भीपीएनबाट टिकटक चलाउँदा कस्तो जोखिम हुन्छ ?

विराटनगर । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)मार्फत धेरैले टिकटक चलाइरहेको सुनिन्छ ।

सरकारको निर्देशनपछि नेपालका सबैजसो इन्टरनेट सेवा प्रदायकले आफ्ना ग्राहकले टिकटक चलाउन नमिल्ने बनाइसकेको अवस्थामा टिकटक चलाइरहेको कतिपय प्रयोगकर्ताले बताएका छन् । उनीहले भीपीएन प्रयोग गरेर टिकटक चलाइरहेका हुन् ।

बुधबारसम्म नेपालमा करिब १ लाखको हाराहारीमा भीपीएन प्रयोग भइरहेको तथ्याङ्क कम्प्युटर एसोसिएन अफ नेपाल (क्यान)सँग छ । क्यानका महासचिव चिरञ्जिवी अधिकारीका अनुसार भिपिएनबाट टिकटकसहित सबैखाले प्रतिबन्धित साईट र एप चलाउन सकिन्छ ।

भीपीएन हामीले प्रयोग गर्ने उपकरण र अन्य कम्प्युटरबीचको इन्टरनेटलाई सुरक्षित सञ्जाल स्थापित गर्ने प्रविधि हो । यसले उपकरण र अन्य कम्प्युटरको बीचमा पुलको काम गर्छ । सामान्यतया हामी अनलाइन हुँदा हामीले प्रयोग गरिरहेको उपकरणबाट इन्टरनेट सेवा प्रदायकको माध्यम हुँदै इन्टरनेटको ठूलो सञ्जालमा जोडिन्छौं । तर, भीपीएनले हामीलाई अर्को एउटा कम्प्युटरमार्फत् इन्टरनेटको सञ्जालमा जोडिदिन्छ । यसले गर्दा हाम्रो परिचय गोप्य रहन्छ ।

अधिकांश भीपीएन कार्यालय प्रयोजनका लागि मात्रै प्रयोग गर्न मिल्ने गरी बनाइए पनि हाल आएर यसको पहुँच व्यक्तिगत रूपमा पनि हुन थालेको छ । खासगरी जुन वेबसाइटमा पहुँच पुर्याउन सकिँदैन त्यो वेबसाइटमा पहुँच पुर्याउनका लागि भीपीएन प्रयोग गरिन्छ । यसका लागि निःशुल्क र शःशुल्क भीपीएन उपलब्ध छ ।

साइबर सुरक्षा विज्ञका अनुसार साधारणतया भीपीएन सुरक्षित छैन । निःशुल्क प्रयोग गर्न मिल्ने भीपीएनको साटो पैसा तिरेर प्रयोग गर्न मिल्ने भीपीएनहरू केहि सुरक्षित हुने बताइन्छ ।

सित्तैमा पाइने भीपीएनबाट र्‍यानरमवेयर भाइरसहरू डाउनलोड हुने र त्यसले भीपीएनबाट चलाउने सबै नेकवर्कमा असर गर्ने बताइन्छ । यसले डिभाइसमा भएका अरू सामाजिक सञ्जाललाई असर पार्न सक्छ । सित्तैमा पाइने भीपीएनले अरू माल्वेअरहरू आएर हाम्रो डिभाइसमा बस्छ, जसले घरदेखि अफिससम्मको सबै डेटा चोरी हुने खतरा हुन्छ ।

कतिपय भीपीएनहरूले विभिन्न माध्यमबाट हामीले चलाउने उपकरणहरूमा स्पाइवेअर, माल्वेअरहरूलाई बाटो दिने माध्यमको रुपमा बनिरहेको हुन्छ । भीपीएनले हाम्रो सामाजिक सञ्जालका खाताहरू, कर्पोरेट अफिस, सरकारी कार्यालय, ब्याङ्किङ सूचनाहरू चोरीको जोखिम उच्च हुन्छ ।

ह्याकरहरूले इन्क्रिप्ट गरेर विभिन्न माध्यमबाट माल्वेअरहरू पठाउने भएकाले त्यसमा एक क्लिक हुनेबित्तिकै हाम्रोबाट सूचनाहरू चोरी हुने जोखिम उच्च हुने विज्ञहरुको भनाइ छ । भीपीएन प्रयोग गर्दा तस्वीरको माध्यमबाट कोडहरू पठाउँछ र भेरिफाइ गर्न लगाउँछ । हामीले त्यो कुरा सजिलै भेरिफाइ गर्नतर्फ लाग्छौं । सित्तैमा भीपीएन पाउने लोभमा यसबाट हाम्रा सूचनाहरू चोरी भइरहन्छ ।

भाइरसहरू र मलिशस कोडहरू एकदमै फैलिन्छन् । कसैले क्लिक गरेमा साथीहरूकोमा पनि पुग्नसक्छ र उनीहरूले त्यो क्लिक गरेर अझै फैलाउँछन् । त्यसपछि सबैको सिस्टम ह्याक हुने जोखिम हुन्छ ।

शुक्रबार, ०१ मंसिर, २०८०, बिहानको ११:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर