पार्टी नीतिविपरित उभिने सांसदलाई कार्वाही गर्ने काँग्रेसको तयारी, भोलि कार्यसम्पादन समितिको बैठक

विराटनगर । पार्टीको निर्णय र निर्देशनविपरित नेकपा एमालेसँग मिलेर कोशी प्रदेशको मुख्यमन्त्री दावी गरेका काँग्रेस सांसद केदार कार्कीसहित समर्थन गरेका सांसदलाई काँग्रेसले कार्वाही गर्ने भएको छ ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णयविपरित कार्कीले काँग्रेसका ८ सांसदसहित एमालेको समर्थनमा मुख्यमन्त्रीको दावी पेश गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार सांसदलाई पार्टीको ह्वीप नलाग्ने भन्दै कार्कीले आफू मुख्यमन्त्री भएपनि काँग्रेसले कार्वाही गर्न नसक्ने जिकिर गरेका छन् । तर, काँग्रेस कोशी प्रदेश समितिका सभापतिसमेत रहेका संसदीय दलका नेता उद्धब थापाले भने पार्टी नीति विपरित उभिनेलाई कार्वाही हुने बताएका छन् ।

थापाले पार्टीको नीति विपरित उपभएका सांसदबारे निर्णय लिन शुक्रबार प्रदेश कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । ‘प्रदेश कार्यसम्पादन समितिको बैठक बोलाएको छु’ उनले भने, ‘त्यसबारे बैठकले निर्णय गर्नेछ । संविधानको धारा १६८ को ५ अनुसार सरकार निर्माणमा सहभागी भएवापत संसदीय दलको ह्वीप नलागे पनि पार्टीको अनुशासन लाग्छ ।’ आफ्नो गलत क्रियाकलापलाई सुधार नगरे पार्टीको नीति र अनुशासन उल्लंघन गरेकोमा पार्टीले कार्वाही गर्ने उनले दावी गरे ।

कांग्रेसका केन्द्रीय प्रचार विभागका प्रमुख मिन विश्वकर्माले पनि पार्टी नीति विपरीत उभिने सांसदमाथि कारबाही हुने बताएका छन् । ‘केही साथीहरु पार्टीको लाइन भन्दा बाहिर जानुभयो, यसमा संसदीय दलको ह्वीप लाग्दैन’ उनले भने, ‘तर, ह्वीपमा मात्र कारबाही गर्ने भन्ने हुँदैन, पार्टीको नीति र हित विपरीत काम गरेको भनेर जो सुकैलाई पनि प्रष्टिकरण सोध्न र विधि प्रक्रिया पुर्याएर कारबाही गर्न सकिन्छ ।’

बिहिबार, २५ असोज, २०८०, साँझको ०७:१८ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर