विराटनगर । मौसम पूर्वानुमान महाशाखाले मनसुन शुरु हुनुभन्दा अगाडि नै यस वर्षको मनसुन कोशी प्रदेशबाट प्रवेश गर्ने सूचना दिएको थियो । मौसम पूर्वानुमान महाशाखाले भने अनुसार नै मनसुन भित्रियो ।
शनिवार रातिदेखिको अविरल वर्षाबाट कोशी प्रदेशका तीन जिल्ला प्रभावित बनेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार यो समाचार तयार पार्दासम्म सखुवासभा, पाँचथर र ताप्लेजुङमा ४ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् ।
प्रत्येक वर्ष विपद्का यस्ता घटना बढ्दै गए पनि तीनै तहका सरकारले पूर्व तयारीमा चरम लापरबाही गर्दा क्षतिका घटना बढ्दै गएका छन् । कतिसम्म भने मनसुन सुरु भइसक्दा पनि प्रदेश सरकारले पूर्व तयारी कसिलो तुल्याउन सकेको छैन । स्थानीय सरकारहरु पनि यसमा उदासिन नै देखिएका छन् । सरकारले सम्भावित जोखिम क्षेत्रको नक्सांकनसमेत समयमा गर्न सकेको छैन ।
विपद्को सामान खरिदको ठेक्का लागेर सामग्रीहरू प्राप्त गर्ने अवस्थामा रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव तथा प्रवक्ता अर्जुन निरौलाले बताए । जिन्सी शाखाका कर्मचारीहरू बिदामा भएकोले उनीहरु आएपछि सामग्री बुझ्ने उनले बताए ।
संखुवासभा, खोटाङ, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गालगायतका जिल्लामा त्रिपाल, कम्मल लगायतका सामग्रीहरू मन्त्रालयले पठाएको छ । विपद् व्यवस्थापन कार्य योजना विषयमा छिट्टै बैठक बसेर टुङ्गयाउने उनले बताए । आन्तरिक मामिला तथा कानून मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री हिकमतकुमार कार्कीले विपद् पूर्व तयारीलाई प्राथमिकता राखेका छैनन् । उनलाई पछिल्लो समय आफ्नै सरकार टिकाउन समस्या देखिएको छ । माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा छ । उनले यही असार १५ गतेभित्र विश्वासको मत लिनु पर्ने वाध्यता छ । सरकारले पूर्वतयारी स्वरूप ‘क्विक रेस्पोन्स टिम’ बनाउने तथा उद्धार गर्न चाहिने ट्युब, डोरी, बोटजस्ता सामग्री तयारी अवस्थामा राख्नुपर्ने भए पनि अहिलेसम्म सामग्री मन्त्रालयमा आइपुगेको छैन ।
जोखिमयुक्त क्षेत्रका बासिन्दाका लागि सुरक्षित वासस्थानका लागि कुनै तयारी समेत सरकारले गरेको छैन । बाढी पहिरोबाट विस्थापित बनेपछि सरकार चाउचाउ, बिस्कुट, नुन, तेलजस्ता खाद्यान्नका सामग्री बोकेर जाने भन्दा केही गर्न सकेको छैन ।अघिल्लो पटक जस्तै यसपटक पनि प्रदेश सरकारकार खानेपानी तथा सिँचाइ मन्त्री तिलकुमार मेयाङवो बाढी पहिरो पीडितलाई राहत दिन ताप्लेजुङ पुगेका छन् । यता प्रहरीले भने उद्धार तथा राहतका लागि खट्दा चाहिने सामग्री नभए पनि जोखिम मोलेर काम गरिरहेको जनाएको छ ।
उद्धार तथा राहतका लागि कोशी प्रदेशका १४ जिल्लाका लागि झापाको चन्द्रगढीस्थित गुल्ममा प्रहरी राखिएको छ । तर उद्धार तथा राहतमा तुरुन्तै पुग्ने अवस्था भने नरहेको प्रहरीको भनाइ रहेको छ । १ सय २५ जनाको दरबन्दी भए पनि १ सय ७ जना हाल कार्यरत रहेका छन् । तत्काल ५० जना मात्रै उद्धार तथा राहतमा खट्न सक्ने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।