विराटनगर । विराटनगरको खानेपानी संस्थानले वितरण गरेको धारामा लेदोसहितको धमिलो पानी आएपछि उपभोक्ताहरु समस्यामा परेका छन् । जनस्वास्थ्यलाई गम्भीर असर हुनेगरि लेदोसहितको धमिलो पानी धारामा आउन थालेपछि विराटनगर ४ का स्थानीयले धाराको पानी प्रयोग गर्नै छाडेका छन् ।
धारामा महिनौदेखि लेदोसहितको धमिलो पानी आएपनि संस्थानले समस्या समाधान नगरेपछि धाराको पानी प्रयोग गर्न छाडेको विराटनगर ४ कञ्चनबारीका त्रिलोचन गौतमले बताए । विकल्पको रुपमा चापाकलको पानी फिल्डर गरेर प्रयोग गर्दै आएको उनको भनाइ छ ।
‘धाराको पानी प्रयोग नगरेको महिनौं भयो । धारा खोल्यो धमिलो पानी मात्र आउँछ’ उनले भने, ‘लेदोसहितको पानी आउने समस्या समाधान गर्न देवकोटा चोकमा रहेको खानेपानी संस्थानको कार्यालय प्रमुखलाई ध्यानाकर्षण गराएको भएपनि अवस्था उस्तै छ ।’ खानेपानीको समस्याबारे जनप्रतिनिधिलाई पनि जारी गराएको भन्दै स्थानीयले कसैले वास्ता नगरेको गुनासो गरेका छन् ।
धमिलो पानी आएपछि स्थानीयले धारा प्रयोग गर्न छाडेका छन् । तर, प्रयोग नगरेको पानीको न्युनतम् महशुल भने महिनैपिच्छे तिर्दै आएका छन् । प्रयोग नगरेको पानीको महसुल तिर्न बाध्य रहेको विराटनगर ४ का अर्जुन चुडालले बताए । ‘कञ्चबारीमा फिल्टरसपना बोरिङबाट पानी तानेर संस्थाले सर्वसाधारणको धारामा पठाउने गरेको पाइएको छ’ उनले भने, ‘धमिलो पानी आएर समस्या भएपछि खानेपानी संस्थानदेखि वडा हुँदै महानगरपालिकासम्म गुनासो राखेपनि सुनुवाइ भएन ।’
जनस्वास्थ्यमा खेलवाड गरेको र महशुल मात्र लिएको भन्दै स्थानीयले अब संस्थानविरुद्ध अदालतमा गएर मुद्दा हाल्ने तयारी गरेका छन् । विराटनगर ४ मा खानेपानी संस्थानले वितरण गरेको पानी उपभोग गर्ने एक हजार बढी घरधुरी छन् । ती सबैको घरमा लेदोसहितको धमिलो पानी आउने गरेको छ ।
विराटनगर ४ का राजन भट्टराईको परिवारले पनि धारामा आएको पानी खाँदैनन् । धारामा फोहोर मिसिएको धमिलो पानी आउने गरेकाले प्रयोग गर्न छाडेको उनले बताए । धाराको पानीले कपडा धुँदासमेत दाग बस्ने गरेको उनको भनाइ छ । धाराको पानी प्रदूषित भएपछि स्थानीयले गाईवस्तुलाई पनि दिने गरेका छैनन् ।
खानेपानी संस्थानको धारामा फोहोर पानी आउँदा उपभोक्ता आफैंले जडान गरेको वा छिमेकीको ट्युबेलको पानी खान बाध्य छन् । सक्नेले विभिन्न खानेपानी कम्पनीका बोतल र जारको पानी प्रयोग गर्छन् ।स्थानीयले अब भने फोहर पानीको महसुल नतिर्ने बताएका छन् । ‘स्वच्छ पानी दिनुपर्ने भन्दै पटक–पटक खानेपानी संस्थानमा माग गरेपनि सुनुवाइ भएन’ चुडालले भने, ‘फागुनसम्म नखाएको पानीको पनि महसुल तिरेका छौं, अब भर्ने तिर्दैनौं ।’
विराटनगर ४ को वडा कार्यालय छेउमा खानेपानी संस्थानले बोरिङ गरेको छ । बोरिङसँगै फिल्टर नहुँदा आइरन भएको पानी गएको खानेपानी संस्थानले जनाएको छ । फिल्टर जडान गर्नको लागि जग्गा उपलब्ध गराइदिन महानगर र वडा कार्यालयलाई आग्रह गरेपनि जग्गा उपलब्ध नगराएकोले समस्या भएको खानेपानी संस्थानले दावी गरेको छ ।
फिल्टर राख्न संस्थानसँग बजेट भएपनि महानगरपालिकाले जग्गा उपलब्ध नगराउँदा गत वर्ष ५० लाख रुपैयाँ फ्रिज भएको संस्थानले जनाएको छ । ‘वडा कार्यालयको छेउमा र कर्मसियल एरियामा फिल्टर राख्न हुँदैन भनेर महानगरले भनेकोले ढिलाइ भएको सुनेका छौं’ स्थानीय अर्जुन अर्जुन चुडालले भने ।
विराटनगर ४ का वडाअध्यक्ष जितेन थापाले वडा कार्यालय आफ्नै भवनमा सरेपछि खानेपानीको फिल्टर वडाको पुरानै भवन छेउमा राख्न सुझाब दिएको बताएका छन् । ‘वडा कार्यालयको भवन बनिसक्न लागेको छ । निर्माण सकिएर वडा कार्यालय सरेपछि पुरानो वडा कार्यालय छेउमा फिल्टर राख्न भनेका छौं’ उनले भने ।
खानेपानी संस्थान शाखा विराटनगरका प्रमुख सन्तोषकुमार रौनियारले फिल्टर नहुँदा आइरन भएको पानी वितरण भइरहेको स्वीकार गरेका छन् । संस्थानले फिल्टर प्लान्ट राख्नका लागि महानगरपालिकालाई जग्गा उपलब्ध भनेको भएपनि जग्गा प्राप्त नहुँदा समस्या भएको उनको भनाइ छ । जग्गा पाउनेबित्तिकै टेन्डर गरेर प्लान्ट राख्ने उनले बताए । महानगरमा समुदायले उपभोक्ता समितिमार्फत मानगढ, जामुनगाछी, जतुवा र पिचरामा ओभरहेड ट्यांकमार्फत खानेपानी वितरण गर्दै आएका छन् ।