विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत पक्षसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

आज पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री थापाले प्रदेशको नाममा प्रदेशवासीको अपनत्व हुनुपर्नेमा विवाद नरहेको बताए । जसपालाई सरकारमा सहभागी गराउनका लागि सरकार प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत पक्षसँग वार्ता गर्न तयार बनेको हो ।

जसपाकी निर्मला लिम्बू आज मन्त्री बन्दै छिन् । लिम्बूले नामकरणको विषयमा सरकारले ठोस धारणा सार्वजनिक गरेपछि मात्रै सरकारमा सहभागी हुने बताएकी थिइन् ।

उनको आज दिउँसो ३ बजे शपथ ग्रहणको कार्यक्रम रहेको मुख्यमन्त्री थापाले बताए । लिम्बूलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिने तयारी छ ।

१६ गते मुख्यमन्त्री भएका थापाले भोलि पल्टै कांग्रेसका प्रदीप सुनुवार, माओवादीका बाबुराम गौतम र एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्री नियुक्त गरेका थिए ।

नामकरणलाई लिएर देखिएको असन्तुष्टि र विरोधलाई वार्ता संवादको माध्यमबाट सम्बोधन गर्नु प्रदेश सरकार र प्रदेशसभाको कर्तव्य भएको थापाको भनाइ रहेको छ ।

विश्वासको मत लिएपछि मात्रै वार्ता टोली बनाउने उनले बताएका छन् । गत फागुन १७ गते कोशी प्रदेश नामाकरण गरिएको थियो । नामको विरोधमा कोशीमा आन्दोलन चलिरहेको छ ।