विराटनगर । विद्यालयको गुणस्तर सुधार गर्न प्रधानाध्यपकहरुको विशेष भूमिका हुने भन्दै विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जिम्मेवारीबोध गर्न निर्देशन दिएका छन् ।
विराटनगर ११ मा मंगलबार आयोजना गरिएको सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारसम्बन्धी अन्तरक्रियामा प्रमुख प्रशासकीय अधिकृत पराजुलीले प्रधानाध्यापकहरुको ध्यान विद्यालयको गुणस्तर सुधार गर्ने, विद्यार्थीहरुको असुविधा हटाउने र सकारात्मक वातावरण बनाउनेतर्फ जानुपर्ने बताए । उनले भने ‘प्रधानाध्यापक जिम्मेवार भएर काम गरेमा विद्यालयको गुणस्तरमा सुधार नहुने कुरै हुँदैन, तपाइँहरु जिम्मेवार भएर काममा लाग्नुभयो भने परिणाम सकारात्मक आउँछ ।’
अन्तरक्रियामा सहभागीहरुले अभिभावक, विद्यार्थी र शिक्षक आ–आफ्नो ठाउँबाट जिम्मेवार भएमा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार गर्न सकिने बताएका थिए ।कार्यक्रममा महानगरका प्रमुख नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न महानगर लागिपरेको जिकिर गरे । महागनरले कुल बजेटको २१ प्रतिशत रकम शिक्षा क्षेत्रमा लगानी गरेका कारण सामुदायिक विद्यालयको गुणस्तरमा सुधार आउने बताए । उनले विद्यालयतहबाटै सीपमूलक र प्रविधिमैत्री शिक्षा दिनुपर्नेमा जोड दिएका थिए ।
यसैगरी महानगरका उपप्रमुख शिल्पा निराला कार्कीले महानगरभित्रका सबै सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि योजनाबद्ध रुपमा काम भइरहेको जानकारी दिइन् ।
विराटनगर ११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले वडाभित्र सञ्चालित विद्यालय र तिनको अवस्थाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, शैक्षिक अभियान्ता आदिको सहभागिता थियो । कार्यक्रममा शिक्षा विज्ञ राजेन्द्र बुढाथोकीले अवधारणापत्र प्रस्तुत गरेका थिए भने सहभागीहरुले सार्वजनिक शिक्षा सुधारका लागि गर्नु पर्ने कामका बारेमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।