कार्की पक्षका सांसदहरु बिहान ८ बजे नै सनाखतका लागि जाने

विराटनगर । नेकपा (एमाले) र नेपाली कांग्रेसको डा शेखर कोइराला सांसदहरू आज बिहान ८ बजे नै सनाखतका लागि प्रदशे प्रमुखकहाँ जाने भएका छन् ।

बिहान ८ बजे नै प्रदेशसभा सदस्यहरूलाई सनाखतका लागि उपस्थित हुन निर्देशन दिइसकिएको एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले बताए । ‘एमालेलाई हामीले निर्देशन दिएका छौं, भण्डारीले भने, ‘काग्रेसका मुख्यमन्त्रीका दाबेदार केदारजीले नै जिम्मा लिनु भएको छ ।’

प्रदेश प्रमुख परशुराम खापुङले आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म दुवै दाबीकर्ताको सनाखत गर्दैछन् । समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रसाथ आउन उनले भनेका छन् ।

कोशीकोे मुख्यमन्त्री पदमा नियुक्तिका लागि नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेसको कोइराला पक्षका केदार कार्कीले ४७÷४७ जना सदस्यको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।
शुक्रवार साँझमा कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न दबाब दिँदै कांग्रेसका ८ र एमालेका ३९ सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा गएका थिए । एमाले र कांग्रेसका ती सासदसँग आजै मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखले बताएका  थिए ।

‘आजै मुख्यमन्त्री नियुक्त गर्ने हामीबीच सहमति भएको छ’, भण्डारीले भने,’ शपथको कार्यक्रम भने नवनियुक्त मुख्यमन्त्रीको समयअनुसार हुन्छ ।’

शनिबार, २७ असोज, २०८०, बिहानको ०८:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर