उर्लाबारी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देश बनाउन सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।
बुधबार नेपाल आदिवासी जनजाति महासंघ उर्लाबारी नगर समितिले मोरङको उर्लाबारीमा २९ औं विश्व आदिवासी दिवसको अवसरमा बोल्दै किरातीले भ्रष्टचार मानव समाजको शुत्र भएकोले त्यसविरुद्ध सबै उभिनुपर्ने बताए ।
नेपाली जनताले दिएको जनादेश अनुसार सबै मिलेर १० बर्ष समृद्ध देश बनाउन लाग्नुपर्ने किरातीले बताए । लोकतन्त्र, गणतन्त्र होस् वा संविधान निर्माणमा सबै दल मिलेर अघि बढ्दा सफलता हात पारेको स्मरण गर्दै उनले भ्रष्टचारलाई निमूल बनाएर देशलाई समृद्धितर्फ अघि बढाउन आवश्यक रहेकोमा जोड दिए ।
‘स्वास्थ्य, शिक्षा र रोजगारीमा केन्द्रमा राखेर १० बर्ष कोही पनि प्रतिपक्षमा नबसौं’ उनले भने–‘ भ्रष्टचार सबैको शत्रु हो, भ्रष्टचार गर्नेलाई कानुनी कठघरामा ल्याउनैपर्छ ।’ चुनाबमा एकअर्काबीच प्रतिष्पर्धा गरेपनि मुलुक बनाउन सबै मिल्नुपर्ने उनको भनाइ छ । किरातीले राणा शासन फाल्न, पञ्चायत फाल्न र राजतन्त्र फाल्न एकजुट भएका दलहरु भ्रष्टाचारविरुद्ध पनि एकजुट भएर लाग्न जरुरी भएको बताए ।
नेपालमा रहेका आदिवासीका रैथाने संस्कृति, खानाको संरक्षण र प्रबद्र्धन गर्न सके विश्वका पर्यटकलाई आकर्षण गर्न सकिने उल्लेख गर्दै किरातीले पुर्खाले आर्जेको शीप, संस्कृति र परिकारलाई परिस्कृत गर्नुपर्नेमा जोड दिए । नेपालको आफ्नै मौलिक संस्कृति र सांस्कृतिक सम्पदा हुँदाहुँदै विदेशी संस्कृति र सम्पदाको नक्कल गर्नु मूर्खता भएको उनको टिप्पणी थियो ।
नेपाल आदिवासी जनजाति महासंघ उर्लाबारी नगर समितिका अध्यक्ष समशेर लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा कोशी प्रदेश सभा सदस्य विद्या चाम्लिङ, नेपाली कांग्रेसका कोशी प्रदेश सहमहामन्त्री तथा पूर्व नगरप्रमुख खड्गबहादुर फागो, उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल, उपमेयर मीना पौडेललगायतको सहभागिता थियो ।