काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रकृया लगायतका विषयमा पनि दलहरुको बीचमा सहमति भइरहेको बताएका छन । नेपाली कांग्रेसले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री प्रचण्डले सोही सहमतिको प्रयासस्वरुप संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण हुन लागेको बताए ।
उनले भने– ‘यो बीचमा मैले अन्तर्राष्ट्रिय भ्रमण पनि गरेको छु, भारत, चीन र अमेरिकाको भ्रमण गरेर मैले जुन कुटनीतिक पहल गरे त्यसैको परिणामस्वरुप महासचिव गुटरेस तीन दिने भ्रमणका लागि आउँदै हुनुहुन्छ, उहाँले जलवायु परिवर्तनसम्बन्धी सम्बोधन गर्नुहुन्छ, शान्ति प्रकृया र नेपालको आर्थिक विकासको लक्ष्य बारेपनि सम्बोधन गर्नुहुन्छ ।’
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरस फर्केपछि कतारका राजा पनि भ्रमणमा आउन लागेको प्रधानमन्त्री प्रचण्डले जानकारी गराए । यी सबै कुटनीतिक सफलताको परिणाम रहेको उनले बताए । यी भ्रमणहरुले नेपालको प्रतिष्ठा बढाउनेमा आफूले विश्वास लिएको पनि उनले बताए ।
उनले राजनीतिक सहमति बनाउने प्रयास गरिरहेको बताए ।