विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा प्रस्तावित वार्षिक बजेटको १० प्रतिशत रकम मात्र खर्च गरेको छ । पहिलो तीन महिनामा गाउँपालिकाले विभिन्न स्रोतबाट प्रस्तावित बजेटको ३३ प्रतिशत रकम प्राप्त हुँदा पहिलो त्रैमासिक सम्पन्न हुँदासम्म १०.५७ प्रतिशत खर्च गरेको हो ।

गाउँपालिकाले चालु वर्षको पहिलो ३ महिनामा ६ करोड ९९ लाख ७३ हजार २० रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ । यसमध्ये कर्मचारीको पारिश्रमिक र सुविधावापतको रकम मात्र झण्डै ५ करोड ५० लाख रुपैयाँ रहेको छ । यस अवधिमा गाउँपालिकाले २२ करोड ३५ लाख ६३ हजार ८३० रुपैयाँ आम्दानी गरेको छ । गाउँपालिकाले प्राप्त भएको आम्दानीको ३३ प्रतिशत रकम मात्र खर्च गरेको हो ।

गाउँपालिकाले पहिलो तीन महिनामा खर्च गर्ने तयारी गरेका अधिकांश कार्यक्रम सञ्चालन गर्न नसक्दा रकम खर्च नभएको हो । यस अवधिमा गाउँपालिकाले पुँजीगततर्फ ५१ लाख ८७ हजार ९२८ रुपैयाँ मात्र खर्च गरेको छ । ६ करोड भन्दा बढी रकम खर्च पुँजीगततर्फ १.९९ प्रतिशत रकम मात्र खर्च गरेको गाउँपालिकाले विविधतर्फ छुट्याएको ५३ लाख ९८ हजार रुपैयाँमध्ये ६ लाख ६१ हजार ९६५ रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाले तीन महिनामा घरभाडा बापत मात्र २ लाख २० हजार ८८० रुपैयाँ खर्च गरेको छ । यस्तै विभिन्न संघ संस्थालाई ४० हजार रुपैयाँ सहायता बाँडेको सार्वजनिक विवरणमा उल्लेख छ । गाउँपालिकाले असोज मसान्तसम्म अध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधि मण्डलको भ्रमणको नाममा १ लाख ६ हजार ४०० रुपैयाँ खर्च गरेको छ भने विभिन्न कार्यक्रमको नाममा २ लाख ५९ हजार रुपैयाँ खर्च गरेको छ । चालुतर्फको कार्यक्रम खर्चमा उसले यस अवधिमा ३४ लाख ४२ हजार रुपैयाँ खर्च गरेको छ । तालिम गोष्ठी र जनचेतनाका लागि भन्दै गाउँपालिकाले ८५ हजार रुपैयाँ खर्च गरेको जनाएको छ ।

कार्यालय सञ्चालन तर्फ ४ लाख, पत्रपत्रिका सूचना प्रकाशनमा ७ लाख १७ हजार, मसलन्दमा १ लाख ७१ हजार, मेसिनरी औजार मर्मतमा २ लाख ६६ हजार, सवारी साधन मर्मतमा ७८ हजार खर्च गरेको छ । इन्धन तर्फ गाउँपालिकाले तीन महिनामा झण्डै ६ लाख रुपैयाँ खर्च गरेको छ । कार्यालय प्रयोजनको इन्धनमा २ लाख ३९ हजार ५९५ रुपैयाँ खर्च गरेको छ भने पदाधिकारीका लागि मात्र यस अवधिमा ३ लाख ४५ हजार ६०७ रुपैयाँको इन्धन खर्च गरिएको छ । यस्तै पदाधिकारीको सुविधामा १८ लाख ५७ हजार १०८ रुपैयाँ खर्च गरेको गाउँपालिकाले पदाधिकारीको बैठक भत्ता मात्र ७२ हजार वितरण गरेको छ । अन्य भत्तामा ५० हजार रुपैयाँ खर्च भएको विवरण गाउँपालिकाले सार्वजनिक गरेको हो । यस अवधिमा कर्मचारीको पारिश्रमिक तर्फ सबैभन्दा धेरै रकम खर्च भएको छ । गाउँपालिकाले ५ करोड ४७ लाख ५७ हजार १५६ रुपैयाँ कर्मचारीको पारिश्रमिक तथा सुविधाका लागि खर्च गरेको हो ।

गाउँपालिकाले चालु वर्षको पहिलो तीन महिनामा संघीय सरकारबाट विभिन्न शीर्षकको अनुदानबाट १० करोड ९१ लाख १५ हजार रुपैयाँ आम्दानी गरेको छ । जसमा समानीकरण अनुदानबाट ३ करोड ३८ लाख ७५ हजार रुपैयाँ, चालु सर्शत अनुदानबाट ७ करोड ३ लाख ५६ हजार रुपैयाँ, सशर्त पुँजीगत अनुदानतर्फ ४८ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेको हो । यस्तै प्रदेश सरकारबाट ७५ लाख ४१ हजार २५० रुपैयाँ प्राप्त गरेको गाउँपालिकाले राजश्व बाँडफाँडबाट १ करोड २४ लाख ३७ हजार २६२ रुपैयाँ आम्दानी गरेको छ । आन्तरिक स्रोतबाट गाउँपालिकाले ९ करोड ४४ लाख ७० हजार ३१७ रुपैयाँ आम्दानी गरेको जनाएको छ ।

२२ करोड बढी आम्दानी गरेर ६ करोड खर्च गरेको गाउँपालिकाको बँैक खातामा भने ९ करोड ४४ लाख रुपैयाँ मात्र मौज्दात रहेको छ । अघिल्लो आर्थिक वर्षको ५ करोड रुपैयाँभन्दा बढी दायित्व भुक्तानी गर्नुपर्दा गाउँपालिकाको आम्दानी खाताको मौज्दात खुम्चिएको हो ।