काठमाडौँ । राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति गत आर्थिक वर्षभन्दा सन्तोषजनक रहेको सडक विभागले दाबी गरेको छ ।

शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित आयोजनाको समीक्षा बैठकमा सडक विभागका महानिर्देशक सुशील बाबु ढकालले, पूर्णरुपमा सन्तोषजनक नभए पनि अघिल्लो आर्थिक वर्ष भन्दा यो आर्थिक वर्षमा आयोजनाको प्रगति राम्रो रहेका बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले, कार्यक्रममा राष्ट्रिय गौरवका आयोजना, रूपान्तरणकारी योजना र अन्य महत्त्वपूर्ण योजनाहरूलाई युद्ध स्तरमा काम गर्न निर्देशन दिएका छन् ।

वर्षौ पहिले निर्माणका काम थालिएका योजनाहरू पटक पटक म्याद थप्दा पनि नसकिँदा नागरिकमा गलत सन्देश गएको भन्दै मन्त्री ज्वालाले यो वा त्यो बहानामा निर्माण कार्य ढिला नगर्न निर्देशन दिएका हुन् ।

‘अन्धाधुन्ध काम गरेर मात्र हुँदैन, शक्तिशाली सिंहजस्तै दुई कदम अगाडी बढ्ने र एक पटक समीक्षा गर्ने नीति लिएर निर्माण कार्यमा लाग्न जरुरी छ’ मातहतका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री ज्वालाले भने ‘प्रत्येक चौमासिकमा योजनाहरूको अनिवार्य समीक्षा गर्ने चलन बसालौँ, त्यसले आयोजनामा आएका समस्याको पहिचान र समाधानको उपाय दिन्छ ।’

मन्त्री ज्वालाले नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौँ–तराई मधेस फास्ट ट्र्याकको काम सोचेअनुसार नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।