विराटनगर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल मंगलबार अपरान्ह ५ बजे चीन भ्रमणमा जाँदैछन्।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा नेपाल नेतृत्वको १५ सदस्यीय टोली चीन भ्रमणमा जान लागेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
यसअघि नेकपा एमालेका महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि चीन भ्रमणमा गएका थिए।
अध्यक्ष नेपालको भ्रमण टोलीमा उनकी श्रीमती गायत्री आचार्य र कृषिमन्त्री बेदुराम भुसाल पनि छन्। अध्यक्ष नेपालको भ्रमण टोलीमा एकीकृत समाजवादीका १२ जना नेता कार्यकर्ता छन्।
यो टोलीमा कोशीदेखि सुदूरपश्चिमसम्मका नेताहरू सहभागी छन्। समाजवादीका अनुसार भ्रमण टोलीमा विद्या चाम्लिङ, शर्मिला पौडेल, सुधीर साह, विष्णु महतो, लोकबहादुर हमाल, अब्दुल हुसेन खान, मोहन गौतम, हर्कबहादुर सिंह, गणेश विक, विष्णु लम्साल, शमशेर लामा र प्रकाश ढकाल छन्।
अध्यक्ष नेपाल खुनमिङबाट बेइजिङ पुगेपछि सीपीसीको उच्च नेतृत्वसँग वार्ता हुनेछ। अध्यक्ष नेपालको टोली आगामी कात्तिक २८ गते काठमाडौं फर्किनेछ।