विराटनगर । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्रीका रुपमा आघि सार्ने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ ।
गठबन्धनको बिहीबार बसेको बैठकले आङ्बोलाई प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको हो ।
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार नेपाली कांग्रेसको प्रस्तावमा आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको हो । ‘आङ्बोको नाममा गठबन्धनले सर्वसम्मत निर्णय गरेको छ’ उनले भने, ‘सम्भव भए आजै नै दाबी पेस गर्ने कुरा भएको छ ।’
गठबन्धनले प्रदेशका गठबन्धन दलका नेताहरुलाई पनि सहभागी गराएर बैठक गरेको थियो । सोहि बैठकले आफ्नो पक्षमा निर्णय गरेको आङ्बोले जानकारी दिए ।
नेपाली काँग्रेसको शेखर कोइराला समूहले भने केदार कार्कीलाई मुख्यमन्त्री बनाउने अडान राखिरहेको छ । सो समूहले काँग्रेसले निर्णय नगरे एमालेसँग मिलेर भएपनि मुख्यमन्त्री बन्ने धम्की नेतृत्वलाई दिँदै आएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि असोज २६ गते साँझ ५ बजेसम्मको समय सीमा दिएका छन् ।