काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झापाको विर्तामोडस्थित गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि अनुसन्धान गर्ने बताएका छन् ।
काठमाडौंमा आज सम्पादकसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणजस्तै गरेर गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि छानबिन हुने जानकारी दिएका हुन् ।
भूमिसम्बन्धी ऐनसमेत संशोधन गरेर केपी ओली नेतृत्वको सरकारले झापाको विर्तामोडस्थित गिरीबन्धु टी इस्टेटसको नाममा रहेको ३४२ विघा १९ कट्ठा, १२ घुर जग्गा सट्टाभर्ना गर्न दिनेगरी निर्णय गरेको थियो । तर, उक्त निर्णय कार्यान्वयनमा नजाँदै ओली सरकार विघटन भएकोले त्यसपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्णय कार्यान्वयनमा रोक लगायो ।
टी इस्टेट्सको बहुमुल्य जग्गा बेच्नका लागि कानुनसमेत संशोधन गरेर सट्टाभर्नाको तयारी गरिएको थियो । सो प्रकणमा करोडौं चलखेल भएको आरोप लाग्दै आएको छ ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिक काम बनाएको बताएका छन् । भ्रष्टाचार र सुशासनलाई प्राथमिकता दिने क्रममा नक्कली शरणार्थी र ललिता निवास प्रकरण बाटोमा भेटिएका भन्दै उनले त्यसमा सरकारले काम गरिरहेको स्पष्ट पारे ।