विराटनगर । झापाका दुर्गा प्रसाई विवादास्पद व्यवसायी हुन् । ५३ वर्षे उनै प्रसाईंले मंसिर ७ मा गर्ने काठमाडौं केन्द्रित प्रदर्शनले देशभर चर्चा पाइरहेको छ । तर, सुरक्षा निकायले भने उनको कार्यक्रमलाई सामान्य रुपमा लिएको छ ।
आन्दोलन, संघर्ष र युद्धका विराट इतिहास बनाएका राजनीतिक दलहरु बद्नामी र हावादारी कहलिएका प्रसाईजस्ता पात्रबाट डराउनु पक्कै पनि राम्रो विषय होइन । बरु, दलहरुको नैतिक तागत कमजोर बन्दै जाँदा प्रसाईजस्ता बद्नाम पात्रहरुले देशमा तरंग पैदा गरिरहेका छन् ।
यद्यपी प्रसाईलाई समर्थन गर्ने, प्रसाईको पछि कुद्नेहरुको अनुहार र चेहरा कुनै गतिलो छैन, जसले देशको मुहार फेरोस् । दुर्गा प्रसाईं आफैं पनि सोचेर, बुझेर र दीर्घकालिन सोच राखेर अभियान चलाइरहेको बुझिँदैन । उनी बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन नदिँदा ऋणमा डुबेको कारण ‘बर्बराइरहेको’ कतिपय बताउँछन् ।
प्राप्त विवरण अनुसार प्रसाईँले विभिन्न बैंकबाट हालसम्म ६ सय करोड (६ अर्ब)बढी ऋण लिएका छन् । उनको आन्दोलन भने २० लाखसम्मका ऋण मिनाहा गराउने छ । प्रसाईले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, नविल बंैक, राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी विकास बैंक र गुडविल फाइनान्सलगायतले ऋण दिएका छन् ।
उनले हाल झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा बिएण्डसि हस्पिटल, सोही ठाउँमा पूर्वाञ्चल क्यान्सर अस्पताल, बिर्तामोड–६ स्थित तक्षशिला एजुकेसन फाउन्डेसन, बिर्तामोड–३ मा निर्माणाधिन होटल एट्रियम तथा क्यासिनोमा उक्त ऋण लगानी गरेका छन् । उनले गत वर्षको पुस महिनादेखि अहिलेसम्म ऋणको साँवा, ब्याजको किस्ता तिरेका छैनन् ।
महालेखा परीक्षणको कार्यालयका अनुसार मालपोत कार्यालयमा ८ करोडको थैली राखेर किनबेच गरेका ६ विघा जमिनलाई बैंकहरुले २२ गुणासम्म बढी धितो मूल्याङ्कन गरेर प्रसाईलाई ऋण दिएका छन् । तर, प्रसाईले ऋणको किस्ता नतिर्दा बैंकहरु अहिले छट्पटाइरहेका छन् । प्रसाई भने आफूले ऋण तिर्ने वातावरण नै नभएको बताउँछन् ।
प्रसाईको विगत हेर्दा हावादारी कुरा गर्ने र अविश्वासीको छवि देखिन्छ । ‘उनी बेलायती रबिन हुड, ग्रिक मिथकका हर्कुलस र अमेरिकी कमिक्सका स्पाइडर म्यानका कल्पनाका नक्कली डमी हुन्’ लेखक तथा विश्लेषक भवानी बराल भन्छन्, ‘वर्तमानमा उनको अभियानमा हेलिँदा आत्मरति वा मुतको न्यानो त होला तर समयमा हातमा लाग्यो शून्य नै हुनेछ । न भुतो न भविष्यतिः।’
को हुन् प्रसाई ?
प्रसाईमा हठी स्वभाव रहेको उनको प्रस्तुती र अभिव्यक्तिबाटै देखिन्छ । २०२७ वैशाख २० गते जन्मिएका उनले ८ कक्षासम्म मात्रै अध्ययन गरेका छन् । सुरुमा उनी गृल उद्योगमा काम गर्ने मजदुर रहेको बताइन्छ । त्यसपछि वैदेशिक रोजगारीमा गएका उनी त्यहाँबाट फर्किएर बैंकबाट ऋण लिएर भैंसी पालन गरेका थिए ।भैंसी पालनमा सफल नभएपछि उनले बैंकलाई भैंसी नै लगेर बुझाउने प्रयास गरेका थिए । यस्तै उनले किनेर ल्याएका भैंसीको मूल्य भैंसी व्यापारीलाई पनि नतिरेको बताइन्छ ।
काँग्रेस पृष्ठभूमिका प्रसाईले विवाह गरेपछि ससुरालीतर्फको जग्गा आफ्नो हातमा ल्याउनका लागि माओवादीसँग नजिक बने । उनले माओवादीका कार्यकर्ता प्रयोग गरेर सालोसँग मिलेर सासु–ससुरालाई भौतिक हमला गर्नेसम्मको धाकधम्की दिएका थिए । त्यसपछि उनले ससुरालीबाट विर्तामोड ५ मा रहेको करिब ४ विगाहा जग्गा प्राप्त गर्न सफल भए ।
सोही जग्गामध्ये केही विक्री वितरण गरि प्रसाईले बिर्तामोड, भक्तपुर र काठमाडौंमा समेत प्लटिङ व्यवसाय सुरु गरे । त्यसबेला उनले प्लटिङबाट करोडौं रुपैयाँ कमाएका थिए । यस्तै ससुरालीबाट प्राप्त केही जग्गामा उनले बिएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पताल पनि निर्माण गरे । त्यसपछि उनले बैंकबाट सोही सम्पत्ती धितो राखी करोडौं ऋण लिन सफल भए ।
सुरुमा काँग्रेस र काँग्रेसपछि माओवादी बनेका प्रसाई नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेको नेकपा फुटेपछि भने नेकपा एमाले प्रवेश गरे । उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘हजुरबा’को साइनो लगाएर थुप्रै स्वार्थ सिद्ध गर्ने कोशिस गरे ।
बैंकहरुले चर्को ताकेता गर्न थालेका कारण ओलीको पछि लागेर उनले अस्पताललाई लिलाम हुनबाट जोगाउने र मेडिकल कलेज सञ्चालनको लागि सम्बन्धन दिलाउने प्रयास गरे । अस्पताललाई लिलाम हुनबाट जोगाउने उनको चाहना पुरा भएपनि ओलीबाट मेडिकल कलेजलाई सम्बन्धन दिलाउन भने सकेनन् । त्यही रिसले उनी अहिले राजावादीसँग साँठगाँठमा लागेका हुन् ।
को छन् उनका सहयोगीहरु ?
राजावादीसँग निकट हुन उनले २०७९ फागुन १ गते झापामा पूर्वराजालाई उपस्थित गराउँदै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ अभियान अन्तर्गत मेची महाकाली अभियान सुरु गरे । कार्यक्रममा ज्ञानेन्द्र साहसहित धर्म गुरु पुष्कर खतिवडा, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट, धार्मिक अभियान चलाइरहेका किशोरी महत्तो, दिपेन्द्र कडेँल लगायतको उपस्थिति थियो ।
त्यही दिनदेखि उनले बैंक तथा वित्तीय संस्था पीडित, राजावादी, हिन्दूवादीलगायतलाई प्रभावमा पार्दै कार्यक्रम गरिरहेका छन् । फागुन २० गते उनले काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि आन्दोलनको कार्यक्रम तय गरेका थिए । उनलाई त्यसबेला कोशी प्रदशेका श्रीखण्ड आयूर्वेदिक कम्पनीका कोशी प्रदेश प्रमुख सुजनराज सिवाकोटी र सोना गेलाल तथा राष्ट्रवादी शक्तिका गिरिराजमणि पौडेलले सहयोग गरेका थिए ।
त्यसपछि प्रसाईले २०८० कार्तिक २३ गते झापा बिर्तामोडमा खबरदारी आमसभा गरे । जुन कार्यक्रममा किराँत लिम्बुवान प्रदेश नामाङ्कन अभियानका केन्द्रीय संयोजक प्रेमदिप थाम्सुहाङ लिम्बू र धर्मगुरु श्रीनिवास आचार्य, पुष्कर खतिवडा, अभियन्ता सतिस पोख्ररेललगायतको उपस्थिति थियो । त्यहाँ करिब ५ सयदेखि छ सय मानिसको उपस्थिति थियो ।
त्यसको भोलीपल्ट प्रसाईले भारतको पश्चिम बंगाल, सिलगुढीस्थित सिङ्कलेयर्स होटलमा मङ्गल माइती पब्लिक चेरिटेबल ट्रष्टको आयोजनामा कार्यक्रम गरे । सो कार्यक्रममा ट्रष्टका अध्यक्ष सन्तोष खड्का, सिक्किम डेमोक्रेटिक फ्रन्टका तर्फबाट सिक्किम विधायीसभाका सभामुख समेत बनेका केदारनाथ राईको उपस्थिति थियो । यस्तै सिक्किमका पूर्व स्वास्थ्य मन्त्री डा. एम.के शर्मा, स्वास्थ्य उद्यमी दुर्गा प्रसाईं, गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्टे«सनका सभासद कल्पना प्रधान, प्राध्यापक डा. सरला लामा, डा. बिना बस्नेत, गोपाल लामालगायतको उपस्थिति भएपनि आम सर्वसाधरण भने डेढ सयको हाराहारीमा थिए ।
गत कार्तिक २८ गते प्रसाईले जनकपुरमा कार्यक्रम गरे । राष्ट्रभक्ति राष्ट्र केन्द्रित शक्ति नेपालको आयोजना हिन्दू सम्राट सेना नेपाल, शिव सेना, नेपालका लागि नेपाली पार्टीको सहआयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रममा राष्ट्रभक्ति राष्ट्र केन्द्रित शक्ति नेपालको धनुषा अध्यक्ष सोनेलाल चौधरी, दुर्गा प्रसाई, भारतका प्रधानमन्त्री नारेन्द्र मोदीका पूर्वसुरक्षाविद् डा.आरपि सिंह, नेपालका लागी नेपाली पार्टीका केन्द्रीय अध्यक्ष सन्तोष पटेललगाएत धार्मिक गुरुहरू, विभिन्न मठ मन्दिरका सन्तमहन्थ उपस्थित थिए ।
प्रसाईले मङ्सिर ७ गते काठमाडौंमा हुने भनिएको प्रदर्शनको पूर्व तयारीस्वस्प विभिन्न ठाउँमा मोटरसाईकल र्याली तथा खबरदारीसभा गर्दै आएका छन् । आफ्नो प्रचारको लायि युट्युव सञ्चालन गर्नेहरुलाई प्रयोग गरिरहेका छन् । उनले बोल्ने हरेक शब्दहरुमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले चाहेका र रमाउने तर्क कुतर्क प्रस्तुत गर्दछन् ।
पछिल्लो समय उनी ‘सामाजिक संजालको सेन्टर अफ एट्रयाक्सन’मा रहन खोजेका छन् । सुरक्षा निकायले उनलाई सहयोग गर्नेहरुको नाम पनि टिपोट गरेको छ । जसमा धर्मगुरु श्रीनिवास आचार्य, धर्मगुरु पुष्कर खतिवडा, राष्ट्रिय शक्ति नेपाल अध्यक्ष केशरबहादुर विष्ट, नेपाली काँग्रेसका सांसद सुनिल शर्मा, पूर्वजेसिज केन्द्रिय अध्यक्ष अर्जुन प्रसाईं, खेमराज सेढाई, हिन्दू सम्राट सेना अध्यक्ष राजेश यादव (सनातनी), राष्ट्रवादी शक्तिका नेता लिप्सन बास्तोला, गिरिराजमणि पौडेललगायत राजावादी र केही हिन्दुवादीहरू लागेका छन् ।
प्रसाईले अहिले पनि महंगो सवारी साधनहरु प्रयोग गर्छन् । उनीसँग प्रदेश–०३–०१ ०२४ च १०१ नम्बरको ल्याण्डक्रुजर, प्रदेश–१–०१–००१ च ९१९५, बा १४ च ९३९५ र मे १ च ४४३९ नम्बरका तीन स्कारपियो रहेका छन् ।
मंगलबार ५०० काठमाण्डौ गए
यसैबीच मंसिर ७ गते मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँले गर्ने भनिएको कार्यक्रममा कोशी प्रदेशबाट ५०० जना काठमाडौँ गएको सुरक्षा स्रोतले जनाएको छ । ७ गते हुने भनिएको कार्यक्रममा मंगलबार प्रदेशभरीबाट ५०० गएको तथ्याङ्क रहेको सुरक्षा उच्च स्रोतले जनाएको छ ।
प्रसाईँ कोशी प्रदेशकै हुन् । प्रसाईँले घोषणा गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ नाम दिएर कार्यक्रम गर्ने घोषणा गरेका छन् । ‘मिटर ब्याजका पीडितहरू २०० जति केही दिनअगाडि नै काठमाडौँमा गएका छन्,’ सुरक्षा निकायका एक अधिकृतले भने ‘५ गते साँझसम्ममा ५०० जति काठमाडौँमा गएका छन् । भोलिसम्ममा प्रसाईँकै गृह प्रदेशबाट थप एक हजार जाने बुझेका छौ । ’
मधेस प्रदेशबाट बढी मानिस सहभागी हुनसक्ने सुरक्षा निकायको अनुमान छ । मिटर ब्याजका पीडितहरू मधेसमा धेरै भएकाले त्यहाँबाट धेरै सहभागी हुनसक्ने सुरक्षा निकायको विश्लेषण छ । पार्टीका नेताहरूसँग असन्तुष्ट र मिटर ब्याजका पीडितहरू गरेर ७ हजारजति प्रसाईँको कार्यक्रममा सहभागी हुने सुरक्षा निकायको दाबी रहेको छ । काठमाडौँबाट थप ५ हजार सहभागी हुन सक्ने अनुमान रहेको छ ।
सुनसरीको चतराबाट प्रसाईँको कार्यक्रममा हिँडेको एउटा गाडी सुरक्षा निकायले फर्काएको बताइएको छ । काठमाडौँमा हुन सक्ने सुरक्षा सतर्कतालाई ध्यान दिएर काठमाडौँ जाने नाकाहरूमा कडाइ गर्न थालिएको सुरक्षा निकायले बताएका छन् ।

