विराटनगर । मोरङमा सम्बन्धविच्छेदका घटना ह्वात्तै बढेको छ । आपसी अविश्वास र बेमेल बढ्दै जाँदा त्यसले सम्बन्धविच्छेदको रुप लिन थालेको हो ।चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म जिल्ला अदालतमा दर्ता भएका कूल २ हजार १ सय ८९ मुद्दामा ६ सय १० वटा त सम्बन्ध विच्छेदका मात्र छन्। त्यसमा ३ सय ३२ जोडीको मुद्दा फर्छ्योट भएको छ । जिल्लामा सम्बन्धविच्छेदका घटना कसरी बढिहरहेका छन् भन्ने बुझ्न दुईटा प्रतिनिधि घटना हेरौं ।
मोरङ पथरी शनिश्चरेका कृष्णबहादुर सिटौलाले विराटनगरकी गीता चौधरीसँग २०६९ सालमा अन्तरजातीय विवाह गरे । तर, उनीहरूको दाम्पत्य जीवन १० वर्ष पनि टिक्न सकेन । दुई सन्तानका अभिभावक उनीहरूबीच विवाह भएको ६ वर्ष पुग्दा नपुग्दै खटपट सुरु भयो ।
कृष्णले गीतालाई घरछेउका छिमेकीको घरमा जाँदा पनि छिमेकीको छोरासँग लागेकी भनेर शंका गर्ने, छोराहरूलाई स्याहार नगरेको आरोप लगाउने गरे । यस्ता आरोपले गीतालाई असह्य भएपछि घर झगडा सुरु भयो । मानसिक तनाव सहन नसकेपछि गीताले २ वर्षअघि चैत १० गते जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराइन् । त्यसपछि घरमा थप कलह बढेपछि गीता विराटनगरस्थित माइती घरमा बस्न थालिन् ।
कृष्ण र गीताको पति–पत्नीको सम्बन्ध विच्छेदको मुद्दामा गएको चैत १० गते अलग हुने सहमतिमा मिलापत्र भयो । पतिबाट गीताले अंशसमेत नलिई हाल सम्बन्ध विच्छेद गरेर माइतमा बसिरहेकी छन् । मोरङका रमेश अधिकारी र उदयपुर बेलकाकी सिर्जना कार्कीबीच पाँच वर्षअघि मागी विवाह भएको थियो । विवाह गरेको ८ महिनापछि रमेश वैदेशिक रोजगारीका लागि कतार गए । श्रीमान् विदेश गएपछि सिर्जना पनि अध्ययनको सिलसिलामा सुनसरीको इटहरीमा कोठा भाडामा लिएर एक्लै बस्न थालिन् ।
रमेश विदेशमा हुँदासम्म उनीहरूबीचको सम्बन्ध ठीकठाकै थियो । तर जब रमेश ३ वर्षपछि घर फर्किए, तब दुई जनाबीच झगडा सुरु भयो । रमेशले विदेशमा बसेको समयको हरहिसाब खोज्दै सिर्जनालाई दिनहुँ कुटपिट गर्न थाले । श्रीमान्को अत्याचार सहन नसकी सिर्जनाले अलगै बस्ने निर्णय गरिन् र यसका लागि २०७८ जेठमा जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा हालिन् । त्यसको ८ महिनापछि रमेश र सिर्जनाको सम्बन्ध विच्छेद भएको छ ।
यसरी चालु आर्थिक वर्षमा ८ हजार ६ सय ४१ वटा मुद्दा दर्ता भएको अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए । ‘यो संख्या अहिलेसम्मकै धेरै हो’, उनले भने, ‘दर्ता भएकामध्ये सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा छन् ।’ अर्थात् जिल्ला अदालतमा दर्ता भएकामध्ये २६ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका छन् ।
चालु आर्थिक वर्षमा दर्ता भएका मुद्दामध्ये सम्बन्ध विच्छेदका सबैभन्दा धेरै १ हजार ७९४ वटा छन् । जसमध्ये १ हजार ३ सय २६ जोडीको मुद्दा फर्छ्योट भएको स्रेस्तेदार राणाले जानकारी दिए । अदालतको अभिलेखअनुसार अघिल्लो आर्थिक वर्ष ०७७÷७८ मा १ हजार १ सय ७१ र आर्थिक वर्ष ०७६÷७७ मा ९ सय ८८ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । अदालतमा सम्बन्ध विच्छेद गर्न आउनेमा महिलाको संख्या धेरै रहेको र २३ देखि ३० वर्ष उमेरसम्मका श्रीमान्–श्रीमतीमा यो अवस्था आउने गरेको स्रेस्तेदार राणाले जानकारी दिए ।
स्रेस्तेदार राणाका अनुसार सम्बन्ध–विच्छेदका लागि अदालत धाउनेमा सहरिया, सम्पन्न महिला मात्र होइन, ग्रामीण र विपन्न महिलाको संख्या पनि बढिरहेको छ । २०७५ भदौबाट लागू भएको मुलुकी संहिताले पुरुषलाई पनि सम्बन्ध विच्छेद आवश्यक परे सीधै अदालत जान सक्ने बाटो खोलिदिएपछि सम्बन्ध विच्छेदका लागि अदालत आउने पुरुषको संख्या पनि बढेको छ । यसअघि पुरुषले सम्बन्ध विच्छेद चाहेर पनि सीधै अदालत जान पाउने व्यवस्था थिएन। ०७५ भदौअघि पुरुषले सम्बन्ध विच्छेद गर्न परे पहिला स्थानीय तहमा निवेदन दिएर त्यसको एक वर्षपछि मात्र सिफारिस लिएर अदालतमा मुद्दा हाल्न पाउँथे ।
तर, अहिले मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ९४ ले पुरुष (पति) पनि सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था गरेको हो । त्यसयता जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि पुरुषका तर्फबाट मुद्दा आउने क्रम पनि बढ्दो रहेको स्रेस्तेदार राणाले बताए । पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने कानुनी व्यवस्था गरिएयता १ सय १३ जनाले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् । उनका अनुसारसम्बन्ध विच्छेदका मुद्दामध्ये करिब १० प्रतिशत पुरुषले हालेका छन् ।