ९० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको पुलको २५ प्रतिशत पनि काम नसकिएको स्थानीयले बताएका छन् ।

पुल बने सुनसरी, उदयपुर, भोजपुरदेखि सङ्खुवासभाको किमाथाङ्कासम्म जोडिने भएकाले समग्र प्रदेशकै लागि फाइदाजनक हुने बताइन्छ ।