विराटनगर । प्रधानन्यायाधिशको राजीनामा माग गर्दै नेपाल बारले आन्दोलन गरिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने प्रधानमन्त्री तथा मन्त्री पनि राजीनामा दिने खालका भएको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज दिउँसो संचारकर्मीसँग कुरा गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, सरकारका सबै मन्त्री र प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासहित सर्वोच्चका सबै न्यायाधीशहरु राजीनामा दिनुपर्ने खालका भएको बताएका हुन् ।
‘जुन दिन असंवैधानिक फैसला गरियो र त्यही फैसलाका आधारमा प्रतिनिधिसभाको पुनर्स्थापना गरियो, त्यही दिनदेखि प्रधान न्यायाधीश, फैसला गर्ने अन्य न्यायाधीश राजीनामाका लागि योग्य हुनुभयो,’ अध्यक्ष ओलीले भने, ‘सर्वोच्च अदालतले संविधानको व्याख्या गर्ने हो, परिवर्तन गर्ने होइन। तर, यहाँ त संवैधानिक अधिकारभन्दा बाहिर गएर मनपरी र मनलाग्दी ढङ्गले व्याख्या गरिएको छ।’ उनले सर्वोच्चले संविधानको धारा नै परिवर्तन गरिदिएको जिकिर गर्दै न्याय मरेको घोषणा समेत गरे।
अर्को प्रसगमा ओलीले एमसीसी पारित गर्न देउवाले पत्र लेखेको र प्रचण्डले नलेखेको बताएर दुईमध्ये एकले ढाँटेको दाबी गरे ।
‘शेरबहादुरजी हस्ताक्षर गरेर दिएको भन्नुहुन्छ, प्रचण्डजी होइन भन्नुहुन्छ,’ ओलीले भने, ‘दुईमध्ये एक जनाले झुट बोलेको देखियो ।’ केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीसम्बन्धी सम्झौता पास गर्छौं भनेर आफू र प्रचण्डले हस्ताक्षर गरेर दिइसकेको बताएका थिए । तर प्रचण्डले भने राष्ट्रिय सहमति नभई एमसीसी सम्झौता पारित गर्न सकिन्न भनेर समय मागका लागि पत्र पठाइएको दाबी गर्दै आएका छन् ।