एमालेका ७ सांसदलाई ‘घरायसी समस्या’ : उपसभामुख ‘विरामी’ हुने संभावना !

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले प्रदेशसभामा भदौ ३ गते विश्वासको मत लिने सूचना भदौ १ गते प्रदेशसभा सचिबालयलाई दिए । मुख्यमन्त्रीले मागेकै दिन विश्वासको मतबारे निर्णय गर्न प्रदेशसभा बैठक बोलाउनुपर्नेमा सभामुखसमेतको भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारले भदौ ४ गतेको लागि मिति तोकिदिइन् ।

सभामुख बाबुराम गौतमको राजीनामा गराएर ९३ सदस्यीय प्रदेशसभामा ठिक्क बहुमत ४७ सांसदको समर्थनसहित मुख्यमन्त्री भएका थापालाई विश्वासको मत लिन सहज नरहेको संकेत उपसभामुख दनुवारको त्यो निर्णय थियो । तथापी विश्वासको मत लिने दिने अनुपस्थित हुने वा पदबाट राजीनामा दिने संभावना उनले अस्वीकार गर्दै आएकी छन् ।

प्रदेशसभा बैठकअघि भोलि विहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक उपसभामुख दनुवारले राखेकी छन् । तर, आजसम्म बिकसित घटनाक्रम हेर्दा भोलिको बैठकमा उनी उपस्थित हुने संभावना कम देखिएको छ । उपसभामुख दनुवार एमालेबाट निर्वाचित सांसद हुन् ।

उपसभामुख दनुवारले भने आफूले नै बैठक अध्यक्षता गर्ने बताएकी छन् । तर, उनले बैठकमा अनुपस्थित हुनसक्ने संभावना रहेको स्वीकार गरेकी छन् । ‘मेरो काबुभन्दा बाहिर गयो, भोलि परिस्थीति त्यस्तै आयो भने भन्ने बेग्लै हो’ उनले भनिन् ।

मुख्यमन्त्री थापाले विश्वासको मत पाउने वा नपाउने उपसभामुख दनुवारको हातमा छ । उनले बैठक सञ्चालन गरे मुख्यमन्त्रीले विश्वासको मत पाउँछन् । अनुपस्थित भए वा राजीनामा दिए परिस्थिति फरक हुनेछ ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार उपसभामुख दनुवारले अहिलेसम्म भोलिको बैठकमा अनुपस्थित हुनेबारे कुनै जानकारी दिएकी छैनन् । सभामुख वा उपसभामुख विदामा हुँदा मौखिक जानकारी हुने भएपनि अहिलेसम्म त्यो जानकारी नआएको उनले बताए ।

उपसभामुख दनुवार बैठकमा अनुपस्थित भएमा प्रदेशसभा बैठक सञ्चालन अध्यक्ष मण्डलले गर्नेछ । प्रदेशसभा सञ्चालन नियमावली २०७४ (पहिलो संशोधन) अनुसार सभामुख र उपसभामुखले सभा सञ्चालन गर्ने ‘संवैधानिक नियम’ भएपनि उनीहरूको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयनसम्बन्धी व्यवस्था छ । नियमावलीको नियम ११ को उपनियम १ मा उक्त व्यवस्था छ ।

जसअनुसार सभामुखले आफू तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न समय–समयमा बढीमा पाँचजना सदस्यहरूलाई मनोनीत गर्न सक्नेछन् । उपदफा (२) मा उपसभामुख तथा उपनियम (१) बमोजिम मनोनयन गरिएको सदस्यले अध्यक्षता गरिरहेको बैठकमा सभामुखले प्रयोग गर्न पाउने सबै अधिकार प्रयोग गर्न सक्नेछन् ।

प्रदेशसभा सञ्चालनका लागि सभामुखउपसभामुखलाई सहयोग गर्न गठन भएको चार सदस्यीय अध्यक्ष मण्डलमा एमालेकी मालती सुब्बा सबैभन्दा जेष्ठ हुन् । उनीसहित एमालेका ८ जेष्ठ सदस्यले भोलिको बैठकमा अनुपस्थित हुने जानकारी दिइसकेका छन् । प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार आठै जनाले निवेदनमा ‘घरायसी जरुरी काम’ भएका कारण उपस्थित हुन नसक्ने उल्लेख गरेका छन् ।

सुब्बा अनुपस्थित हुँदा अध्यक्ष मण्डलमा रहेका राप्रपा अम्बरबहादुर विष्टले सभाको अध्यक्षता गर्नुपर्ने हो । तर, राप्रपाले आफ्ना सबै सांसदलाई बैठकमा अनुपस्थित हुन निर्देशन दिइसकेको छ । पार्टी केन्द्रले नै भोलिको बैठकमा अनुपस्थित हुनु भनेको उनले स्वीकार गरे ।

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा आफ्ना ज्येष्ठ सांसदलाई अनुपस्थित गराउने निर्णय एमालेले लिएपछि सांसदहरुले प्रदेशसभा सचिवालयमा ‘घरयासी कारण’ भन्दै अनुपस्थित रहने सूचना दिएका छन् । एमाले अध्यक्ष केपी ओलीसँगको परामर्शपछि एमाले प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्की विराटनगर आएपछि यस्तो निर्णय भएको हो ।

प्रदेश सभा सचिवालयका अनुसार सोमबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिने सांसदहरुमा एमालेका रोहिदबहादुर कार्की (७१), मालतीकुमारी लिम्बू (६७), रामप्रसाद महतो (६७), तारादेवी ढकाल (६६), खड्गबहादुर बस्नेत (६७)  र ज्ञानेन्द्र सुवेदी (६४) छन् । प्रदेशसभामा मुख्यमन्त्री थापालाई विश्वासको मत लिनबाट रोक्ने योजना अनुसार उनीहरु प्रदेशसभामा अनुपस्थित हुने भएका हुन् । एमाले सांसद किशोरचन्द्र दुलाल (६५) भने विदा लिएर यसअघि नै अमेरिका गएका छन् ।

उपसभामुखले राजीनामा नदिएको अवस्थामा अध्यक्ष मण्डलमा रहेकी मालतीकुमारी लिम्बूलाई अनुपस्थित गराएमा पुग्ने थियो । तर, एमालेले सबै जेष्ठ सदस्यलाई अनुपस्थित गराउने निर्णय लिनुको पछाडि ‘फ्लोर क्रस’ को त्रासले काम गरेको छ । प्रदेशसभालाई विघटनमा जानबाट रोक्न थापालाई विश्वसको मत लिने वातावरण बनाइदिनुपर्छ भन्ने पनि बहस एमालेमा भएको बेला केहि सांसदले ‘फ्लोर क्रस’ गर्नसक्ने सूचना एमाले नेतृत्वमा पुगेको थियो । त्यहि अनुसार जेष्ठ सबैलाई अनुपस्थित हुन भनिएको एक एमाले नेताले बताए ।

उपसभामुखले राजीनामा दिएको अवस्थामा जेष्ठ सदस्यमध्येबाट बैठकको अध्यक्षता गर्नुपर्ने प्राबधान छ । प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री बनाइएकोले अब त्यसपछिका जेष्ठ सदस्य एमालेका रोहितबहादुर कार्की छन् । उपसभामुखले राजीनामा दिएमा कार्कीले प्रदेशसभा चलाउनुपर्ने जिम्मेवारी हुन्छ । तर, एमालेले जेष्ठताको क्रममा रहेका सबैलाई अनुपस्थित गराउने निर्णय गराएर उपसभामुखको राजीनामा पनि आउनसक्ने संकेत दिएको छ ।

प्रदेशसभामा सबैभन्दा जेष्ठ सदस्य गयानन्द मण्डल(७६) प्रदेश सरकारका राज्यमन्त्री भइसकेका छन् । त्यसपछि दोस्रोमा एमालेका रोहितबहादुर कार्की (७१), तेस्रोमा राप्रपाका अम्बरबहादुर विष्ट(६८), चौथोमा एमालेकै मालतीकुमारी लिम्बू (६७), पाँचौमा एमालेकै रामप्रसाद महतो (६७), छैठौंमा एमालेकै तारादेवि ढकाल (६६), सातौंमा एमालेकै खड्गबहादुर बस्नेत (६७), आठौंमा एमालेकै किशोरचन्द्र दुलाल (६५), नवौं राप्रपाका गोपालबहादुर विश्वकर्मा (६५) र दशौंमा मुख्यमन्त्री उद्धब थापा (६४) छन् । यस्तै एघारौंमा एकीकृत समाजवादीबाट भौतिक पूर्वाधार मन्त्री रहेका कमलप्रसाद जवेगु (६४), बाह्रौंमा एमालेका ज्ञानेन्द्र सुवेदी (६४) र तेह्रौमा काँग्रेसका अमृतकुमार अर्याल (६३) छन् । उपभामुख दनुवारले पदबाट राजीनामा दिएको खण्डमा एमाले र राप्रपाका जेष्ठ सदस्य अनुपस्थित हुँदा १३ औं नम्बरमा रहेका काँग्रेसका अमृतकुमार अर्यालको काँधमा सभा सञ्चालनको जिम्मेवारी आउनेछ ।

सांसदहरुलाई एकसाथ ‘घरयासी’ समस्या भएकोबारे एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले त्यसबारे पार्टीलाई जानकारी नभएको दावी गरे । ‘उहाँहरुलाई कुनै समस्या भएको हुनसक्छ, एकसाथ त्यस्तो समस्या हुनु संयोग होला’ उनले भने, ‘पार्टी अनुपस्थित हुनु भनेर कसैलाई भनेको छैन ।’

एमाले नेताहरु भने उपसभामुखको राजीनामाको निर्णयमा पार्टी नपुगेको बताउँछन् । भोलिको बैठकमा उपसभामुख अनुपस्थित हुने संभावना रहेको एमाले स्रोतको भनाइ छ । उपसभामुख ‘विरामी’ वा अन्य कुनै कारण जनाएर अनुपस्थित हुने उनले बताए ।

प्रदेश सरकारका पूर्वमन्त्री रहेका एमाले सांसद बुद्धिकुमार राजभण्डारीले बैठकमा उपसभामुख अनुपस्थित हुने पुष्टि गरेका छन् । ‘उपसभामुखले बैठक चलाउनैपर्ने बाध्यता छैन’ उनले भने, ‘विरामी वा अन्य कारणबाट उहाँ अनुपस्थित रहन सक्नुहुन्छ ।’ उनले यो सरकारको आयु भदौ १३ गतेसम्म मात्र रहेको जिकिरसमेत गरेका छन् । एमाले र राप्रपाले सत्ता पक्षलाई विश्वासको मत लिन नदिने र लिए पनि संख्या पुग्न नदिने बाटो समातेका छन्। त्यसको लागि उपसभामुख सृजना दनुवार आफैंंंले डाकेको बैठक छल्ने अवस्थामा पुग्नसक्ने देखिएको छ ।

उपसभामुख दनुवार अनुपस्थित हुँदा सभा सञ्चालनको जिम्मेवारी अध्यक्ष मण्डलमा आउँछ । अध्यक्ष मण्डलमा रहेकी एमालेकी मालतीकुमारी सुब्बा र राप्रपाका अम्मरबहादुर विष्ट अनुपस्थित भएरमा बाँकी रहेका काँग्रेसका इस्राइल मन्सुरी वा माओवादीकी गीता तिम्सिनामध्ये एकले बैठक सञ्चालन गर्नुपर्छ । उनीहरु गठबन्धनका सांसद हुन् । उनीहरुमध्ये एकले सभा सञ्चालन गरे विश्वासको मतमाथि बराबरी भएको अवस्थामा बाहेक मत दिन पाउँदैनन् । त्यो अवस्थामा मुख्यमन्त्री थापाको पक्षमा ४६ मत मात्र पर्नेछ । त्यो अवस्था सिर्जना गर्न एमाले र राप्रपा नयाँ खेलमा लागेका हुन् ।

संसद् छल्ने, उपसभामुख अनुपस्थित गराउने अथवा आफ्ना पक्षका ज्येष्ठ सदस्यहरुलाई अनुपस्थित गराउने खेलको परीक्षण सोमबार हुने काँग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईले बताए । एमालेले संसदलाई अबरोध गर्न खोजे विश्वासको मत लिने बैठक स्थगित हुने संभावना रहेको छ ।

त्यसो त एमालेले सत्ता पक्षले कल, बल, छल सबै हत्कण्डा प्रयोग गरेर अगाडि बढेको भन्दै एमालेले विधि र पद्दतिबाहिर नजाने दावी संसदीय दलका नेताले गर्दै आएका थिए । त्यसको परीक्षण भने भोलि हुने गठबन्धनको भनाइ छ ।

कोशी प्रदेश सभा यतिबेला सभामुखविहीन छ। सत्ता गठबन्धनका लागि चाहिने बहुमत पुर्याउनकै लागि तत्कालीन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर गठबन्धनले उनलाई मन्त्री बनाएको छ।

त्यसयता उपसभामुख सृजना दनुवार नै सभामुखको भूमिकामा छन् । उनले पनि पार्टीको ईशारामा बैठक छल्ने आशंकाबीच कोशीको सत्ता राजनीतिमा थप विद्रुप खेलहरु हुने देखिएको छ ।

आइतबार, ०३ भदौ, २०८०, साँझको ०६:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर