सम्पादकीय
जब शरदको चिसो हावा बहेर धानका बालाहरु चुलबुल गर्न थाल्छन्, लाग्छ दशैं आयो । दूरदेशमा रहेकाहरु आफन्त भेट्न, मान्यजनको आशिष थाप्न घर फर्किन थाल्छन्, लाग्छ दशैं आयो । वर्षभरीको दौडधुप, हाँप र झाँप बिर्सेर मान्छेहरु जब पारिवारिक खुशीका लागि तयार हुन्छन्, लाग्छ दशैं आयो । अरुबेला भन्दा बजारले, सडकले, हरेक परिवेशले जब व्यस्तता बढाउन थाल्छन्, लाग्छ दशैं आयो । हो, यसपटकको दशैं सुरु भइसकेको छ । घरघरमा दशैंको उल्लास सुरु भइसकेको छ । यो रमाइलो पर्वका अवसरमा हामी हाम्रा समस्त पाठक, लेखक तथा विज्ञापनदाताहरुमा हार्दिक शुभकामना प्रकट गर्दछौं ।
कुनैबेला थियो, हाम्रा पर्वहरु खास समुदाय विशेषमा समिति थिए । तर, अब समय त्यो रहेन । अहिले दशैं होस् अथवा छठ, इद होस् अथवा तिहार, उधौली–उभौली होस् अथवा क्रिसमस, नेपाल संवत होस् अथवा होली, सबै पर्वहरु क्रमशः विस्तारित हुँदै गएका छन् । असत्यमाथि सत्यको जीत भएको, नारी शक्तिको पूजा गरिने विशेषता दशैंको मौलिक पक्ष हो । हाम्रा चाडपर्वहरु आपसी सद्भाव साट्ने, हार्दिक पोख्ने अवसरमा रुपान्तरित बन्दै गएका छन् । धार्मिक, सामाजिक र साँस्कृतिक सद्भावका अनुपम नमूना हाम्रा यी सबै–सबै चाडपर्वहरु अमूल्य साँस्कृतिक धरोहर हुन् । उत्साह, उमंगका पर्याय मानिने यी पर्वहरुले हाम्रो समाजलाई अझै बलियो, सहिष्णु र एकताबद्ध तुल्याउन मद्दत गर्नेछन् ।
दशैं सबैका निम्ति उत्साह बोकेर आउँदैन । हुनेखानेहरुका निम्ति यो अतिरिक्त सुविधा भइदिन्छ । हुँदा मात्रै खान पाउनेहरुका लागि थप चोट बनेर दशैं या चाडपर्वहरु आउँछन्, अनि उनीहरुलाई फेरि एकपटक रुवाएर जान्छन् । लोकतन्त्रको मूलभूत लक्ष्य समानता हो, समृद्धि हो भने प्रत्येक नागरिकले कम्तीमा चाडपर्वमा आर्थिक अभावकै कारण रुनुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ । रोजगारी सिर्जना, श्रमको उचित सम्मानको संस्कृतिले मात्रै यस्तो अवस्था आउनसक्छ । हाम्रो राज्ययन्त्रको ध्यान यही विषयतिर बढी केन्द्रीत हुन आवश्यक छ ।
पछिल्लो समयमा गाउँ–सहरका घरहरूको ढाँचाकाँचामा आएको परिवर्तन, शिक्षा, बसाइँसराइ, संयुक्त परिवारहरूको विघटन, यातायात, सञ्चार, बजार – हामीले रोजेकै कुराले समय बद्लिने दिशातिर अग्रसर छ । यस परिवेशमा हाम्रा चाडपर्वहरुको विशेषता पनि बद्लिँदै गएका छन् । कुनैबेला रमाउने अरू केही साधन र माध्यम नभएकाले दशैं वा अन्य चाडपर्व विशेष हुन्थे । तर, अहिले मनोरन्जनका हजारौं उपाय उपलब्ध छन् । यो बेला पनि दशैंको महत्व घटेको होइन, सन्तुलित भएको मात्र हो । अहिले घरघरमा दृश्य फेरिएका छन् ।
उसबेला हरेक मान्छेको दशैं फरक–फरक किसिमले आउँथ्यो । बा–काका, दाजुहरूको दशैं रामरउस गर्ने, फुर्सदमा दुईचार हात तास पनि खेल्न भ्याउने खालको हुन्थ्यो भने आमा, काकी, भाउजूहरूको दशैं भने मड्केनाबाट माटाको भारीसहित निस्केर घरमा पस्थ्यो । रातोमाटो, कमेरो, गोबर र मोसो – घर पोत्ने काम मूलतः आमाहरूकै हुन्थ्यो । आमाहरू थाकेको पुरुषहरुले हम्मेसी थाहा पाउँदैन थिए । अहिले यो अवस्था अन्त्य भइसकेको छैन तर धेरै सुधार भइसकेको छ । यसरी आर्थिक, लैंगिक र साँस्कृतिक अधिकारका दृष्टिमा पनि दशैं फेरिँदो छ । यसले देशलाई, समाजलाई, परिवार र व्यक्तिलाई अझै अधिकारसम्पन्न तुल्याउँदै लैजाने बाटो तय गर्नुपर्छ । परिवर्तन प्रकृतिको अनिवार्य नियम हो । दशैंको सबैमा हार्दिक शुभकामना ।