विराटनगर । कोशी पुलमा गाडी छाडेर बेपता भएका डाक्टर प्रज्वल कोइराला दिनभरी खोज्दासमेत फेला परेका छैनन् ।
उदयपुर खण्डमा सवारीसाधन छाडेर उनी बेपत्ता भएका थिए ।
उनी मदन भण्डारी ट्रमा सेन्टर, उर्लाबारीमा जनरल सर्जनको रुपमा कार्यरत थिए । झापाको दमक नगरपालिका १ मा उनको घर छ ।
जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार १–०२–००२ च ४१६६ नम्बरको कार छाडेर उनी बेपत्ता भएका थिए ।
स्थानीयबासीले बेवारिसे कार देखेपछि प्रहरीलाई खबर गरेका थिए । डाक्टर कोइराला राति २ बजे कोशीको पुलमा आएको सिसी टिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।
पुलको रेलिङमा उनको मोबाइल भेटिएको थियो भने जुत्ता र मोजा पनि त्यहीँ भेटिएको थियो ।
‘होटलहरूमा फोटोसहित खोजी गर्दा समेत फेला नपरेपछि सशस्त्रको गोताखोर टोली ल्याएर दिनभरी खोजी गरेका थियौ,’ फुयालले भने, ‘कोशीमा पानीको बहाब बढेका कारण सबैतिर खोजी गर्न पनि समस्या भयो । गहिरो ठाउँहरूमा गोताखोरको टोलीले प्रयास गरेको थियो । स्थानीय बासिन्दा र हामी मिलेर दिनभरी खोजी गर्यौं ।
डाक्टर कोइरालाले आत्महत्या प्रयास गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

