विद्या भण्डारीबारे फेरियो ओलीको बोली

विराटनगर ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारी पुनः एमाले राजनीतिमा आउन चाहे नरोक्ने प्रस्टीकरण दिएका छन् ।

यसअघि अध्यक्ष ओलीले साउन अन्तिम साता (साउन २८) गते पूर्व राष्ट्रपति भण्डारी सम्मानित भएर बस्नुपर्ने भन्दै राजनीतिमा आउने चर्चा एमाले विरोधीहरूले विभाजित गर्ने षडयन्त्रअनुसार चलाएको बताएका थिए । तर, त्यसको १५ दिन पनि नबित्दै भण्डारीबारे पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको बोली फेरिएको हो ।

आइतबार विराटनगरमा एमाले कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले भण्डारी एमालेको सक्रिय राजनीतिमा आउन चाहे उनलाई सधैँ स्वागत रहेको बताए ।

‘पार्टी काममा सक्रिय हुने चाहना देखाए उहाँलाई हामी निषेध गर्दैनौं । उहाँ आएर राम्रो नेतृत्व गरे ठीक छ । तर, उहाँ आउँछु त भन्नुप¥यो, उहाँलाई सधैँ वेलकम छ,’ ओलीले भने, ‘उहाँले राजनीति गर्छु भन्दा रोक्ने को हो? कसले रोक्छ? कसरी रोक्छ ?’

ओलीले पूर्वराष्ट्रपतिलाई पार्टीभित्रका नेताहरूले भेट्दैमा अनावश्यक हल्ला चलाउनु राम्रो नभएको पनि उल्लेख गरे । ‘पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरूको, राष्ट्रपति भएर एउटा आदरणीय व्यक्ति पनि उहाँ हुनुहुन्छ’, ओलीले भने, ‘त्योभन्दा अगाडि पनि हाम्रो नजिककै मित्र हो नि। हाम्रो पार्टीको उपाध्यक्ष नै हो । हाम्रो पार्टीको आदरणीय व्यक्तित्व नै हो। त्यसैले हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरा होइन ।’

यसअघि भण्डारी एमालेको नेतृत्वमा फर्कन चाहेको हल्ला चलेकोबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा ओलीले त्यो कुरा निकालेर पार्टीभित्र समस्या सिर्जना गर्न खोजिएको भन्दै टिप्पणी गरेका थिए । ओलीले सत्ता गठबन्धनले कोशी प्रदेशमा फोहोरी खेल खेलेको आरोप लगाएका छन् । उनले लोकतन्त्र र लोकतान्त्रिक अभ्यासविरूद्ध प्रदेशमा बलमिच्याइँ भइरहँदा केन्द्रीय नेतृत्व मौन बस्नु आश्चर्यजनक रहेको टिप्पणी गरेका हुन् । ‘गठबन्धनको नाममा पटकपटक लोकतन्त्र र लोकतान्त्रिक अभ्यासविरुद्ध काम भइरहेको छ, बलमिच्याइँ गरेर फोहोरी राजनीति गरिरहेका छन् । तर, केन्द्रको गठबन्धन चुपचाप देखिन्छ,’ उनले भने ।

सर्वोच्चले नै अवैध ठहर गरिसक्दा पनि नछाड्नुले गठबन्धन जुनसुकै हालतमा प्रदेशको सत्ता कब्जा गर्न लागि परेको पुष्टि हुने ओलीको भनाइ छ । ‘अदालतले सरकार गठन अवैध भनिसकेको छ त्यही पनि उनीहरु अझै यसलाई स्वीकार्न तयार देखिँदैनन्’, ओलीले थपे ‘गठबन्धन प्रदेशमा सत्ता कब्जा गर्न लागेको छ ।’

सोमबार, ११ भदौ, २०८०, बिहानको १२:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर