ठेला उठेका खुट्टामा पट्टी बाँधेर पैदलयात्रामा कोशीका मुख्यमन्त्री कार्की र मन्त्री उप्रेती

विराटनगर । सुविधासम्पन्न सवारी साधन चढेर आरामदायी कार्यकक्षमा भेटिने कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की शनिबार विहान मोरङको लेटाङस्थित चिसाङ खोलाको बगरमा थिए । निलो भेस्ट, ट्रयाकको सुरुवाल र सेतो गाम्छामा भेटिएका उनका खुट्टामा ब्याण्डेज थियो ।

चिसाङ खोला बगरमा ११ बजे भेटिएका कार्की २ बजेतिर केराबारी गाउँपालिकाको वडा नं. ९ देविझोडा आइपुगे । कार्कीसँगै ट्रयाकसुटमै थिए प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती । अगाडिपछाडि करिब दुई दर्जन सुरक्षाकर्मीको टोलीको बिचमा केहि सरकारी र सचिवालयका कर्मचारीसँगै रहेका मुख्यमन्त्रीलाई जंगलको बिचमा बाटो देखाउन भन्दै स्थानीय वन समूहका पदाधिकारीहरु उपस्थित हुने गरेका थिए ।

विहान लेटाङबाट खाजा खाएर हिँडेको मुख्मन्त्रीको टोलीले जंगलको बिचमा वन समूहले व्यवस्था गरिदिएको पानी र मोहीबाहेक केहि खान पाएन । बिचमा भेटिने वस्तीका नागरिकसँग पनि भलाकुसारी गर्दै मुख्यमन्त्रीको टोली खाना खान देविझोडाको जोरधारा आइपुग्दा ३ बजेको थियो । मुख्यमन्त्रीको टोली खाना खाएपछि रातिसम्म जंगलै–जंगल हिँडेर सुनसरीको तालतलैया पुग्ने योजनासहित अगाडि बढ्यो ।

मुख्यमन्त्री कार्कीको टोली फागुन ९ गतेबाट यसरी नै जंगल यात्रामा छ । हात्ती प्रभावित क्षेत्रका नागरिकको समस्या बुझ्ने र समाधानको उपाय खोज्ने भन्दै झापाको मेचीनगरस्थित बाहुनडाँगीबाट सुरु भएको पैदलयात्रा चौथो दिनमा सुनसरी पुगेको हो । पदयात्रा २४३ किलोमिटरको दुरी पार गर्दै उदयपुरको कटारीस्थित बेलसोत बजारमा फागुन १६ गते समापन गर्ने कार्यक्रम छ ।

शनिबार केराबारी ९ देवीझोडामा भेटिएका मुख्यमन्त्री कार्की केही अस्वस्थ र शिथिल देखिए । तर, हिँड्न भने उनले छोडेका छैनन् । हात्तीका गौंडा गौंडा चाहर्दै हात्ती पीडित जनतासँग सम्वाद पनि गरेका कार्कीले दुवै खुट्टामा पट्टी बाँधेका थिए । खुट्टामा उठेका ठेला फुटेर समस्या भएपछि उनले पट्टी बाँधेका हुन् । जसको कारढा हिँड्दा उनले खुट्टा खोच्याएको देखिएको छ । तर, यात्रा छाडेका छैनन् ।

पर्यटनमन्त्री उप्रेती पनि खुट्टा खोच्याउँदै यात्रामा सहभागी छन् । पछिल्ला तीन दिनको तुलनामा यात्रा सहज हुँदै गएको उनले बताए । मन्त्रालयका सचिव विशाल घिमिरे भने पैदल यात्रा निरन्तर गर्न नसक्ने भएपछि आकलझुकल हिँडेर गाडीमै दौडिरहेका छन् । समस्या भएपछि हिँडन नसकेपनि औपचारिक कार्यक्रम र नागरिकको बिचमा पुगेर समस्या बुझिरहेको उनले बताए ।

पदयात्राले तय गरेको उक्त क्षेत्र हात्तीको परम्परागत बाटो मानिन्छ । यात्राको क्रममा हात्तीबाट स्थानीयले पाएको सास्ती, हात्ती र मानब दुबैको संरक्षण गर्ने उपाय मानब–हात्ती द्वन्द्व न्युनिकरण तथा नागरिकका आम समस्याबारे कुराकानी भएको मुख्यमन्त्री कार्कीले बताएका छन् ।

दैनिक झण्डै ५० किलोमिटर दुरी पार गरिरहेको मुख्यमन्त्रीको टोलीलाई बाटोमा पर्ने स्थानीय तहका जनप्रतिनिधि र वन समितिका पदाधिकारीहरुले साथ दिने गरेका छन् । यात्रा लम्बिँदै जाँदा सरकारी टोलीका सदस्यहरु कम भएपनि सुरक्षाकर्मीको भने बाक्लो सहभागिता छ ।

यात्राबाट हात्तीको समस्याबारे पत्रिकामा पढेको, टिभीमा हेरेको र सांसदहरुले उठाएको भन्दा फरक अवस्था पाएको मुख्यमन्त्रीले बाएका छन् । सरकारको बुझाइ पनि नमिलेको र अभियान्ताको बीचमा पनि समानता नरहेको पाइएको उनको भनाइ छ । ‘हात्तीबाट सिर्जित समस्या समाधानका लागि भन्दै दुईवटा विचारमा बहस गरिरहेका थियौं । एउटा हात्तीमैत्री वातावरण बनाउनु पर्छ भन्ने थियो भने अर्को हात्तीलाई नियन्त्रणमा गर्नुपर्छ भन्ने थियो’ उनले भने, ‘जति गरेपछि हात्ती छिर्छ (नियन्त्रण हुँदैन) भन्ने कुरा सबैले अनुभूति गरेका छन् । त्यसैले हुलका हुल छिर्ने हात्ती नियन्त्रण गर्दै छिरेका हात्तीका लागि मैत्रीपूर्ण वातावरण बनाउनेमा सबैको सहमति छ ।’ यात्रा समापनपछि यसको ठोस निचोड आउने पनि उनले बताए ।

यात्राको क्रममा हात्ती पीडितहरुले हात्तीसँग रिस गर्नेभन्दा पनि जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता जनाएको मुख्यमन्त्री कार्कीले बताएका छन् । ‘जिविकोपार्जन भयो भने ज्यान बच्छ भन्ने कुरा उहाँहरुको छ । हात्तीले बालिनाली खान थाल्दा धपाउन जानु परेन भने ज्यान बच्ने भयो’ उनले भने, ‘बालिनालीको क्षतिपूर्ति सरकारले सम्बोधन गर्ने र जंगलमा हात्तीको लागि आवश्यक व्यवस्थापन गर्ने कुरा आएको छ ।’

मुख्यमन्त्री कार्कीले अहिलेसम्मको आएको बुझाइ हेर्दा बालिनालीको बिमाले धेरै समस्या समाधान गर्ने देखिएको बताएका छन् । राहतमा ढिलाइ हुने भएकोले सतप्रतिशत विमा गराउन सके नागरिकले हात्ती लखेट्न नजाने र हात्तीले पनि मानवीय क्षति नगर्ने उनको दावी छ ।
यसअघि हात्ती करिडोर बनाएर त्यहाँका बासिन्दालाई मुआब्जा दिएर स्थान्तरण गर्नुपर्ने मुख्यमन्त्री कार्कीले बताउँदै आएका थिए । उनले हात्ती देखाएर पर्यटक आकर्षित गर्दै आम्दानी गर्नसकिने पनि बताएका थिए ।

चार दिनको यात्रापछि भने मुख्यमन्त्री कार्कीले पर्यटन प्रबद्र्धनको संभावनाबारे कुरै गर्न चाहेनन् । हात्ती हिँड्ने बाटो आसपास बसेको बस्ती हटाउने पनि सरकारको योजना नभएको बताए । ‘मानब बस्ती स्थान्तरण गने भनेको हैन’ उनले भने, ‘त्यहाँका घरमा बस्ने नागरिकलाई सचेत बनाउने, घरको बिमा गर्ने र बाली विमा गरेर हात्तीमैत्री वातावरण बनाउने हो ।’

आगामी बजेट, नीति र कार्यक्रममा हात्ती प्रभावित क्षेत्रको समस्या सम्बोधन हुने बताउँदै मुख्यमन्त्री कार्कीले संघीय सरकारले दिने राहतमा ढिलाई भएको गुनसो पनि सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । नीतिगत ढंगले प्रदेशको जिम्मामा जङ्गल आएपछि जनावरबाट हुने क्षतिबारे पनि जिम्मा लिनेगरि काम गर्ने पनि उनले उल्लेख गरेका छन् ।

मन्त्रालयका सचिव घिमिरेले यात्राले सरकारलाई धेरै फिडब्याक प्राप्त भएको बताउँदै आगामी योजना निर्माणमा सहयोग पुग्ने बताए । तर, त्यसको लागि मन्त्रालयको बजेटले नपुग्ने भएकोले छुट्टै बजेटको व्यवस्थापन गर्नेगरि मुख्यमन्त्रीले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

शनिबार, १२ फागुन, २०८०, साँझको ०७:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर