भारतको सिक्कीममा १० नेपाली बेपत्ता, खोजीमा कठिनाइ

भारत सिक्किमको टिस्टा नदीको बाँध फुट्दा आएको बाढीले बगाएको आशङ्का

विराटनगर । इलाम नगरपालिका ९ का १० जनाभन्दा बढी स्थानीय गत असोज १६ गतेदेखि वेपत्ता भएका छन् । भारतको सिक्कममा काममै रहेका उनीहरुलाई असोज १७ गते टिस्टा नदिमा आएको बाढीले बगाएको हुनसक्ने आफन्तले आशङ्का गरेका छन् ।

इजरायलमा १० विद्यार्थीको मृत्यु र त्यहाँ फसेका विद्यार्थीको उद्दारको प्रयास भइरहँदा इलामका १० स्थानीयहरु वेपत्ता भएको त्यहाँका स्थानीय विक्रमबाबु फियाक बताउँछन् । ‘टिष्टामा आएको बाढीपछि उहाँहरु सम्पर्क बिहीन हुनुभएको छ । सरकारबाट खोजी आवश्यक भयो,’ फियाकले भने ।
वेपत्ता हुनेहरुमा इलाम ९ का सेन बहादुर कार्की (सानू), लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत र कुमार बस्नेत रहेको उनले बताए । उनका अनुसार अन्य ५ जना वेपत्ता भएको जानकारीमा आएको दाबी गरे ।

इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भने कार्की र शेर्पा वेपत्ता भएको विषयमा आफूलाई जानकारीमा आएको भएपनि अन्यको विषयमा थाहा नभएको बताए । दुई जनाको अवस्था अहिलेसम्म थाहा नभएको उनले बताए ।

‘दुई जनाको विषयमा वेपत्ता भएको जानकारीमा आएको छ । उता सम्पर्क स्थापित भएको छैन । सिक्किमका मिडियामा हामीले खबर गरेका छौं,’ पोखरेलले भने, ‘प्रहरीसँग सम्पर्क हुने अवस्था पनि छैन । बाढीका कारण त्यस स्थानमा पुग्न नसक्ने, टेलिफोन, विद्युत् सबै अवरुद्ध भएको कारण कसैसँग सम्पर्क स्थापित हुनै सकेको छैन ।’ माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले वेपत्ता व्यक्तिहरुको खोजी र उद्धारका लागि पहल गर्न सरकारसँग माग गरेका छन् ।

घटना के भएको थियो ?

बिबिसीका अनुसार गत मङ्गलबार रातिबाट सिक्किम राज्यको उत्तरी भेगमा पर्ने ल्होनक हिमतालको माथिल्लो तटीय क्षेत्रमा मुसलधारे वर्षा भएपछि लाचेन उपत्यकाको टिस्टा नदीमा एकाएक पानीको सतह बढेको थियो ।

बुधवार बिहान ६ बजे केन्द्रीय जल आयोग सीडब्ल्यूसीको मेली केन्द्रमा जल सतह प्रतिसेकेन्ड १५ मिटरको उच्च गतिमा बढ्दै गएको थियो र खतराको तहभन्दा तीन मिटर बढेको थियो ।रक्षा मन्त्रालयका एकजना प्रवक्ताले तल्लो तटिय क्षेत्रहरूमा अचानक १५–२० फिटसम्मले जलसतह बढेको बताएका छन् । नजिकैको एउटा बाँधबाट समेत थप पानी छोडिएपछि अवस्था थप खराब बनेको बताइएको छ ।

सीडब्ल्यूसीका अनुसार बाढी असोज १६ को मध्यरातबाट सुरु भएको थियो । अधिकारीहरूले केही सैन्य गाडीहरू हिउँको लेदोमा डुबेको बताएका छन् । कैयौँ बस्तीहरूमा बाढी पसेको, घरहरू भत्किएको र मानिसहरू विस्थापित भएपछि त्यहाँ समेत सहायता प्रयासहरू अगाडि बढाइएको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार प्रभावित क्षेत्रमा ३,००० भन्दा धेरै पर्यटकहरू रोकिएका छन् । बाढीका कारण २२ जना सैनिकसहित कम्तीमा १०५ जना हराइरहेको अधिकारीहरूले बताएका छन् ।

                                                                                                                                                                                  तस्बिरः बिबिसी

सोमबार, २२ असोज, २०८०, साँझको ०७:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर