विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने सत्तारुढ गठबन्धनको निर्णय नमान्ने चेतावनी शेखर कोइराला पक्षले आफूहरुसँग ९ सांसदको हस्ताक्षर रहेको दावी गरेको छ ।
केदार कार्कीलाई मुख्यमन्त्री बनाउन आफूहरुसँग ९ जना काँग्रेसका सांसदको हस्ताक्षर रहेकोले एमालेको २९ सांसदको समर्थन पाएपछि मुख्यमन्त्री दावी गर्ने सो समूहको भनाइ छ ।
‘गठबन्धनको निर्णय तोडेर भएपनि केदार कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्छ भनेर ९ सांसदले हस्ताक्षर गरिसकेका छन्’ शेखर पक्षका एक सांसदले भने, ‘अब राप्रपा नआएपनि एमालेले समर्थन गर्ने भनेकोले ४८ सांसदसहित मुख्यमन्त्रीको दावी पेश गर्छौं ।’ उनका अनुसार ९ जना सांसदलाई बुधबार काठमाडौं बोलाएर शेखर पक्षले हस्ताक्षर गराएको हो ।
ती सांसदले दिएको जानकारी अनुसार कार्कीलाई मुख्यमन्त्री बनाउन कार्कीसहित उदयपुरका रामकुमार खत्री, इलामका शमशेर राई र गोविन्द गिरी, मोरङका गयानन्द मण्डल, धनकुटाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र उदयपुरकै लीलाकुमारी राईले हस्ताक्षर गरेका छन् । यसअघि काँग्रेसको संसदीय दलमा भएको निर्वाचनमा कार्कीले ९ मत नै ल्याएका थिए । त्यसबेला उनलाई समर्थन गरेका भोजपुरका विनोद वान्तवाले हस्ताक्षर गर्न नमानेको बताइन्छ । यसअघि उद्धब थापालाई मत दिएकी सुनिता गुरुङले भने अहिले हस्ताक्षर गरेको ती सांसदले बताए ।
गठबन्धनको शीर्ष बैठकले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको भएपनि शेखर पक्षले भने आफ्नो समूह र एमालेबीच गठबन्धन बन्ने दावी सो समूहको छ । ‘सात प्रदेशमा कतैपनि आफ्नो समूहलाई मुख्यमन्त्री नदिने निर्णय मान्य हुन सक्दैन, गठबन्धनको निर्णयसँग हामीलाई सरोकार छैन’ शेखर पक्षका सांसद रामकुमार खत्रीले भने, ‘संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री दावी गर्न पुग्ने संख्या आफूहरुसँग रहेकोले अगाडि बढ्छौं ।’ नेकपा एमालेले ८ जना सांसदको हस्ताक्षर लिएर आए समर्थन गरिदिने बताएकोले आफूहरु त्यहि अनुसार केदार कार्कीलाई मुख्यमन्त्री बनाउन भोलि दावी पेश गर्ने उनले बताए ।
नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कुनैपनि दलसँग सरकार निर्माणबारे छलफल नभएको बताएका छन् । ‘अहिलेसम्म कुनै पनि दलसँग सरकारको बारेमा छलफल भएको छैन’ उनले भने, ‘संस्थागत रुपमा दलहरु छलफलमा आएपछि सहकार्यबारे सोच्न सकिन्छ ।’ केदार कार्कीसँग सामान्य कुरा भएपनि संस्थागत निर्णय गरेर आउन आफूहरुले भनेको उनले बताए ।
प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि असोज २६ गते शुक्रबार साँझ ५ बजेसम्मको समय सीमा दिएका छन् ।