उद्योगीहरुले चाहेमा तुरुन्त कार्गो रेल सञ्चालन

विराटनगर । एकीकृत भन्सार जाँच चौकी विराटनगरसम्म एक पटक कार्गो बोकेर आएको रेल फर्किएपछि फेरि नेपाली भूमिमा आइपुगेको छैन । भारतबाट आयात हुने कार्गो रेलबाट ढुवानी गर्दा लागत सस्तो पर्ने भन्दै उद्योगीहरुले निरन्तर रेल वे निर्माण गर्न दबाब दिने गरेका थिए । तर जब नेपालसम्म रेल ल्याउन सकिने अवस्था बन्यो त्यसपछि भने न उद्योगीहरुले रेलमा सामान ल्याउन इच्छा गरे न त भारतीय रेल नै कार्गो लिएर नेपाल फर्कियो ।

जोगवनी भएर नेपाल तर्फ कार्गो रेल सञ्चालन नियमित नभएपछि नेपाल भारत उद्योग वाणिज्य संघ, कोशी प्रदेशको प्रतिनिधि मण्डलले भारतको जोगबनी कष्टमका प्रमुख विकाश श्रीवास्तवलगायत अन्य अधिकारीहरूसँग भेटघाट गरी नेपालतर्फको कार्गो रेल सञ्चालनका विषयमा छलफल गरेको छ । छलफलका क्रममा नेपाल–भारत व्यापार तथा पारवहन सन्धि अन्तर्गत हालसम्म तेस्रो मुलुकबाट क्लिंकर, रासायनिक मल, कोइला र सिमेन्ट गरी चारवटा वस्तुहरू मात्र कार्गो रेलमार्फत ल्याउन अनुमति रहेको र त्यसको व्यवस्थापन गर्ने जिम्मेवारी ट्रान्स नेपाल फ्रेट सर्भिसेज प्रा.लि.ले लिएको जानकारी दिइएको छ । उक्त कम्पनीले रेल वे बाट कार्गो ल्याउन सकिने गरी काम गरिरहेको छलफलमा जानकारी दिइएको थियो । छलफलमा उद्योगीहरुले सहमति दिएमा तुरुन्त रेल सञ्चालन गर्न सकिने बताइएको थियो ।

ट्रान्स नेपाल फ्रेट सर्भिसेजका प्रबन्ध निर्देशक मुकेशकुमार राठीका अनुसार कार्गो रेल सञ्चालनका लागि आवश्यक पर्ने उपकरण र जनशक्ति आइसकेका छन् । “हामीलाई उद्योगीहरूको कन्साइनमेन्ट प्राप्त भएमा तुरुन्तै कार्गो रेल सञ्चालन गर्न सकिन्छ,’ उनले भने । भारतीय भन्सारका अधिकारीहरूले भारतीय रेलवेसँग सामान्य प्रक्रिया पूरा गर्न केही समय लाग्ने र त्यो प्रक्रिया चाँडै सम्पन्न हुनासाथ कलकत्ता हल्दिया पोर्ट र विशाखापट्नम पोर्टबाट सिधै नेपाल कस्टम यार्डमा कार्गो रेल सञ्चालन हुने जानकारी दिए ।

भारतीय भन्सार जोगबनीका प्रमुख विकाश श्रीवास्तवले भने, “रेल सञ्चालनमा आएपछि सबै प्रकारका वस्तुहरू रेलमार्गबाट ल्याउन सम्बन्धित निकायहरूसँग समन्वय गरी पहल गर्नुपर्ने हुन्छ ।” उनले यसका लागि दुवै देशका सम्बन्धित निकायहरूबीच नियमित संवाद र समन्वय आवश्यक रहेको बताए ।

छलफलको क्रममा प्रतिनिधि मण्डलले नेपाल–भारत सीमामा रहेका अन्य समस्याहरूको बारेमा पनि भारतीय भन्सार अधिकारीहरूलाई अवगत गराएको थियो । छलफल कार्यक्रममा नेपाल भारत उद्योग वाणिज्य संघ, कोशी प्रदेश, बिराटनगरका अध्यक्ष मुकेश उपाध्यायको नेतृत्वमा संस्थापक अध्यक्ष ललितकुमार लोहिया, कार्यसमिति सदस्य मुकेश कुमार राठी, अरुण खेतान र कार्यालय सचिव गोविन्द ढकाल सहभागी थिए ।

दुई देशबीचको व्यापारिक सम्बन्ध सुदृढ बनाउन र आयात–निर्यातलाई सहज बनाउने उद्देश्यले गरिएको यो पहलले आगामी दिनमा कार्गो रेल सञ्चालनमा देखिएका अवरोधहरू हट्ने र व्यापारिक गतिविधिहरू अझ सहज हुने अपेक्षा गरिएको छ ।

बुधबार, २४ बैशाख, २०८२, बिहानको ०७:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर