विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय तथा व्ययको अनुमानित विवरण नगर सभामा प्रस्तुत गरेको छ । उपप्रमुख शिल्पा निराला कार्कीले महानगरको नीति कार्यक्रम र आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट (वार्षिक अनुमानित आय तथा व्यय विवरण) अनुसार राजश्वको दायरालाई केही फराकिलो बनाउँदै नयाँ सेवामा कर तथा दस्तुर लगाउने व्यवस्था गरेको छ ।
अबदेखि अपुताली सिफारिसदेखि कोठाको ताल्चा फुटाउनु पर्दासमेत महानगरमा दस्तुर तिर्नु पर्ने भएको छ । महानगरले अपुताली सिफारिस गर्दा २ हजार दस्तुर बुझाउनु पर्ने नयाँ व्यवस्था लागु गरेको हो । यस्तै व्यवसायिक बहालमा लागेको कोठाको ताल्चा फुटाउन २ हजार, दर्ता नभएको व्यवसायलाई बहालमा दिएको कोठाको ताल्चा फुटाउँन ३ हजार शुल्क तिर्नु पर्ने व्यवस्था गरिएको छ ।
यसैगरी पत्रपत्रिका प्रकाशन गर्ने प्रकाशकलाई पनि नियमित कर तिर्नुपर्ने व्यवस्था गरिएको छ । अबदेखि महानगरमा सञ्चालित पत्रपत्रिका प्रकाशकले वर्गीकरण अनुसार दुई हजार रुपियाँदेखि ५ हजार रुपैया याँसम्म राजश्व तिर्नुपर्ने भएको छ । यस्तै स्टेशनरी व्यवसाय, प्रिन्टिङ व्यवसाय, आल्ुमनियम स्टिल व्यवसाय, फोटो स्टुडियो, रेकर्डिङ स्टुडियो, राइड सेयरिङ व्यवसाय, टेलिभिजन कार्यालय आदिलाई करको नयाँ दायरामा समावेश गरेको छ । महानगरपालिकाले घ वर्गको निर्माण सेवा नवीकरण शुल्कलाई १० हजार रुपियाँबाट घटाएर ४ हजार बनाएको छ ।