
सम्पादकीय
शुक्रबार सार्वजनिक भएको यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा सुधार भएको देखिएको छ । यो विषयलाई सरकारले आफ्नो सफलताको रुपमा प्रचार गर्न थालेको छ । विद्यार्थी, अभिभावक, शिक्षक र शिक्षासम्बन्धी सरोकारवालामा उत्साह, अपेक्षा र समिक्षा भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार कूल कुल ६२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष यो प्रतिशत ४८ को हाराहारीमा थियो । मोरङ जिल्लाको सन्दर्भमा हेर्ने हो भने, कुल १८ हजार १०० जना सहभागीमध्ये ७३.३५ प्रतिशतले सफलता हासिल गरेका छन् । देशभरको तुलनामा मोरङको नतिजा राम्रो देखिएको छ । गत वर्षको एसइई नतिजा कमजोर भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रमहरूमा शिक्षक र शिक्षा प्रणालीप्रति आक्रोश व्यक्त गर्दै विद्यार्थीहरूलाई फेल नबनाउन निर्देशन नै दिएका थिए । त्यसैले अहिलेको नतिजाबारे प्रश्न उठेको छः नतिजाको सुधार वास्तवमै गुणस्तरीय शिक्षाबाट आएको हो कि अंक सुधारको दबाबबाट ?
यसपटकको नतिजा अंक सामग्रीमा सुधार देखिएपनि करिब १ लाख ६७ हजार विद्यार्थी अवर्गीकृत भएका छन् । हजारौं कम्पार्ट भएका छन् । यसले पनि नतिजामा सुधार भइनसकेको देखाउँछ । फेरि कति प्रतिशत उत्तीर्ण हुनुलाई सफलता मान्ने भन्ने कुनै मापदण्ड पनि छैन । यद्यपी गत वर्षको तुलनामा नतिजामा सुधार भएको छ । यसले गर्दा एउटै कक्षमा दोहोरिनुपर्ने विद्यार्थी संख्या कम भएको छ । मोरङबाट यसपटक १८ जना विद्यार्थीले पूर्ण ४ जिपिए ल्याउन सफल भएका छन् । तीमध्ये १६ जना विद्यार्थी विराटनगर क्षेत्रका छन् भने बाँकी दुई जना पथरीशनिश्चरे नगरपालिकाका छन् । यस्ता उत्कृष्ट विद्यार्थी ६ जना सामुदायिक विद्यालयका छन् । विराटनगरको बालकल्याण विद्या मन्दिर (बीकेभीएम) स्कुलबाट ६ जना, आदर्श माध्यमिक विद्यालयबाट ४ जना छन् भने एभरेष्ट, पोखरिया, सगरमाथा, कान्तिपुर र जेम्स इन्टरनेशनल स्कूललगायत स्कूलले यो सफलता पाएका छन् ।
महत्वपूर्ण पक्ष भनेको सामुदायिक विद्यालयका विद्यार्थीले पनि पूर्ण जिपिए ल्याएर सामुदायिक शिक्षाको गरिमा बढाएका छन् । यस्तो नतिजाले विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीबीचको सामूहिक प्रयासले मात्र गुणस्तरीय शिक्षा सम्भव हुने पुष्टि गर्दछ । यसले ‘सार्वजनिक शिक्षा फेल भयो’ भन्ने भनाइलाई चुनौती दिँदै शिक्षा नीति, लगानी र निगरानी संयन्त्र प्रभाबकारी बनाउनुपर्ने सन्देश दिएको छ । यद्यपी एसइईलाई गुणस्तर मापनको माध्यम मात्र होइन, शिक्षाको समग्र उन्नतिको आधार मान्दा नीति निर्माताले शैक्षिक असमानताको हल खोज्नुपर्ने देखिन्छ ।
शिक्षा समन्वय इकाई, मोरङले सार्वजनिक रूपमा विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकको भूमिकालाई सह्राउँदै आगामी दिनमा शिक्षाको गुणस्तर सुधार गर्ने प्रतिबद्धता जनाउनु स्वागतयोग्य कदम हो । तर, घोषणामात्र पर्याप्त हुँदैन — त्यसअनुसार अनुगमन, मूल्याङ्कन र सुधारको चक्रलाई नियमित, पारदर्शी र उद्देश्यपरक बनाउन सक्नुपर्छ । एसइई नतिजाले मोरङको शैक्षिक परिदृश्यमा सुधारको संकेत दिएको छ । निजी र सामुदायिक दुवै तहमा उत्कृष्टता देखिनु आशाजनक हो । अब चुनौती भनेको यसलाई संस्थागत बनाउँदै अझ समावेशी, सुलभ र गुणस्तरीय शिक्षा प्रणाली निर्माण गर्नु हो । जसले सबै विद्यार्थीको भविष्य उज्यालो बनाओस् ।