इजरायलमा केही नेपाली हताहत भएको सरकारको आशंका

काठमाडौं । प्यालेस्टाइनी लडाकू समूह हमासले गरेको श्रृङ्खलाबद्ध आक्रमणपछि इजरायलमा रहेका केही नेपाली हताहत भएको सरकारले आशंका गरेको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारीअनुसार गाजा क्षेत्र नजिक रहेको क्षेत्रमा हमास समूहबाट आक्रमण हुँदा केही नेपालीको मृत्यु भएको अनुमान गरिएको हो । मन्त्री साउदका अनुसार सो क्षेत्रमा रहेका १७ जना नेपालीमध्ये २ सकुशल छन् भने ३ जनाको स्थानीय अस्पतामा उपचार भइरहेको छ । बाँकी १२ जना सम्पर्कमा नरहेकोले केहिको मृत्यु भएको आशंका गरिएको छ । स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको मन्त्री साउदले जानकारी दिए ।

इजरायलमा भएको घटनालाई सरकारले गम्भीरताका साथ लिएको परराष्ट्रमन्त्री साउदले बताएका छन् । आइतबार बिहान प्रधानमन्त्रीको नेतृत्वमा बसेको बैठकले परराष्ट्रमन्त्रीको नेतृत्वमा समन्वय संयन्त्र बनाएको छ । संयन्त्रले नेपालीहरूको अवस्था पहिचान, उद्दारसम्बन्धी निर्णय लगायतका सम्पूर्ण कायहरु गर्नेछ ।

स्रोतका अनुसार कृषि फार्ममा कार्यरत नेपालीहरु बंकरतर्फ जाँदै गर्दा एकाएक गोली लागेको थियो । गोली लागेपनि उनीहरुले समयमा उपचार पाएका थिएनन् ।

नेपाली दूतावास इजरायलले पनि घाइते भएका १२ जना नेपाली अहिले आफूहरुको सम्पर्कमा नरहेको जनाएको छ । यद्यपि मृत्युबारे दूतावासले औपचारिक जानकारी नआएको भन्दै पुष्टि गरेको छैन ।

नेपाली समय अनुसार शनिबार बिहान ६ः३० बजेदेखि इजरायलको दक्षिण क्षेत्रमा प्यालेस्टाइनको हमास समूहबाट आक्रमण भएको थियो । हालसम्म सो आक्रमणबाट नेपालीबाहेक सयौंको संख्यामा मृत्यु र घाइते भएका तथा केही मानिसहरुलाई हमास समूहले अपहरण तथा बन्धक बनाएको बताइएको छ ।

सो क्षेत्रमा हवाई, जल र स्थलमार्गबाट प्यालेस्टाइनमा अवस्थित हमास समुहका लडाकुहरु प्रवेश गरी आकस्मिक तवरले आक्रमण गर्ने एवं बन्धक बनाउने लगायतका गतिविधिहरु भएको जनाइएको छ । इजरायलमा भएको सो आक्रमण दशकौंपछिको ठूलो स्केलको रहेको हो ।

इजरायलमा हाल ४५०० नेपालीहरु केयरगिभरको रुपमा कार्यरत रहेका छन् भने कृषि विषय अध्ययन गर्न गएका २६५ जना नेपाली विद्यार्थीहरु छन् ।

नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदुरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी गएका छन् । तीमध्ये सुदुरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपालीहरु दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययनरत रहेका र उनीहरु नै आक्रमणमा परेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिएका छन् ।

आइतबार, २१ असोज, २०८०, दिउँसोको ०४:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर