मोरङमा देउसी–भैलो राति १० बजेसम्म मात्रै

विराटनगर  । मोरङमा राति १० बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने भएको छ । रातको समयमा हुलदङ्गा र आपसी झगडा हुन सक्ने भन्दै प्रहरी प्रशासनले देउसी–भैलोका लागि निश्चित समय निर्धारण गरेको हो ।

गत वर्ष पनि १० बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाउने व्यवस्था थियो । यो वर्ष पनि तिहारमा १० बजेसम्म मात्र समय देउसी–भैलो खेल्न समय निर्धारण गरेको जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको सूचनामा उल्लेख छ । ‘१० बजेपछि देउसी–भैलो खेल्न नपाइने सूचना जारी गरिसकेको छ । पटका पड्काउन निषेध गरिएको छ ,’ जारी सूचनामा उल्लेख छ ।

देउसी–भैलो खेल्ने बहनामा राति आपराधिक गतिविधि पनि हुन सक्ने आशंका गर्दै प्रशासनले समय निर्धारण गरेको जनाएको छ । यस्तै तिहार मनाउने क्रममा आतिशबाजी, पटका, भुइँचम्पाजस्ता प्रज्वलनशील पदार्थको उत्पादन, आयात, बिक्री वितरण र प्रयोग नगर्नसमेत आग्रह गरेको छ ।

दीपावलीको समयमा पटकाको खरिद बिक्रीमा रोक लगाइएको र सीमा नाकामा सुरक्षा कडाइ तथा निगरानी समेत बढाइएको जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए । उनका अनुसार पटकाजन्य बस्तु ल्याउनेहरूलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ ।

 

शुक्रबार, २४ कार्तिक, २०८०, साँझको ०६:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर