संसद अवरुद्ध हुँदा नकारात्मक सन्देश गयो : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले लगातार संसद अवरुद्ध हुँदा जनतामा नकारात्मक सन्देश गएको बताएका छन् ।

आइतबार राष्ट्रिय मान्यता प्राप्त दलका प्रमुख सचेतकहरुसँगको छलफलमा घिमिरेले संसद सुचारु गराउन आग्रह गर्दै सो कुरा बताएका हुन् ।

बैठकमा एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने अडान दोहोर्‍याएको छ भने सत्तारुढ दलहरु त्यसमा सहमत भएनन् । सिआईबीले गरिरहेको अनुसन्धानको निश्कर्ष नआई अर्को प्रक्रियामा जान नहुने उनीहरुको भनाई थियो ।

बैठकमा सभामुख घिमिरेले भने १० साउनयता मात्र आफूले सहमतिको प्रयासमा तीन पटक शीर्ष नेताहरुको बैठक राखेको, ९ पटक सचेतक तथा प्रमुख सचेतकसँग छलफल गरेको बताए । तर, प्रमुख प्रतिपक्ष आफ्नो अडानबाट तलमाथि नहुने, सत्तापक्ष प्रतिपक्षीको मागमा सहमत नहुने अवस्था कायमै रहँदा सदन बन्धक भएको उनको भनाइ थियो ।

सांसदहरुले भत्ता मात्र खान्छन् भन्ने नकारात्मक सन्देश जनतामा गएको भन्दै घिमिरेले दलहरु गम्भीर हुनुपर्ने बताए । ‘हामी नै जिम्मेवार बनेनौं भने न संसदीय प्रणाली बलियो हुन्छ, न सांसदहरुबारे जनताको दृष्टिकोण राम्रो रहन्छ’ उनको भनाइ थियो ।

आइतबार, ०३ भदौ, २०८०, दिउँसोको ०१:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर