कोशी प्रदेशसभा बैठक : भ्रष्टाचारको विषयमा प्रदेशमा पनि छानविन गर्न माग

विराटनगर । कोशी प्रदेशसभाका सांसद गोम्बु शेर्पाले प्रदेशमा भएका भ्रष्टाचार र अनियमितताको छानविन गर्न माग गरेका छन् ।

प्रदेशभाको शून्य समयमा बोल्दै उनले केन्द्रीय सरकारले भ्रष्टाचार र अनियमितताको विरुद्ध अभियान चलाएको भन्दै प्रदेशमा पनि यस्तै अभियान चलाउनु पर्ने उनको भनाइ छ ।

‘प्रदेशमा भएको भ्रष्टाचार र अनियमितताको विषयमा पनि भ्रष्टाचार विरुद्धको अभियान प्रारम्भ गर्न माग गर्दछु,’ उनले भने । शेर्पाले पहिचानवादीसँग वार्ता गर्न यसअघिको सरकारले वार्ता समिति गठन गरेको भन्दै अहिलेको सरकारले वार्ता समिति बनाउन ढिलाई गरेको भन्दै ढिलाई हुनुको कारणबारे जवाफ दिन माग गरेका छन् ।

‘काँग्रेसका १४ वटै जिल्ला सभापतिहरुले नामकरणको सवालमा पुनःविचार गर्न माग गरेको र माओवादी केन्द्रले पनि प्रदेश समिति र केन्द्रको बैठकले पनि बहुपहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने निर्णय गरिसकेको हुँदा सोही अनुसार वार्तासमिति बनाएर छलपल अगाडि बढाउनु पर्दछ,’ शेर्पाले भने ।

सांसद छविलाल चुँडालले प्रादेशिक अस्पताल भद्रपुरमा नयाँ भवन बनेको भएपनि बनिनसक्दै भत्किएको । बालरोग विशेषज्ञ नहरको बताउँदै यथोचित व्यवस्थापन गर्न माग गरे । उनले कर्मचारीको अभाव पनि रहेको बताउँदै त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।

सांसद खगेनसिंह हाङ्गामले भूमिहिन र सुकुमबासीहरु वनको जग्गामा बसिरहेको हुँदा ऐन संशोधन गरेर उनीहरुलाई जग्गा व्यवस्था गर्न माग गरे । सांसद निरादेवी खनालले प्राकृतिक प्रकोप, बाढी पहिरो, नियन्त्रणको लागि दीर्घकालिन कदम चाल्नुपर्ने, विस्थापितको व्यवस्थापन गर्नुपर्ने, सम्भावित खाद्यान्न अभावको अवस्थालाई टार्न उचित व्यवस्थापन गर्नुपर्ने माग गरिन् ।

सांसद ममता तामाङ मगरले डेंगुको नियन्त्रणमा सरकारले काम गर्नुपर्नेमा जोड दिइन् । उनले सुनसरीको क्षेत्र नम्बर १ मा डेंगु प्रभावित क्षेत्रको पहिचान गरी नियन्त्रणको अभियान चलाउने र उपारको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् । यस्तै उनले बराहक्षेत्रमा रहेको बाघखोलामा पुल नभएको भन्दै जनताले सास्ती भोग्नु परेको बताइन् ।

सांसद रमेशकुमार बस्नेतले पनि धरानमा डेंगु नियन्त्रण बाहिर गइसकेको भन्दै १२ हजार बढीमा डेंगु देखिएको र धरानका विद्यालय बन्द भएको, कार्यालय बन्द भएको अवस्था रहेको जानकारी दिए । उनले धरानलाई जनस्वास्थ्य आपतकालिन अवस्था घोषणा गरियोस् भनेर संघीय सरकारलाई पत्र पठाउँदा पनि तीनै तहको सरकारले वेवास्ता गरिरहेको बताए । धरानमा एकीकृत र समन्वयात्मक काम नहुँदा आपतकालीन अवस्था घोषणा गरेर काम गर्नुपर्नेमा उनले जोड दिए ।

सांसद विदुरकुमार लिङ्थेपले असार २ गतेको बाढी पहिरोमा परी वेपत्ता भएका १८ जनालाई मृतक घोषणा गर्न माग गरे । उनले बाढी पहिरोले सडकका पुल, विद्युत गृहमा ठूलो क्षति भएको, मानिसहरु विस्थापित भएको भन्दै त्यसको उचित व्यवस्थापन गर्न माग गरे । यस्तै संखुवासभाको खाँदबारी कारागारमा कैदी बन्दीलाई हत्या गर्नेको उचित छानविन गरी कारबाहीको माग गरे ।

सांसद सदानन्द मण्डलले सुनसरी बराह नगरपालिका वडा नम्बर ६ र ९ को श्रीलंका टापुमा कोशी कटानले ४३ घर परिवार विचल्ली बनाएको बताए । उनले उनीहरुको पुनःस्थापनाको लागि भारतसँग वार्ता गरेर उचित व्यवस्थापन गर्नुपर्ने माग गरे ।

आफ्नो क्षेत्रमा पनि ८० प्रतिशतबढी मानिसहरु डेंगुबाट प्रभावित भएको भन्दै नियन्त्रणको पहल गर्न माग गरे । यस्तै सांसदहरु सपना दर्जी, गोपाल तामाङ र उमाकान्त गौतमले पनि शून्यसमयमा कुरा राखेका थिए

शुक्रबार, ०१ भदौ, २०८०, दिउँसोको ०३:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर